२०७६ असोज ३० गते

घुसको रकम सहित विद्यालय परिसरबाटै सहायक प्रधानाध्यापक र लेखापाल पक्राउ

ईपाटी संवाददाता

काठमाडौं । काठमाडौको एक विद्यालयमा कार्यरत सहायक प्रधानाध्यापक र लेखापाललाई  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  सेवाग्राही सँग घुस लिदैँ गर्दा रंगेहात पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौको चावहिलस्थित पशुपति मित्र माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक भरत बिक्रम बिसी र लेखापाल बद्रीप्रसाद पराजुली (मावि तृतीय श्रेणी) रहेका छन् ।

विद्यालयमा क्यान्टिन बनाउने कार्य सम्पन्न गरी रकम निकाशा गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले उनीहरुलाई रंगेहात नियन्त्रणमा लिएको हो ।

लेखापाल बद्रीप्रसाद पराजुली र सहायक प्रधानाध्यापक भरत बिक्रम बिसीलाई सेवाग्राहीसँग एक लाख पचास हजार लिईसकेको अवस्थामा विद्यालय परिसर बाटै पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।


प्रवक्ता कोइरालाका अनुसार उनीहरुलाई नियन्त्रणमा लिई अख्तियारले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 



 

Comments: