२०७७ जेष्ठ १८ गते

अस्थायी शिक्षक समस्या स्थायी समाधानको बाटोमा, तीनै तहको परीक्षा सम्पन्न

ईपाटी संवाददाता


काठमाडौं । शिक्षक सेवा आयोगले असार २९ र ३० गते तीनै तहको अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षा सम्पन्न गरेको छ । परीक्षामा १६ हजार धेरै परीक्षार्थी मध्ये साढे १४ हजार धेरै सहभागी भएको आयोगले जनाएको छ ।

योसँगै, दशकौंदेखिको अस्थायी शिक्षक समस्या स्थायी रुपमा समाधान हुने भएको छ । अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षा सम्पन्न गरेसँगै अस्थायी शिक्षक समस्या विधिवत् रुपमा समाधान हुने भएको हो ।

 लामो समयदेखि नेपाली शिक्षा क्षेत्रकै ठूलो समस्याको रुपमा रहेको अस्थायी शिक्षक समस्या समाधानको बाटो लिएको छ । एकातिर अस्थायी शिक्षक समस्या प्रायः समाधान भएको छ भने अर्कोतिर शिक्षकहरुले लामो समयदेखि बोक्दै आएको ‘अस्थायी’को बिल्लाबाट समेत मुक्ति पाएका छन् ।


अब परीक्षा उत्तीर्ण भएका अस्थायी शिक्षक स्थायी हुनेछन् भने बाँकी सुविधा लिएर बिदा हुनेछन् । खाली दरबन्दीमा खुला विज्ञापन भएर नयाँ शिक्षक नियुक्ति हुनेछन् । अस्थायी शिक्षकहरुले २०५५ सालदेखि निरन्तर स्थायीको आन्दोलन गर्दै आएका थिए । अस्थायी शिक्षकहरुकै आन्दोलनका कारण पटक–पटक आयोग, आन्दोलन र सहमति/सम्झौता हुँदै आएका थिए ।


पटक–पटक अस्थायी शिक्षकहरु रिले र आमरण अनशन बस्दै आएका थिए । पटक–पटक अदालतको आदेश, मानवअधिकार आयोग, सभामुख र प्रधानमन्त्रीसँग समेत यो विषय जोडिएको थियो । केही अस्थायी शिक्षकहरुले न्याय दिन भन्दै नेपाली सेना र पूर्व राजालाई गुहार्ने कामसमेत यस बीचमा भएका थिए । जे होस्, अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षासँगै नेपालको शिक्षा क्षेत्रमा अस्थायी शिक्षकको विषय सधैंका लागि बन्द हुन सक्छ ।


२०६१ सालमा ५० प्रतिशत दरबन्दीमा आन्तरिक विज्ञापन भएपछि अस्थायी शिक्षकहरुका लागि दोस्रोपटक २०७३ चैतमा आन्तरिक विज्ञापन भएको थियो ।
२४ असार २०७४ मा परीक्षाको मिति तय गर्दै २०७३ साल चैत १९ मा अस्थायी शिक्षकहरुका लागि आन्तरिक विज्ञापन खोलिएको थियो । आयोगले आन्तरिक तयारी नपुगेको भन्दै गएको असार ५ गते सो परीक्षा पहिलोपटक भाद्र ३ गतेका लागि सारेको थियो । साउन ३१ गते आयोगले बाढी–पहिरोको कारण देखाउँदै दोस्रो पटक परीक्षा भाद्र १० का लागि सा¥योे ।

आयोगले गत भाद्र ६ गते सूचित गर्दै १० गतेका लागि निर्धारण गरिएको अस्थायी शिक्षकहरुको परीक्षा तेस्रोपटक अनिश्चितकालका लागि स्थगित गर्न पुग्यो । आयोगले नवौं ऐन संशोधन पछि गत कात्तिक २१ मा पुनः विज्ञापन गरेको थियो । पछि आयोगले चैत २३ का लागि परीक्षा मिति तय ग¥यो तर पुनः परीक्षा हुनुभन्दा ८ दिन अगाडि नै आयोगले सो परीक्षा पनि अनिश्चितकालका लागि स्थगित ग¥यो । जुन विज्ञापनको परीक्षा पटक–पटक स्थगित हुँदै यही असार २९ र ३० गते सम्पन्न भएको छ ।


असार २९ गते निमावि तथा मावि र ३० गते प्राथमिक तहका अस्थायी शिक्षकको परीक्षा सम्पन्न भएको थियो । परीक्षामा ९० प्रतिशतभन्दा बढी अस्थायी शिक्षकहरु सहभागी भएका छन् । बाँकीले अब सुविधासहित बिदा हुनेछन् ।


धेरैखाले शंका, चुनौती र अफ्ठ्याराका बीचमा परीक्षा मर्यादित र शान्तिपूर्ण रुपमा सम्पन्न भएको हो । अब अस्थायी शिक्षकको समस्या सधैंका लागि अन्त्य हुने दिशामा अघि बढेको छ । यो परीक्षाको नतिजा ३ महिनाभित्र निकाल्ने शिक्षक आयोगले जनाएको छ ।


 प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा गरी २२ हजार ७६ पदका लागि २३ हजार २ सय ८६ अस्थायी शिक्षकको आवेदन परेको थियो । शिक्षाविद् र सरोकारवालाहरुले अस्थायी शिक्षककै कारण शैक्षिकस्तर सुधार हुन नसकेको आरोप लगाउँदै आएका थिए ।


चुनौती कायमै
सरकारले लामो समय अस्थायी शिक्षक व्यवस्थापन गर्न नसक्दा ३६ वर्ष बढी अस्थायी सेवा गरेका अस्थायी शिक्षकहरु खाली हात बिदा हुनुपरेको थियो । यस पटकको परीक्षामा पनि शिक्षक तालिम, लाइसेन्स, लियनलगायतका विषयले केही अस्थायी शिक्षकहरुलाई परीक्षाबाट बञ्चित गराएको थियो । यता, केही अस्थायी शिक्षकहरु आमरण अनशन बसेकाले परीक्षामा सहभागी हुन पाएनन् । अब सरकारले त्यस्ता, लामो सेवा गरेर खाली हात बिदा भएका र परीक्षा दिनबाट बञ्चित अस्थायी शिक्षकहरुका लागि विशेष व्यवस्था गर्न आवश्यक छ ।

Comments: