२०७७ जेष्ठ १८ गते

विद्यालयमा पढाइसँगै पैसा कमाउँदै

अन्तैबाट

धादिङ । ज्वालामुखी गाउँपालिकास्थित खरीकी संगीता थापा एक हातमा घाँस अर्को हातमा किताब बोकेर बिहानै विद्यालय जान्छिन्। घरदेखि ३० मिनेटको बाटो हिँडेर विद्यालयमा घाँस ल्याउनु उनको दैनिकी जस्तै बनेको छ। हातमा किताबकापीसँगै घाँसको भारी बोकेको देख्दा सुरुसुरुमा त गाउँलेहरू गलल्ल हाँस्थे। आमाबुबा पनि अचम्म मानेर कराउने गर्थे। संगीतालाई निकै नरमाइलो लाग्थ्यो तर उनले हिम्मत हारिनन्। आमाबुबालाई सम्झाइन्। अहिले उनी सबैको प्रिय बनेकी छिन् ।

गाउँमै पहिलो पटक खोलिएको प्राविधिक विद्यालयमा ४० जना विद्यार्थी छन्। उनीहरूले विद्यालयमै बाख्रा, कुखुरा र बंगुर व्यवसाय गरेका छन्। प्राविधिक विषय अध्ययन गरी गाउँमै व्यवसायी बन्ने संगीताको सपना छ। त्यही सपनालाई पूरा गर्न विद्यालयमा व्यवसाय गर्दै आइरहेको उनले सुनाइन्। ‘सुरुसुरुमा त गाउँलेको हाँसोको पात्र बनेकी थिएँ,’ उनले सुनाइन्, ‘विद्यालयमा बाख्रा, कुखुरा र बंगुर पालेका छौं, आम्दानी राम्रै गरिरहेका छौं, अहिले गाउँलेहरू हेर्न आउँछन्।’

संगीता मात्र होइन, सुवास भुजेल पनि स्वरोजगार बन्नकै लागि प्रयोगात्मक शिक्षा अध्ययन गरिरहेका छन्। अध्ययनकै लागि लाखौं खर्च गरेर बिदेसिनुभन्दा आफ्नै गाउँघरमा सिकेको सीप लागू गरी गाउँमै स्वरोजगार गर्नु उत्तम रहेको उनले बताए। ‘बुबाआमाले सहरमा पढ्न जान सल्लाह दिनुभएको थियो,’ उनले भने, ‘गाउँमै प्राविधिक पढें, साथीहरू मिलेर व्यवसाय गरेका छौं।’ विद्यालयमा पढ्दै, पैसा कमाउँदै गरेकोमा बुबाआमा पनि दंग पर्ने गरेको उनले सुनाए।

ज्वालामुखी–५ खरीस्थित अन्नपूर्ण माविमा प्राविधिक शिक्षालयअन्र्तगत जेटिए भेटेरिनरी विषयको पढाइ हुने गर्छ। विद्यालयमा १० जना छात्र र ३० जना छात्रा गरी ४० जना छन्। विद्यालयको सहयोगमा विद्यार्थीले नै व्यावसायिक रूपमा कुखुरा, बाख्रा र बंगुर पालेका छन्। दानापानी दिनेदेखि लिएर तिनीहरूको हेरचाह्रका लागि आठओटा समूह विभाजन गरिएको छ। कोही बाख्रालाई त कोही कुखुरा र बंगुरलाई दानापानी खुवाउने तथा कोही घाँस काटेर ल्याउने गर्छन्। यहाँका विद्यार्थीलाई विद्यालयको कक्षाकोठामा भन्दा पनि बाख्रा, कुखुरा तथा बंगुरको खोरतिर भेट्न सकिन्छ।

 
दुई सय कुखुराबाट सुरु गरेको फार्ममा अहिले पाँच सयवटा कुखुरा छन्। खसीबाख्रा र बंगुर भने थोरैको संख्यामा रहेको प्राविधिक शिक्षालयका भेटेरिनरी संयोजक अनिलकुमार चौधरीले बताए। ‘निकट भविष्यमै कुखुराको फार्म र खसीबाख्राको संख्या बढाउने योजनामा छौं,’ उनले भने, ‘विद्यार्थीको मिहिनेतकै कारण कुखुरा र बाख्राबाट लाखौं रुपैयाँ नाफा कमाउन सफल भएका छौं।’ विद्यालयमा अध्ययन अध्यापनमा आवश्यक पर्ने दूधको फ्याट नाप्ने मेसिन, ल्याब, एआईलगायत सबै सामग्रीको पनि व्यवस्था मिलाइएको छ।

विद्यार्थीले पालेका कुखुरा र खसीबाख्रा लिन व्यवसायीहरू विद्यालयमै आउने भएकाले बजारको समस्या नरहेको विद्यालयका सहायक प्रधानाध्यपक बाबु आले मगरले बताए। ‘उत्पादित वस्तुको बजार व्यवस्थापनमा पनि खासै समस्या छैन,’ उनले भने, ‘नाफा भएको सबै रकम बैंकमा जम्मा गर्ने गरिन्छ र १८ महिने कोर्स सकिएपछि विद्यार्थीलाई दिइनेछ।’ ८० प्रतिशत प्रयोगात्मक र २० प्रतिशत सैद्धान्तिक शिक्षालाई जोड दिँदै आएको उनले सुनाए।

सदरमुकाम धादिङबेंसीबाट ६ घण्टाको पैदल यात्रामा पुग्न सकिने विद्यालय २०४५ सालमा स्थापना भएको हो। दुई वर्षअघिबाट मात्र विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन भएको विद्यालयका प्रधानाध्यपक देवेन्द्र अधिकारीले बताए। ‘प्राविधिक शिक्षालय चलाउन त्यति सजिलो छैन, विभिन्न समस्या पार गर्दै पढाइ सुरु गरेका हौं,’ उनले भने, ‘प्राविधिक विषय भएकाले पढाइभन्दा बढी प्राविधिक विषयमा बढी केन्द्रित हुने गरेका छौं।’

‘नेपाल सरकारको एक स्थानीय तह एक प्राविधिक शिक्षालय’को अवधारणाअन्तर्गत सिटिइभिटीबाट मान्यता लिएर सञ्चालन गरेको प्रअ अधिकारीले बताए। ‘विद्यार्थीले कुखुराबाट मात्रै लगानी कटाएर एक लाख ५० हजार रुपैयाँ बैंकमा जम्मा गरिसकेका छन्,’ उनले भने, ‘सुरुमा विद्यालयले नै व्यवसायका लागि लगानी गरिदिन्छ, त्यसको आम्दानीबाट विद्यालयको लगानी फिर्ता गरी बाँकी रकम विद्यार्थीले नै लिने गरेका छन्।’


विद्यालयमै आयआर्जन गरी पारिवारको आर्थिक भार कम गर्न सघाउ पुगेकोमा अभिभावक पनि खुसी छन्। विद्यालयले सञ्चालन गरेका हरेक गतिविधि वेब साइट र सामाजिक सञ्जालमा राख्ने गरिएको छ। जिल्लामा पाँच सय ६४ ओटा सामुदायिक विद्यालय छन्। यीमध्ये तीनओटामा मात्रै प्राविधिक विषयको अध्ययन हुँदै आएको जिल्ला शिक्षा विकास एवं समन्वय एकाइ धादिङले जनाएको छ।

  सरिता श्रेष्ठले नागरिकमा खबर लेखेकी छन् ।

Comments: