२०७७ जेष्ठ २१ गते

ऐन संशोधन विरुद्ध विद्यार्थी संगठन आन्दोलित, कार्यान्वयन हुनै नदिने चेतावनी


काठमाडौं । शिक्षा ऐनको नवौं संशोधन फिर्ता लिन माग गर्दै विद्यार्थी संगठनहरु आन्दोलित भएका छन् । संशोधन विद्यार्थी मारा भएको आरोप लगाउँदै उनीहरुले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।


बिहिवार रिर्पोटर्स क्लवमा पत्रकार सम्मेलन गर्दै संयुक्त विद्यार्थी आन्दोलन समितिले संशोधन तत्काल फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।


उनीहरुले असोज ६ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिने, असोज ७ गते दलका शीर्ष नेताहरुलाई ज्ञापनपत्र दिने, असोज ८ गते देशभरका विद्यालयहरुमा कालो झण्डा गाड्ने र विज्ञहरु सम्मीलित सडक बहस गर्ने लगायतका पहिलो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । पत्रकार सम्मेलन पछि प्रेस विज्ञप्ती जारी गर्दै उनीहरुले ऐन संशोधन फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने जनाएका छन् ।


संयुक्त विद्यार्थी आन्दोलन समितिका तर्फबाट प्रेस विज्ञप्तीमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर, नेकपा एमाले निकट अनेरास्ववियुका अध्यक्ष नविना लामा, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, लोकतान्त्रिक फोरम निकट नेपाल लोकतान्त्रिक विद्यार्थी फोरमका अध्यक्ष कपलेश्वर यादव, राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौंका अध्यक्ष विमल पोखरेल र नेकपा माले निकट अखिल पाँचौंका अध्यक्ष घनश्याम मिश्रको संयुक्त हस्ताक्षर रहेको छ ।

 

Comments: