२०७६ चैत्र २८ गते

हेर्नुहोस् सेनिटरी प्याड व्यवस्थापन कार्यविधि २०७६

इपाटी संवाददाता


सेनिटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधि, २०७६

प्रस्तावना : सामुदायिक विद्यालयमा अध्ययनरत किशोरावस्थाका छात्राहरुलाई महिनावारीका समयमा आवश्यक पर्ने महिनावारी व्यवस्थापन सामग्री उपलब्ध गराई उनीहरुको स्वास्थ्यमा सुधार गरी सोही कारणबाट विद्यालय छाड्ने समस्या समाधान गर्न, गुणस्तरीय शिक्षाको प्रत्याभूति गर्न र महिनावारी व्यवस्थापन सामग्रीको दिगो विसर्जन तथा पुनःप्रयोग गर्न सकिने सामग्रीको प्रयोग गर्नेतर्फ उत्प्रेरित गर्न वाञ्छनीय भएकोले, विनियोजन ऐन, २०७६ को दफा ९ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकार, मन्त्रिपरिषद्ले देहायको कार्यविधि बनाई लागू गरेको छ।

परिच्छेद - १

प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस कार्यविधिको नाम "सेनिटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधि, २०७६" रहेको छ।
              (२) यो कार्यविधि नेपाल सरकार, मन्त्रिपरिषद्बाट स्वीकृत भएको मितिदेखि प्रारम्भ हुनेछ र आर्थिक वर्ष २०७६/७७ सम्म लागू रहनेछ।
२.परिभाषा : विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा,
(क) “कार्यपालिका” भन्नाले नेपालको संविधान बमोजिम गठन भएका गाउँ
कार्यपालिका तथा नगर कार्यपालिका सम्झनु पर्छ।
(ख) “छात्रा” भन्नाले सामुदायिक विद्यालयमा अध्ययनरत किशोरावस्थाका महिनावारी हुने उमेर समूहका छात्रा सम्झनु पर्छ।
(ग)“मन्त्रालय” भन्नाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्झनु पर्छ।
(घ) “महिनावारी व्यवस्थापन सामग्री” भन्नाले महिनावारीका समयमा प्रयोग गर्ने सेनिटरी प्याड, टेम्पोन र महिनावारी कप समेत सम्झनु पर्छ।
(ङ)“महिला तथा बालबालिका शाखा” भन्नाले स्थानीय तहमा महिला, बालबालिका तथा जेष्ठ नागरिक सम्बन्धी काम गर्ने गरी तोकिएको शाखा वा त्यस्तो काम गर्न जिम्मेवारी पाएको कर्मचारी कार्यरत रहेको अन्य शाखा सम्झनु पर्छ।
(च) “विद्यालय” भन्नाले सामुदायिक विद्यालय सम्झनु पर्छ।
(छ) “शिक्षा शाखा" भन्नाले स्थानीय तहमा शिक्षा सम्बन्धी काम गर्ने शाखा वा त्यस्तो काम गर्न जिम्मेवारी पाएको कर्मचारी कार्यरत रहेको अन्य शाखा
सम्झनु पर्छ।
(ज) “सम्पर्क व्यक्ति” भन्नाले छात्राहरूलाई महिनावारी व्यवस्थापन सामग्री वितरण तथा भण्डारणको जिम्मेवारी दिइएका विद्यालयका शिक्षक तथा कर्मचारी सम्झनु पर्छ।
(झ) “स्थानीय तह” भन्नाले नेपालको संविधान बमोजिम गठन भएका गाउँपालिका वा नगरपालिका सम्झनु पर्छ र सो शब्दले उपमहानगरपालिका र
महानगरपालिका समेतलाई जनाउँछ।
(ज) “स्वास्थ्य शाखा" भन्नाले स्थानीय तहमा स्वास्थ्य सम्बन्धी काम गर्ने शाखा वा त्यस्तो काम गर्न जिम्मेवारी पाएको कर्मचारी कार्यरत रहेको अन्य शाखा सम्झनु पर्छ।

परिच्छेद-२


बजेट तथा खरिद व्यवस्थापन
२. छात्राहरुको संख्या
यकिन गर्ने : (१) मन्त्रालयले प्रत्येक स्थानीय तहका सबै सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुको तथ्याङ्क संकलन र अद्यावधिक गर्न लगाउनु पर्नेछ।
(२) मन्त्रालयले उपदफा (१) बमोजिमको तथ्याङ्कका आधारमा हरेक स्थानीय तहलाई सेनिटरी प्याड खरिद गर्न आवश्यक पर्ने बजेट यकिन गरी अर्थ मन्त्रालयसँग माग गर्नुपर्नेछ।
(३) मन्त्रालयको मागका आधारमा अर्थ मन्त्रालयले स्थानीय तहलाई आवश्यक पर्ने बजेट उपलब्ध गराउनु पर्नेछ।
(४) उपदफा (३) बमोजिम प्राप्त भएको बजेटलाई स्थानीय तहले आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक सूचना व्यवस्थापन प्रणालीको तथ्याङ्कसँग भिडाइ अनुसूची १ मा उल्लेख गरिए बमोजिमको गुणस्तरको सेनिटरी प्याड प्रचलित कानून बमोजिम खरिद गर्नुपर्नेछ।
(५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि स्थानीय तहले तोकिएको गुणस्तरमा कमी नहुने गरी स्थानीयस्तरमा निर्मित पुन: प्रयोग गर्न सकिने सेनिटरी प्याडको व्यवस्था गर्न बाधा पर्ने छैन।

परिच्छेद -३


सेनिटरी प्याड भण्डारण तथा वितरण
४.सुरक्षित भण्डारण गर्नु पर्ने : (१) स्थानीय तहले दफा ३ बमोजिम खरिद गरेका सेनिटरी प्याडको सुरक्षित किसिमले भण्डारणको व्यवस्था गर्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिम भण्डारण गर्दा सेनिटरी प्याडको गुणस्तरमा असर नपर्ने गरी व्यवस्थापन गर्नु पर्नेछ।
विद्यालयलाई सेनिटरी प्याड वितरण : (१) विद्यालयले आफ्ना छात्राहरुको संख्याका आधारमा आवश्यक पर्ने सेनिटरी प्याड शिक्षा शाखा मार्फत स्थानीय तहमा माग गरी पठाउनु पर्नेछ।
(२) उपदफा (१) बमोजिम माग भएको संख्यालाई शिक्षा शाखाले स्थानीय तहमा भएको शैक्षिक व्यवस्थापन सूचना प्रणालीको तथ्याङ्कसँग भिडाई विद्यालयलाई आवश्यक हुने सङ्ख्यामा सेनिटरी प्याड उपलब्ध गराउनु पर्नेछ।
(३) स्थानीय तहले उपदफा (२) बमोजिम प्रत्येक विद्यालयलाई उपलब्ध गराएको सेनिटरी प्याडको अभिलेख अलग अलग रुपमा राख्नु पर्नेछ।
(४) स्थानीय तहले विद्यालयहरुसँग समन्वय गरी विद्यालयको आवश्यकता, बजारमा प्याडको उपलब्धता, प्याडको उत्पादन तथा प्रयोग गर्ने मिति, स्थानीय तह तथा विद्यालयहरुमा भण्डारण क्षमता जस्ता पक्षहरुमा ध्यान दिई त्रैमासिक, चौमासिक वा अर्धवार्षिक रुपमा वितरण गर्न सकिनेछ।

५.छात्राहरुलाई सेनिटरी प्याड वितरण : (१) विद्यालयले दफा ५ बमोजिम उपलब्ध सेनिटरी प्याडको अभिलेख जिन्सी खातामा व्यवस्थित रुपले राख्नु पर्नेछ।
(२) विद्यालयले छात्राहरुको नाम नामेसी स्पष्ट खुल्ने गरी अभिलेख अद्यावधिक गर्नुपर्नेछ।
(३) सेनिटरी प्याड वितरणका लागि विद्यालयमा नर्स उपलब्ध भएसम्म नर्सलाई सम्पर्क व्यक्ति तोक्नु पर्नेछ। विद्यालयमा नर्स उपलब्ध नभएको अवस्थामा महिला शिक्षक वा प्रारम्भिक बाल विकासका महिला सहजकर्ता वा महिला कार्यालय सहयोगी वा स्वास्थ्य, जनसंख्या र वातावरण विषय अध्यापन गर्ने शिक्षकलाई सम्पर्क व्यक्ति तोकी सेनिटरी प्याड भण्डारण र वितरण गर्ने कार्यको जिम्मेवारी दिनु पर्नेछ।
(४) विद्यालयका सम्पर्क व्यक्तिले छात्राहरुलाई एउटा महिनावारी चक्रका लागि बढीमा सोह्र वटासम्म सेनिटरी प्याड उपलब्ध गराउनु पर्नेछ।
(५) उपदफा (४) बमोजिम वितरण गरेको सेनिटरी प्याडको अभिलेख तथा बुझिलिएको भर्पाई सुरक्षित गरी राख्ने दायित्व सम्पर्क व्यक्तिको हुनेछ।
(६) सम्पर्क व्यक्तिले छात्राहरुलाई सेनिटरी प्याड उपलब्ध गराउनु अघि प्रयोग गर्ने तरिका सम्बन्धमा आधारभूत जानकारी गराउनु पर्नेछ।
(७) यस दफा बमोजिम छात्राहरुलाई वितरण गरिने सेनिटरी प्याडको दुरुपयोग हुन नदिने दायित्व विद्यालयका प्रधानाध्यापकको हुनेछ।
(८) यस दफा बमोजिम वितरण गरेको सेनिटरी प्याडको विवरण प्रत्येक महिनाको पहिलो हप्ता विद्यालयको सूचना पाटीमा टाँस गरी सार्वजनिक गर्नु पर्नेछ।

परिच्छेद ४

सेनिटरी प्याडको प्रयोग तथा विसर्जनको व्यवस्था
७.सचेतना सामग्रीको उत्पादन तथा प्रसारण : (१) छात्राहरुलाई वितरण हुने सेनिटरी प्याडको गुणस्तर, प्रयोग गर्ने तरिका, प्रयोग पश्चात् त्यसको दिगो विर्सजन लगायतका विषयमा श्रव्य दृश्य सामग्री तथा हाते पुस्तिका तयार गरी स्थानीय तहहरुलाई उपलब्ध गराउने दायित्व स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हुनेछ।
(२) उपदफा (१) बमोजिमको जानकारीमूलक सामग्री नेपाल सरकार, प्रदेश सरकार लगायत सबै स्थानीय तहको वेभसाइट मार्फत सरोकारवाला सबैलाई जानकारी हुने व्यवस्था मिलाउनुपर्नेछ।

८.स्थानीय तहमा सचेतना कार्यक्रम : (१) स्थानीय तहले महिनावारी स्वास्थ्य, किशोरी स्वास्थ्य तथा सेनिटरी प्याडको प्रयोग र प्रयोग पश्चात् त्यसको दीगो विसर्जन सम्बन्धमा सचेतना कार्यक्रम सञ्चालन गर्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिम सञ्चालन हुने सचेतना कार्यक्रममा स्थानीय तहको शिक्षा शाखा, स्वास्थ्य शाखा एवम् महिला तथा बालबालिका शाखामा कार्यरत कर्मचारी तथा हदरवार का विद्यालयका सम्पर्क व्यक्ति, कर्मचारी, शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, स्थानीय आमा समूह लगायत गैर सरकारी संस्थाको परिचालन गर्न सकिनेछ।

९.सेनिटरी प्याडको विसर्जन : (१) प्रयोग भएका महिनावारी व्यवस्थापन सामग्रीहरुलाई वातावरणमा प्रतिकूल असर नपर्ने गरी दीगो विसर्जन गर्न विद्यालयको हाताभित्र खाल्डो खनी पुर्नु पर्नेछ ।
(२) विद्यालयको हातामा पर्ने ठाउँको अभाव भएमा अन्य फोहोर मैला सरह यस्ता वस्तुहरूको विसर्जन गर्नु पर्नेछ
(३) उपदफा (१) बमोजिम बिसर्जन व्यवस्थापनका लागि आवश्यक पर्ने प्राविधिक सहयोग स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र वन तथा वातावरण मन्त्रालयले उपलब्ध गराउनु पर्नेछ।

परिच्छेद-५

सेनिटरी प्याड व्यवस्थापन, समन्वय र अनगमन सम्बन्धी व्यवस्था
१०. सनीय निर्देशक समिति : (१) विद्यालयहरुमा सेनिटरी प्याड व्यवस्थापन सम्बन्धमा नीति, योजना, अनुगमन र मापदण्ड निर्माण गर्न संघमा देहाय बमोजिमको एक सङ्घीय निर्देशक समिति रहनेछ :
(क) सचिव (शिक्षा हेर्ने) मन्त्रालय -अध्यक्ष
(ख) सह-सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय - सदस्य
(ग) सह-सचिव, अर्थमन्त्रालय- सदस्य
(घ) सह-सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय - सदस्य
(ङ) सह-सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय - सदस्य
(च) सह-सचिव, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय - सदस्य
(छ) सह-सचिव, खानेपानी मन्त्रालय - सदस्य
(ज) सह-सचिव, राष्ट्रिय योजना आयोग - सदस्य
(झ) सह-सचिव (शिक्षा हेर्ने), मन्त्रालय -सदस्य-सचिव

(२) समितिको बैठक आवश्यकता अनुसार अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ।
(३) समितिको बैठकमा आवश्यकता अनुसार आमन्त्रण गर्न सकिनेछ।
(४) समितिको बैठकको कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ।

११. सङ्गीय निर्देशक समितिको काम कर्तव्य र अधिकार : सङ्घीय निर्देशक समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :
(क) सेनिटरी प्याड वितरण तथा व्यवस्थापन सम्बन्धी नीति, योजना र मापदण्ड तयार गर्ने,
(ख) सेनिटरी प्याडको उत्पादन र यसको गुणस्तर सम्बन्धी विषयमा आवश्यक नीति तथा मापदण्ड तयार गर्ने,
(ग) किशोरी स्वास्थ्य सम्बन्धी सचेतनाका कार्यक्रमहरुको नमूना ढाँचा तयार गर्ने,
(घ) सेनिटरी प्याड व्यवस्थापनसँग सम्बद्ध मन्त्रालयसँग समन्वय र सहकार्य गर्ने,
(ङ) सेनिटरी प्याड व्यवस्थापनका लागि प्रदेश तथा स्थानीय तहहरुलाई सहजीकरण गर्ने,
(च) सेनिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यक्रम प्रभावकारी रुपमा संचालन भए नभएको विषयमा अनुगमन गर्ने।

१२. प्रदेशस्तरीय सेनिटरी प्याड व्यवस्थापन सहजीकरण समिति : (१) प्रदेशभित्र सेनिटरी प्याड कार्यक्रम प्रभावकारी रुपमा संचालन गर्न, कार्यक्रम सञ्चालनमा सहजीकरण गरी प्रभावकारीता अभिबृद्धि गर्न प्रत्येक प्रदेशमा देहाय बमोजिमको एक प्रदेशस्तरीय सेनिटरी प्याड व्यवस्थापन सहजीकरण समिति रहनेछ :
(क) सामाजिक विकास मन्त्रालयका सचिव - संयोजक
(ख) स्वास्थ्य निर्देशनालयका निर्देशक - सदस्य
(ग) शिक्षा विकास निर्देशनालयका निर्देशक- सदस्य
(घ) माध्यमिक तहका महिला शिक्षकहरुमध्ये सामाजिक विकास मन्त्रालयका शिक्षा महाशाखा प्रमुखले तोकेको दुईजना - सदस्य
(ङ) सामाजिक विकास मन्त्रालयका शिक्षा महाशाखा प्रमुख -सदस्य-सचिव - सदस्य
-सिरो समितिको बैठक आवश्यकता अनुसार संयोजकले तोकेको मिति, समय र स्थानमा बस्नेछ।
(३) समितिको बैठकमा आवश्यकता अनुसार आमन्त्रण गर्न सकिनेछ।
(४) समितिको बैठकको कार्यविधि समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ।

१३. प्रदेशस्तरीय सेनिटरी प्याड व्यवस्थापन सहजीकरण समितिको काम, कर्तव्य र अधिकार :प्रदेशस्तरीय सेनिटरी प्याड व्यवस्थापन सहजीकरण समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :
(क) प्रदेशभित्रका सामुदायिक विद्यालयका छात्राहरुलाई नि:शुल्क सेनिटरी प्याड  उपलब्ध गराउने सम्बन्धमा स्थानीय तह बीच आवश्यक समन्वय र
सहजीकरण गर्ने,
(ख) प्रदेशभित्र रहेका विद्यालयहरुका छात्राहरुको लागि आवश्यकतानुसार सेनिटरी  प्याड उपलब्ध भए नभएको, उपलब्ध सामग्रीको सदुपयोग भए नभएको र प्रयोग गरेका सामग्रीको वातावरणमा प्रतिकूल असर नपर्ने गरी विसर्जन भए नभएको अनुगमन गरी कार्यक्रमको प्रभावकारीता अभिबृद्धि गर्न समन्वय र
सहयोग गर्ने,
(ग) सेनिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यक्रममा दोहोरोपना हुन नदिने, (घ) सेनिटरी प्याड व्यवस्थापनसँग सम्बद्ध प्रदेशका मन्त्रालयहरुसँग समन्वय र सहकार्य गर्ने।
१४. स्थानीय तहस्तरीय सेनिटरी प्याड वितरण तथा व्यवस्थापन समिति : प्रत्येक स्थानीय तहका सामुदायिक विद्यालयका छात्राहरुको लागि सेनिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यमा आवश्यकतानुसार समन्वय, सहजीकरण र अनुगमन गर्न देहाय बमोजिमको एक स्थानीय तहस्तरीय सेनिटरी प्याड वितरण तथा व्यवस्थापन समिति रहनेछ :
(क) स्थानीय तहको उपप्रमुख वा उपाध्यक्ष - संयोजक
(ख) कार्यपालिकाका महिला सदस्यहरुमध्ये कार्यपालिकाले तोकेको एकजना - सदस्य
(ग) स्वास्थ्य शाखाका अधिकृत वा कर्मचारी एकजना - सदस्य
(घ) विद्यालयका सम्पर्क व्यक्तिमध्येबाट स्थानीय तहले तोकेको दुईजना - - सदस्य
(ङ) महिला तथा बालबालिका शाखाका अधिकृत वा कर्मचारी एकजना  - सदस्य
(ङ) शिक्षा शाखाका अधिकृत वा कर्मचारी एकजना - सदस्य-सचिव

(२) समितिको बैठक आवश्यकता अनुसार संयोजकले तोकेको मिति, समय र स्थानमा  बस्नेछ।
(३) समितिका बैठकमा आवश्यकता अनुसार आमन्त्रण गर्न सकिनेछ।
(४) समितिको बैठकको कार्यविधि समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ।

१५. स्थानीय तहस्तरीय सेनिटरी प्याड वितरण तथा व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार : स्थानीय तहस्तरीय सेनिटरी प्याड वितरण तथा व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :
(क) स्थानीय तहभित्रका सामुदायिक विद्यालयका छात्राहरुलाई आवश्यक पर्ने सेनिटरी प्याड समयमै खरिद तथा वितरण भए नभएको अनुगमन गर्ने,
(ख) आफ्नो स्थानीय तहभित्रका सामुदायिक विद्यालमा सेनिटरी प्याड उपलब्ध भए नभएको, उपलब्ध सामग्रीको सदुपयोग भए नभएको र प्रयोग गरेका सामग्रीको वातावरणमा प्रतिकूल असर नपर्ने गरी विसर्जन भए नभएको अनुगमन गरी आवश्यक निर्देशन दिनुका साथै आवश्यक समन्वय र सहजीकरण गर्ने,
(ग) स्थानीयस्तरमा सेनिटरी प्याड उत्पादन गर्न उद्यमीहरुसँग समन्वय र सहकार्य गर्ने,
(घ) अन्य आवश्यक कार्य गर्ने।

१६. विद्यालयस्तरीय सेनिटरी प्याड वितरण तथा व्यवस्थापन समिति : सामुदायिक विद्यालयमा सेनिटरी प्याडको प्राप्ति, सुरक्षित भण्डारण, वितरण, सदुपयोग तथा किशोरी स्वास्थ्य र प्रजनन स्वास्थ्य सम्बन्धी सचेतनाका लागि देहाय बमोजिम एक विद्यालयस्तरीय सेनिटरी प्याड वितरण तथा व्यवस्थापन समिति रहनेछ :
(क) प्रधानाध्यापक  -संयोजक
(ख) स्वास्थ्य, जनसंख्या र वातावरण वा सामाजिक  -सदस्य
विषयका शिक्षक एकजना
(ग) महिला शिक्षक  -सदस्य
(घ) प्रधानाध्यापकले तोकेका किशोरी छात्राहरुका प्रतिनिधि दुईजना-सदस्य
(ङ) विद्यालय रहेको क्षेत्रको स्वास्थ्य स्वयंसेविका
(च) विद्यालयका सम्पर्क व्यक्ति -सदस्य-सचिव

(२) समितिको बैठक आवश्यकता अनुसार संयोजकले तोकेको मिति, समाय र स्थानमा बस्नेछ।
(३) समितिको बैठकमा आवश्यकता अनुसार विज्ञलाई आमन्त्रण गर्न सकिनेछ।
(४) समितिको बैठकको कार्यविधि समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ।

१७. विद्यालयस्तरीय सेनिटरी प्याड वितरण तथा व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार: विद्यालयस्तरीय सेनिटरी प्याड वितरण तथा व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :
(क) विद्यालयका छात्राहरुको संख्याको आधारमा आवश्यक पर्ने सेनिटरी प्याड
स्थानीय तहसँग माग गर्ने,
(ख) विद्यालयमा प्राप्त सेनिटरी प्याडको अभिलेख राखी आवश्यकतानुसार
छात्राहरुलाई वितरण गर्ने,
(ग) वातावरणमा प्रतिकूल असर नपर्ने गरी सेनिटरी प्याड विसर्जनको व्यवस्था मिलाउने,
(घ)सेनिटरी प्याडको सदुपयोग, विसर्जन र महिनावारी व्यवस्थापन सम्बन्धमा शिक्षक, छात्रा तथा अन्य सरोकारवालाहरुलाई सचेतना सम्बन्धी कार्यक्रम  संचालन गर्ने,
(ङ) अन्य आवश्यक कार्य गर्ने।

परिच्छेद-६


विविध
१८. गुनासो सम्बन्धी व्यवस्था : खरिद भएको सेनिटरी प्याडको गुणस्तर पर्याप्त भए नभएको, सुरक्षित तवरबाट भण्डारण भए नभएको, छात्राहरुको आवश्यकता अनुसार वितरण भए नभएको, महिनावारी स्वास्थ्य र किशोरी स्वास्थ्यका विषयमा छात्राहरुलाई जानकारी तथा शिक्षा दिने गरिए नगरिएको सम्बन्धमा गुनासो सङ्कलन गर्न स्थानीय तह र विद्यालयले आ आफ्नो हाताभित्र एउटा गुनासो पेटिकाको व्यवस्था गरी प्राप्त गुनासोको सम्बोधन गर्ने व्यवस्था मिलाउनु पर्नेछ।

१९. दिर्घकालीन स्रोत व्यवस्थापन : (१) स्थानीय तहले पारिवारिक आर्थिक अवस्थाका कारणले सेनिटरी प्याड जुटाउन नसक्ने सामुदायिक विद्यालयमा अध्ययनरत कुनै पनि छात्राले विद्यालय छाड्नु नपर्ने अवस्थाको सुनिश्चितता गर्नु पर्नेछ।
(२) स्थानीय तहको स्रोत, निजी तथा व्यावसायिक क्षेत्रको नियमित सामाजिक उत्तरदायित्व अन्तर्गत पर्ने स्रोत र विद्यालयको आफ्नो स्रोत समेत परिचालन गरी कार्यक्रम कार्यान्वयन गर्नु पर्नेछ।
(३) वजेटको दिगो व्यवस्थापन गर्दा तीन तहका सरकारबीच सहयोग र सहकार्य समेतको अवधारणालाई अवलम्वन गर्नु पर्नेछ ।
(४) नेपाल सरकारबाट सःशर्त अनुदानको रूपमा वित्तीय हस्तान्तरणमार्फत प्राप्त भएको स्रोत सेनिटरी प्याड खरिद गर्न बाहेक अन्य तालीम, तलव भत्ता, ढुवानी, प्राथमिक उपचार सामग्री खरिद जस्ता कुनै पनि कार्यमा खर्च गर्न पाइने छैन।
(५) स्थानीय तहहरुले आफ्नै स्रोतमा बजेट व्यवस्था गरी वैकल्पिक महिनावारी व्यवस्थापनका सामग्रीहरु जस्तै: टेम्पोन तथा महिनावारी कप खरिद गरी वितरण गर्न सक्नेछन्।

२०. सेनिटरी प्याड सम्बन्धी वैकल्पिक व्यवस्था : (१) स्थानीय तहहरुले एक आपसमा समन्वय गरी स्थानीय श्रोत, ज्ञान, सीप र उद्यमशीलता प्रवर्द्धन हुने गरी स्थानीयस्तरमा नै सेनिटरी प्याडको उत्पादन, उपयोग र वितरण गर्न सक्नेछन् ।
(२) स्थानीयस्तरमा उत्पादित सेनिटरी प्याडको गुणस्तर अनुसूची-२ मा उल्लेख भए बमोजिम हुनु पर्नेछ।
(३) स्थानीय तहले सेनिटरी प्याड प्रयोग गर्ने छात्राहरुको स्वास्थ्यमा असर नपुग्ने र उक्त सामग्रीको गुणस्तरमा कुनै पनि सम्झौता नहुने अवस्थाको सुनिश्चितता गर्नुपर्नेछ।
(४) स्थानीयस्तरमा सेनिटरी प्याड उत्पादन गर्दा पन्चानब्बे प्रतिशतभन्दा बढी सुतीको कपडा प्रयोग गर्नु पर्नेछ। यस कार्यविधिको दफा १२ बमोजिमको समितिको निर्णय अनुसार सेनिटरी प्याडको गुणस्तर सुनिश्चत गर्नु पर्नेछ। यसरी उत्पादन गरिएको सामग्रीको सही प्रयोगका लागि स्थानीय तह तथा विद्यालयहरूले चेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नु पर्नेछ।
(५) महिनावारी स्वास्थ्य, प्रजनन स्वास्थ्य, सेनिटरी प्याडको प्रयोग तथा विर्सजन सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट उत्पादित श्रव्यदृश्य र पाठ्यसामग्री शिक्षा तथा स्वास्थ्य सम्वन्धी तालीमहरुमा समावेश तथा एकीकृत गरी सम्बन्धित छात्राहरु, सम्पर्क व्यक्ति र अन्य सरोकारवाला पक्षलाई अभिमुखीकरण वा यस्तै अन्य माध्यमबाट जानकारी गराउनु पर्नेछ।
(६) सेनिटरी प्याड वितरणको कार्यक्रम व्यवस्थित रुपमा सञ्चालन गर्ने सन्दर्भमा स्थानीय तहले विद्यालयको शैक्षिक व्यवस्थापन सूचना प्रणालीको तथ्याङ्कसँग सत्यापन गरी सेनिटरी प्याड आवश्यक पर्ने छात्राहरूको संख्याको आधारमा यस कार्यविधि बमोजिम हुने गरी विद्यालयहरूको खातामा रकम निकासा गर्न सक्नेछन्।
(७) उपदफा (६) बमोजिम प्राप्त वजेटबाट विद्यालयहरूले स्थानीय सामग्री, ज्ञान, सीप, उद्यमशीलता र रोजगारी प्रवर्द्धन हुने गरी सेनिटरी प्याडको व्यवस्था गरी छात्राहरूलाई वितरण गर्न सक्नेछन्।

२१. प्रतिवेदन पठाउनु पर्ने : यस कार्यक्रमको कार्यान्वयनको प्रगति विवरण मन्त्रालयले तोकेको  ढाँचामा चौमासिक रुपमा विद्यालयले स्थानीय तहमा र स्थानीय तहले प्रदेश सामाजिक  विकास मन्त्रालय र मन्त्रालयमा पठाउनु पर्नेछ।
२२. अनुसूचीमा हेरफेर तथा थपघट गर्ने : मन्त्रालयले यस कार्यविधिको अनुसूचीमा आवश्यक  हेरफेर तथा थपघट गर्न सक्नेछ।
२३. बाझिएमा अमान्य हुने : यस कार्यविधिको कुनै व्यवस्था प्रचलित नेपाल कानूनसँग बाझिएमा बाझिएको हदसम्म कार्यविधिको व्यवस्था अमान्य हुनेछ।

Comments: