२०७६ चैत्र १५ गते

शिक्षा सचिवले शिक्षकहरुसँग भने– खै खोलो सुक्यो

ईपाटी संवाददाता


ललितपुर । शिक्षा सचिव खगराज बरालले देशभरका शिक्षकहरुसामु सार्थक सिकाइको राज खोलेका छन् ।बालकेन्द्रित र सिकाइ केन्द्रित सार्थक शिक्षणका लागि शिक्षकहरु बालबालिका झैँ बन्नुपर्नेमा उनको जोड थियो ।


शनिवार शिक्षा मन्त्रालय र रातो बङ्गला फाउण्डेसनको संयुक्त आयोजनामा शुरु भएको ३ दिने ‘दोस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन’को उद्घाटन सत्रमा बोल्दै बरालले विभिन्न उदाहरण दिँदै शिक्षकहरुलाई उत्प्रेरित गरेका हुन् ।


बाल्यकालमा आफूले पढेको कविता– 'कुखुरी काँ, बासी भात खा......खोई गाई पानीखान गयो, खोई खोलो, सुक्यो' सुनाउँदै खोइ खोलो सुक्यो भन्ने शब्दको अर्थ अहीले आएर मात्रै आफूले बुझेको  उनको भनाइ थियो ।


'म विद्यार्थी,  शिक्षक, अधिकृत, सहसचिव हुँदा नबुझेको कुरो अहिले सचिव भएपछि मात्रै बुझे खोई खोलो सुक्यो भन्नेको अर्थ ठूलो रहेछ'– बरालले भने, 'यसमा धेरै ज्ञान र दर्शन लुकेको रहेछ, यो सम्मेलन यस्तै खोई खोलो सुक्यो जस्तो नहोस् ।'


सरकारले गुणस्तरीय सिकाइ सुधारका लागि धेरै प्रयास गरेपनि प्रतिफल नआएकामा गुनासो गर्दै बरालले शिक्षकलाई सिकाउने शैली बदल्न आग्रह गरे ।
बरालले शिक्षकहरुलाई कम्बोडियाको किसानको कथा यसरी सुनाए– 'कम्बोडियामा मुसा बढेर किसानको धान सखाप पार्न थालेपछि सरकारले मुसा मारेर ल्याउने किसानलाई नगद पुरस्कार दिन शुरु गर्यो । पछि किसानहरुले धेरै मरेका मुसा ल्याउन थालेपछि त्यसको तह लगाउन गाह्रो भएर सरकारले मुसाको पुच्छर मात्रै ल्याए हुने नियम बनायो । मुसाको पुच्छर पनि ठूलो मात्रामा जम्मा भयो । तर, धानखेती नबढेपछि सरकारले अध्ययन गर्यो । पछि पत्ता लाग्यो । किसानले मुसा नमारी पुच्छर मात्रै काटेर बुझाउन थालेका रहेछन् ।'


शिक्षकहरुलाई पनि पुच्छर मात्रै काट्ने काम नर्गन आग्रह गर्दै उनले सार्थक सिकाइका लागि मुसा नै मार्न सुझाए ।

Comments: