२०७६ मंसिर २४ गते

प्रभावकारी बन्दै शिक्षण सिकाइ कुना

महेश न्यौपाने/रोल्पा


जिल्लामै पहिलो  पटक अघि सारिएको  शिक्षण सिकाइ कुना प्रभावकारी देखिएको छ । विद्यार्थीलाई घरमा पढ्ने वातावरण सिर्जना गर्ने उद्धेश्यले स्थापना गरिएको उक्त शैक्षिक कुनावाट विद्यार्थी र अभिभावकमा सकारात्मक प्रभाव पार्दै गएको छ ।


सुनिल स्मृति गाउँपालिका वडा नं. ४ ले गत पौषमा वडा भित्रका १५६ विद्यार्थीलाई एक एक थान टेबुल र कुर्सी हस्तान्तरण गरि हरेक घरमा शैक्षिक कुना निर्माण गर्न सहयोग गरेको थियो । घरमा सहजताका साथ अध्ययन गर्ने वातावरण मिले विद्यार्थीको शिक्षण सिकाइ उपलव्धि समेत सुधार हुने वडा कार्यालयले अपेक्षा गरेको थियो ।


वडा भित्र सञ्चालित ३ सामुदायिक विद्यालयका विद्यार्थीले उक्त सामग्री प्राप्त गरेका थिए । सुर्योदय मावि सुलिचौरको कक्षा १० मा अध्ययनरत ११८, जनता आधारभूत विद्यालय कोइरालखर्कको कक्षा ८ मा अध्ययनरत २२ र सरस्वती आधारभूत विद्यालय बाग्माका कक्षा ५ का १६ समेत १५६ जना विद्यार्थीलाई उक्त सामग्री हस्तान्तरण गरिएको वडा कार्यालयले जनाएको छ ।


'शैक्षिक कुना स्थापनाले विद्यार्थीहरुको पढाइमा सुधार भएको छ'– वडाध्यक्ष गंजबहादुर क्षेत्रीले भने– 'विद्यार्थीको पढ्ने बानीमा सुधार हुनका साथै  घरमा बसेर पनि पढ्न थालेका छन् ।'


बिहान बेलुका लामो समय घरमा बिताउनु पर्ने विद्यार्थीलाई पढ्नका लागि निश्चित स्थान र सामग्री भएपछि पढ्ने वातावरण बदलिएको उनको भनाइ थियो ।


 शैक्षिक कुना निर्माण पछि सवै विद्यार्थीको दैनिक पढाइ समय पनि बढेको भन्दै क्षेत्रीले हरेक वर्ष यसै गरि सहयोग गर्दै विद्यार्थीलाई पढ्ने वातावरण सिर्जना गर्न सहयोग गर्ने योजना रहेको सुनाए ।
 
जिल्लाका अन्य स्थानीय तहहरुले शैक्षिक उपलव्धि वृद्धी गर्न उपचारात्मक कक्षा, कोचिङ, ट्यूशनका लागि वजेट खर्च दिईरहदा सो वडाले भने पढ्ने वातावरण सिर्जनालाई प्रथकिता दिई यस्तो अवधारण अघि सारेको हो । कम वजेटमा प्रभावकारी काम गर्न यस्तो योजना अघि सारेको वडा कार्यालयले जनाएको छ ।


वडा कार्यालयले सो शिर्षकमा चालु आर्थिक वर्षका लागि विनियोजन गरेको ४ लाख वजेट वाट उक्त सहयोग गरेको वताइएको छ । सहयोग सामाग्री हस्तान्तरण संगै वडाको शैक्षिक सुधारमा टेवा पुग्ने वडाध्यक्ष क्षेत्रीले आशा व्यक्त गरे । सो वडाले यस अघि वडा भित्रका सवै विद्यालयमा डिजिटल हाजिरीको व्यवस्था समेत गरिसकेको छ । 'वडालाई शैक्षिक क्षेत्रमा नमूना बनाउने सोच सहित काम गरिरहेका छौं'– वडाध्यक्ष क्षेत्रीले भने ।


Comments: