२०७६ मंसिर ४ गते

ओली र नेपाल पक्षबीचका विद्यार्थीबीच झडप

पोखरा । स्ववियु निर्वाचनमा उम्मेदवारको विषयलाई लिएर एमाले निकट अनेरास्ववियुका दुई पक्षबीच यहाँको पृथ्वीनारायण क्याम्पसमा झडप हुँदा ४ घाइते भएका छन् ।

अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल पक्षका विद्यार्थीबीच कुटाकुट भएको र अहिले स्थिति नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । घाइते विनय राना, दिनेश ढुंगाना, विमल तिवारी र सुरज अधिकारीको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

उनीहरु सबै नेपाल पक्षधरका विद्यार्थी हुन् । हात र टाउकोमा हेल्मेटले हिकाइएका उनीहरुको अवस्था सामान्य छ । उनीहरुलाई अमृत सुवेदी, शेखर पौडेल, अनुप लामिछाने, सुमन ढुंगानाको समूहले कुटेको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीका अनुसार ओली पक्षका विद्यार्थीले बुधबार नेपाल पक्षका विद्यार्थीलाइ गालीगलौज गरेका थिए । त्यसपछि उक्त समूहले अनुशासन कमिटीमा उजुरी दिएपछि उजुरी किन दिएको भनेर एक्कासी कुटपिट गरेको खुल्न आएको वडा प्रहरी कार्यालय बगरका निरीक्षक किशोर लम्सालले बताए । कान्तिपुरमा खबर छ ।

Comments: