२०७६ भदौ १ गते

निम्न माध्यमिकका शिक्षकको रिजल्ट माघ भित्रै

काठमाडौं । शिक्षक सेवा आयोगले माघ महिनाभित्र निम्न माध्यमिक तहका सबै विषयको नतिजा प्रकाशित गर्ने भएको छ । हाल परीक्षार्थीको उत्तरपुस्तिका परीक्षणको कार्य सञ्चालन भइरहेकोले माघको दोस्रो साताभित्र लिखित परीक्षाको नतिजा प्रकाशन गर्ने तयारीमा आयोग जुटेको हो ।

नतिजा प्रकाशनसँगै एक हजार एक सयभन्दा बढी शिक्षकहरु सार्वजनिक विद्यालयमा प्रवेश गर्ने अवसर पाउने छन् । सार्वजनिक विद्यालयको गुणस्तरमा ल्याउनु पर्ने आवश्यकताको महसुससँगै सरकारले खुला प्रतिस्पर्धाका आधारमा शिक्षकको नियुक्ति प्रक्रिया अघि बढाएको हो । यसअघि माध्यमिक तहमा पनि खुला प्रतिस्पर्धाकै आधारमा शिक्षकको नियुक्ति गरिएको थियो ।

निमावि तहको लिखित परीक्षाको नतिजा आयोगले प्रकाशित गरेपछि अन्तरवार्ता क्षेत्रीय शिक्षा निर्देशनालयले गर्नेछन् । सबै क्षेत्रमा एक साथ अन्तरवार्ता सञ्चालन हुने भएकोले अन्तरवार्ता पूरा गरी नियुक्तिका लागि सिफारिश गर्न धेरै समय नलाग्ने शिक्षक सेवा आयोगका अध्यक्ष ताना गौतमले जानकारी दिए । आयोगले गत भदौँमा सञ्चालन गरेको उक्त तहको लिखित परीक्षामा झण्डै ९० हजार परीक्षार्थीले परीक्षामा सहभागिता जनाएका थिए । गोरखापत्रमा खवर छ ।

Comments: