२०७६ मंसिर २४ गते

सामुदायिकमा प्रवेश परीक्षा

अन्तैबाट

सुनसरी  । इटहरीको सामुदायिक विद्यालय जनता नमुना माध्यमिक विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा ४ देखि ९ सम्म अध्ययन गर्न शनिबार ९ सय ६ जनाले प्रवेश परीक्षा दिएका छन् । विद्यालय सञ्चालक समितिले सोचे विपरीत प्रवेश परीक्षा दिने विद्यार्थीको चाप बढी थियो ।


जनता स्कुल नमुना विद्यालयका लागि छनौट भएको विद्यालय हो । जनता स्कुललाई नमुना विद्यालय बनाउन संघीय सरकारले ३९ करोड, इटहरी उपमहानगरले ८ लाख रुपैयाँ र प्रदेश सरकारवाट ६ लाख ५० हजार बजेट छुट्टयाएको छ ।

सेवामूलक भए पनि व्यासायिक पसल जस्ता निजि स्कुलहरूले विज्ञापन गर्दा स्मार्ट कक्षा र बालमनोविज्ञान अनुसार व्यावहारिक ज्ञान दिने भन्दै प्रचारप्रसार गरेर अभिभावकबाट अत्यधिक शुल्क लिने गरे पनि ‘स्मार्ट कक्षा’ भने पूर्वका स्कुलले बास्तविक रूपमा प्रयोगमा ल्याएका छैनन् ।

तर जनता माविले प्रवेश परीक्षासँगै अंग्रेजी माध्यमबाट पठन पाठनका लागि विद्यालयले तयारी तीव्र बनाउँदै सवै कक्षा कोठाहरूमा स्क्रिनटच सहितको स्मार्टबोर्ड र प्रोजेक्टर जडान गरिसकेको छ । कक्षा सञ्चालनका लागि एउटा कक्षामा ४० जनाका दरले २ सय ४० जना विद्यार्थी आवश्यक पर्नेमा ९ सय ६ जनाले प्रवेश परीक्षा दिएको विद्यालय सञ्चालक समितिका अध्यक्ष काशिनाथ दंगालले बताए । उनका अनुसार सामुदायिक विद्यालयले लिएको प्रवेश परीक्षामा सहभागीमध्ये ९५ प्रतिशत निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरू रहेका थिए ।

सामुदायिक विद्यालयको पठन पाठनको गुणस्तर खस्किएको गुनासो आइरहेका बेला अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने भएपछि विद्यार्थीहरूको भीड लागेको हो । अध्यक्ष दंगालले भने, ‘सामुदायिक विद्यालयलाई सुधार्ने प्रयास हामी गर्दै छौं । जनता स्कुललाई मुलुककै नमुना बनाउने छौं ।’ उनले निजी बोर्डिङ स्कुलमा पढदै गरेका विद्यार्थीहरूले त्यहा छाडेर सामुदायिकमा आएकाले सामुदायिक स्कुलमा आकर्षण बढेको संकेत देखिएको बताए ।

पठन पाठनका लागि कम्प्युटर इन्जिनियर सहित स्नातकोत्तर उत्तीर्ण शिक्षकहरू छनौट गरी विद्यालयले ४९ वटा कम्प्युटर सहितको ल्याव तयार गरेको छ । यातायातका लागि वस खरिद गरि सकिएको विद्यालयले जनाएको छ ।

कान्तिपुरमा खबर छ ।

Comments: