२०७६ कार्त्तिक २ गते

शिक्षाको गुणस्तर सुधारका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

ईपाटी संवाददाता



काठमाडौं । गुणस्तरीय शिक्षाका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । शैक्षिक गुणस्तर सुधारका लागि बालकेन्द्रित र सिकाइ केन्द्रित शिक्षण सिकाइ सुनिश्चित गर्नका लागि आगामी भदौ ७, ८ र ९ गते सम्मेलन हुन लागेको हो ।


शिक्षा मन्त्रालय र रातो बंगला फाउण्डेशनको आयोनामा हुन लागेको सम्मेलनमा देशभरका सामुदायिक विद्यालयका तीनसय बढी शिक्षकहरुको सहभागिता रहने जनाइएको छ । उनीहरुलाई अमेरिका, चाइना, सिंगापुर, बंगलादेशलगायतका विज्ञहरुले प्रशिक्षित गर्ने जनाइएको छ ।

बुधवार पत्रकार सम्मेलन गरी सम्मेलनका बारेमा जानकारी दिइएको हो । सम्मेलनमा पहिलो दिन दुई सेसन रहने र प्रत्येकमा १० वटा कार्यशाला र विज्ञद्वारा ४ वटा कार्यपत्र पस्तुति हुने जनाइएको छ । प्रत्येक कार्यशालामा २० देखि ३० जना शिक्षकहरुको सहभागिता रहने जनाइएको छ । अन्तिममा निस्कर्ष प्रस्तुत गरिने छ ।


यस्तै, दोस्रो दिन १४ कार्यशाला र डा. अरुणा उप्रेतीको विशेष कक्षा रहने जनाइएको छ । तेस्रो दिन पनि १४ कार्यशाला रहने र निस्कर्ष सहित शिक्षाको गुणस्तरका लागि एउटा घोषणा पत्र जारी हुने जनाइएको छ । कार्यशालाको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।


पत्रकार सम्मेलनमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय भित्राउन र प्रदान गरिउको शिक्षालाई गुणस्तरीय बनाउन सम्मेलन महत्वपूर्ण रहने जानकारी दिए ।


सरकारले सबैकालागि गुणस्तरीय शिक्षा प्रत्याभूत गराउन र शिक्षाको गुणस्तरीयता कायम गर्नका लागि अन्तर्राष्ट्रिय मञ्चहरुमा धेरै प्रतिबद्धता गरेको, यसकालागि सबैका लागि शिक्षा, विद्यालय क्षेत्र सुधार योजना र हाल विद्यालय क्षेत्र विकास योजना कार्यान्वयन गरिरहेको महानिर्देशक पौडेलले जानकारी दिए ।


भर्ना अभियान, शिक्षक दरबन्दी मिलान, शिक्षण सिकाइमा सुधारलगायतको सरकारी प्रयासमा यो सम्मेलन एउटा कडी बन्ने पौडेलले विश्वास व्यक्त गरे ।
सम्मेलनमा शिक्षाको विगतको समिक्षा र अबको नयाँ दिशाा तय गर्ने काम हुने र त्यसको निष्कर्ष तथा घोषणा पत्र प्रदेशस्तरमा लगेर छलफल गरिने महानिर्देशक पौडेलले जानकारी दिए ।

'सम्मेलनमा भइराखेको प्रगतिको जानकारी दिने र अबको तयारीका लागि सुझाब लिइने छ'– पौडेलले भने, 'शिक्षक, विज्ञ, नीति निर्माता, निरीक्षक, सरोकारवालाहरुबीच सम्मेलनमा घनीभूत छलफल हुन्छ ।'


कि कक्षाकोठालाई संसारमा पुर्याउनुपर्ने कि त संसारलाई कक्षाकोठामा पुर्याउनुपर्ने अनि मात्रै सिकाइ सार्थक र टिकाउ हुने भन्दै महानिर्देशक पौडेलले सम्मेलनमा अन्तर्राष्ट्रियस्तरमा सिकाइ सुधारबारे अनुभव र अभ्यास आदानप्रदान हुने स्पष्ट पारे ।


'सार्वजनिक शिक्षाको सवलीकरणमा यो सम्मेलन एउटा कडी बन्नेमा म विश्वस्त छु'– पौडेलले भने ।


रातोबंगला फाउण्डेशनकी अध्यक्ष शान्ता दिक्षितले फाउण्डेशनले सन् २००३, २०१३ मा यस्तो सम्मेलन गरिसकेको र अहिले २०१९ मा फेरी अर्को सम्मेलन गर्न थालेको बताइन् । सम्मेलनमा ७० कार्याशाला र स्वदेशी र विदेशी गरी ८० भन्दा बढी कार्यपत्र प्रस्तुति रहने उनले स्पष्ट पारिन् ।


विद्यार्थीलाई घोकाउन छाडेर काम गर्दै सिक्ने वातावरण निर्माणमा सम्मेलन कोशेढुंगा बन्नेमा आफु विश्वस्त रहेको दिक्षितले बताइन् ।


सम्मेलनमा देशका ५० जिल्लाका  तीनसय बढी सामुदायिक विद्यालयका शिक्षकहरुको सहभागिता रहने छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभर सहभागिताका लागि आवेदन माग गरेको थियो ।


अमेरिका, चाइना, भारत, सिंगापुरलगायतका ९ देशका शिक्षाविज्ञहरुले आफ्ना अनुभव र अभ्यास आदानप्रदान गर्नेछन् । सामुदायिक विद्यालयका शिक्षकहरुलाई  सम्मेलनमा प्रवेशका लागि लाग्ने १० हजार शुल्क मिनाह गरिएको जनाइएको छ । खानेबस्ने व्यवस्था भने शिक्षक आफैले गर्नुपर्ने छ ।



Comments: