२०७६ असोज २९ गते

पहिले कमाइ अनि परीक्षा

रुकुम । हिमालय मावि पाखापानीले चैत १३ गतेदेखि वार्षिक परीक्षा सुरु गर्दै छ । विद्यार्थी अध्ययनमा व्यस्त हुनुपर्ने यो समयमा सोही स्कुलमा ८ कक्षा पढ्ने सीता बुढा भने मजदुरी गर्न व्यस्त छिन् । उनको हातमा कापी, किताब हुनुपर्ने हो । तर, पिठ्युँमा भारी बोक्नुपरेको छ ।

घरनजिकै खोलामा झोलुंगे पुल बन्ने भएपछि त्यसका सामग्री बोक्न उनलाई भ्याइनभ्याइ छ । सिस्ने–२ को तिपतराबाट सिस्नेसम्म उक्त सामग्री पुर्‍याएबापत ज्याला पाइने भएपछि सीता मात्रै होइन, सोही स्कुलका विमला, विष्णु र ऋतु बुढा पनि परीक्षाको तयारीभन्दा आम्दानी गर्नतर्फ लागेका छन् । जनसहयोग मावि रिबाङचौरमा कक्षा ६ मा अध्ययनरत सर्जन र सहयोग विक पनि परीक्षाको तयारीभन्दा मजदुरीमै रमाइरहेका छन् । सिस्ने–२ को नायगाडमा निर्माण हुन लागेको स्वास्थ्यचौकी भवनका लागि सरिया बोक्न उनीहरूलाई चापाचाप नै छ ।

परीक्षाको मुखैमा यसरी काममा जोतिनु उनीहरूको रहर नभई बाध्यता हो । पढाइ खर्चको जोहो हुने भएकाले उनीहरूले अभिभावककै सल्लाहमा पुल तथा स्वास्थ्यचौकी निर्माणका सामग्री बोक्न थालेका हुन् ।

अभिभावकको आम्दानीको स्रोत केही नभएपछि आफैं अघि सरेर पढाइ खर्च जुटाउन बालबालिका विवश छन् । पढाइ खर्च माग्दा बाबुआमाले छैन भन्ने गरेकाले काम पाएका बेला आफंैले जोहो गर्ने गरेको सीताले बताइन् ।

‘बुबाआमाको आम्दानीको कुनै स्रोत छैन,’ उनले भनिन्, ‘गाउँमै काम पाएपछि गरेका हौं यसबाट पाएको पैसाले पढाइमा केही मात्रामा सहयोग पुग्छ ।’ उनीहरूले प्रतिकिलो ४० रुपैयाँका दरले  ज्याला पाउने गरेका छन् । सहयोग विकले पनि आर्थिक अभावकै कारण परीक्षाको मुखमा पनि मजदुरी गर्नुपरेको बताए ।

‘अहिले सरिया बोक्ने काम सुरु भएको छ,’ उनले भने, ‘सरिया बोकेपछि कापीकलमका लागि केही रकम जोहो होला कि भनेर यता लागेका हौं ।’ बालुवादेखि नायगाडसम्म २० किलोको एउटा सरिया बोकेबापत उनले ६ सय रुपैयाँ पाउँछन् । बालबालिकाले अप्ठ्यारो बाटोमा जोखिम मोलेर सामान बोक्दै आएका छन् । कान्तिपुरमा खबर छ ।

Comments: