काठमाडौं । शिक्षा मन्त्रालयले बिहिवार मन्त्रालयका उप–सचिव विदुरराज गिरीमाथि विद्यालय कर्मचारीहरुबाट भएको  आक्रमणको निन्दा गरेको छ । साथै, दोषीलाई कानून बमोजिम हदैसम्मको कानूनी कारबाही गर्न समेत माग गरेको छ ।

मन्त्रालयले शुक्रवार एउटा प्रेस विज्ञप्ति जारी गर्दै विहीवार अपरान्ह ४ः५० बजे मन्त्रालयका शैक्षिक व्यवस्थापन महाशाखा अन्तरगत विद्यालय शिक्षा शाखामा कार्यरत उप–सचिव श्री विदुरराज गिरीमाथि गोविन्दबहादुर पौडेललगायतका विद्यालय कर्मचारीहरुले विना कुनै वादविवाद एक्कासी मुड्कीले टाउकोमा जथाभावी हानेको र सोपछि शिशाको जगले ज्यानै जानसक्ने गरी टाउकोमा प्रहार जनाएको छ ।

विद्यालय कर्मचारीहरुको आक्रमणबाट  गिरी बसिरहेको कुर्सीबाट भुइमा लडेका  र रगताम्य भएका साथै, तत्काल शाखामा उपस्थित कार्यालय सहयोगी सिद्धिबहादुर महर्जन र सीमा लामाले रोकेका कारण थप आक्रमण विफल भएको स्पष्ट पारेको छ ।

घट्ना हुनासाथ महानगरीय सुरक्षा प्रहरी गण सिंहदरबार र महानगरीय प्रहरी वृत्त अनामनगरबाट प्रहरी नायब उपरीक्षक सहितको टोली आई घट्नास्थलको अवलोकन समेत गरी घाइते विदुराज गिरीलाई उपचारका लागि बीर अस्पताल, ट्रमा सेन्टरमा लगिएको विज्ञप्तिमा जनाइएको छ ।

‘नेपाल सरकारले कानून बनाईसकेपछि मात्र सो कानून बमोजिम उपलब्ध हुनसक्ने विद्यालय कर्मचारीको सेवा सर्त सम्बन्धि विषयको सेवा सुविधा दिएन भनी शाखामा काम गर्ने उप–सचिवमाथि सुनियोजित तरिकाबाट सांघातिक आक्रमण गर्ने कार्य घोर निन्दनीय एवम् भर्सनायुक्त छ ।’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले विज्ञप्ति मार्फ कर्मचारीको कुनैपनि किसिमको गल्ती कमजोरी नहुँदा पनि गरिएको यस्तो अपराधजन्य आक्रमण सम्पूर्ण राष्ट्रसेवक कर्मचारी र सिङ्गो मन्त्रालयमाथिको आक्रमण भएको ठहर समेत गरेको हो ।

आक्रमणकारी गोविन्दबहादुर पौडेल त्यसलाई उक्साउने कानून व्यवसायी कोषराज काफ्ले र अन्य संलग्न आक्रमणकारीको अविलम्ब खोजी गरी प्रचलित कानून बमोजिम हदैसम्मको कानूनी कारबाही गरी अपराधीको दुस्साहसलाई नियन्त्रण गर्ने र सम्पूर्ण पीडित पक्षको मनोबललाई बलियो बनाउन अपराधको अनुसन्धान तथा अभियोजनकर्तासंग मन्त्रालयले आग्रह समेत गरेको छ ।

मन्त्रालयका सह–सचिव बालकृष्ण पन्थीद्वारा जारी विज्ञप्तिमा  घटनाको विषयलाई लिएर यस मन्त्रालयका मन्त्री र सचिवबाट पक्राउ गर्ने निर्देशन दिएको भनी सञ्चार माध्यमबाट प्रकाशित समाचारको समेत खण्डन गरिएको छ ।

कर्मचारी संगठनद्वारा घटनाको भत्सर्ना
निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन शिक्षा विभागीय कार्यसमितिलगायत कर्मचारीका विभिन्न संघसंगठनहरुले उप–सचिव गिरीमाथि कार्यकक्षमै भएको आक्रमणको भत्सर्ना गरेका छन् । बिहीवार बेलुकी नै एक बिज्ञप्ती निकाल्दै संघसंगठनहरुले सिंहदरवार भित्रै कर्मचारी असुरक्षित हुनु दुखद भएको भन्दै आक्रमणकारी व्यक्ति र समुहलाई हदै सम्मको कारवाही गर्न र घाइतेको शिघ्र उपचारको व्यवस्था मिलाउन सरकारसंग माग गरेको छ । आधाकारिक ट्रेड  युनियनसँगै नेपाल निजामति कर्मचारी संगठन, नेपाल निजामति कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठनलगायतले विज्ञप्ति जारी गर्दै घटनाको विरोध गरेका हुन् ।

२०७५ बैशाख २८ गते २१:२६मा प्रकाशित

प्रतिकृया दिनुहोस्