२०७६ कार्त्तिक २ गते

यसवर्षको मदन पुरस्कार ‘रणहार’ उपन्यासलाई, बैरागी काइँलालाई जगदम्बाश्री पुरस्कार

ईपाटी संवाददाता

काठमाडौं । मदन पुरस्कार गुठी यस वर्षको मदन पुरस्कार रणहार उपन्यासका लागि योगेश राजलाई दिइएको छ ।

गुठीको आइतबार बसेको साधारणसभाले रणहारलाई मदन पुरस्कार दिने निर्णय गरेको हो । त्यस्तै यस वर्षको जगदम्बाश्री पुरस्कार साहित्यकार बैरागी काइँलालाई दिने निर्णय पनि गरेको मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले गाउँसहररलाई जानकारी दिए ।

पुरस्कार असोज १२ गते वितरण गरिने दुबै पुरस्कारको राशी ४-४ लाख रुपैयाँ रहेको छ । यसअघि २ लाख रूपैयाँ रहेको पुरस्कार राशी गुठीले यसै वर्षदेखि बढाएको हो ।

गुठीले यसअघि मदन पुर‍स्कारका लागि उत्कृष्ट ७ पुस्तकको नाम सार्वजनिक गरेको थियो । ‘मदन पुरस्कार २०७५’ का लागि ७ कृति सिफारिस गरिएको थियो। गुठीले २५७ कृति मध्येबाट सात कृति छनोट गरेको हो।

सानु शर्माको 'एकादेशमा', बिन्दु शर्माको 'ओक्कल दोक्कल पिपल पात', कुमार नगरकोटीको 'ज्ञ', छुदेन काविमोको 'फातसुङ', महेश थापाको 'मरीचिका', योगेश राजको 'रणहार' र ध्रुव सापकोटाको 'विचारको लास' पुरस्कारका लागि सिफारिस भएका थिए।

पब्लिकेसन नेपालयको 'रणहार' का मुख्यपात्र भक्तपुरका अन्तिम मल्ल राजा रणजीत मल्ल थिए। रणजीत मल्लकै पालामा पृथ्वीनारायण शाहले उपत्यकाकै उतिबेलाको सबैभन्दा शक्तिशाली र बैभवशाली राज्य भक्तपुरमा कब्जा जमाएका थिए। भक्तपुर हातमा लिएपछि नै गोरखाली राजाको उपत्यका विजययात्रा टुंगिएको थियो।

उति बेला उपत्यकाका तीनवटा राज्यमध्ये पनि सबैभन्दा महत्वपूर्ण भक्तपुरमा झण्डै आधा शताब्दी शासन गरेका रणजीत मल्लले सन् १७६९ मा पृथ्वीनारायण शाहका सैन्य र चलाखीपूर्ण कदमहरुबाट राज्य गुमाएका थिए। पुस्तक त्यही ऐतिहासिक परिघटनामा केन्द्रित छ।

Comments: