काठमाडौं । नेपाल शिक्षक संघले लकडाउनको अवस्थामा ‘घरघरमा विद्यालय’ अभियान सञ्चालन गर्ने भएको हो । अभियानमा संघका   संघीय, प्रदेश, जिल्ला र स्थानीय समितिहरु क्रियाशील हुने जनाइएको छ ।

संघका अध्यक्ष राजेन्द्रराज पौडेल र महासचिव सोमनाथ गिरीले मंगलबार एक विज्ञप्ति जारी गर्दै लकडाउनको समयमा ‘घरघरमा विद्यालय’ कार्यक्रम सञ्चालन गरी विद्यार्थीहरुका लागि स्वास्थ्य तथा शैक्षिक दिनचर्या सञ्चालन गर्न सदस्यहरुलाई निर्देशन दिएका हुन् ।

यस कार्यक्रममा हरेक विद्यालयका सबै विषयका शिक्षकहरुले  विद्यार्थीलाई घरघरमा नै सञ्चारका माध्यमबाट शिक्षण सिकाइ गर्ने विज्ञप्तिमा जनाइएको छ । अर्थात् सूचनाप्रविधिका माध्यमबाट घरघरमै विद्यालय सञ्चालन हुनेछन् ।

चैत २१, २२ र २३ मा  बसेको संघको संघीय कार्य समितिको अनलाइन बैठकले यस्तो निर्णय गरेको समेत विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा बैठकले तपसिल शैक्षिक अवस्थाका सम्बन्धमा ५, समसामयिक सम्बन्धमा ७ गरी १२ निर्णय गरेकोसमेत जनाइएको छ ।

संघले विभिन्न पालिकाहरुले आफूअनुकुल शिक्षकहरुसँग आर्थिक सहयोग मागिरहेको सन्दर्भमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । यस्तै संघले यस अवस्थामा राष्ट्रिय सहयोग कोषमा शिक्षकका तर्फबाट एकद्वार प्रणालीबाट संघीय सरकारले नै महासंघ (सबै आबद्ध सम्बद्ध संस्थाहरु) सँगको सल्लाहबमोजिम निश्चित दिनको तलब उक्त केन्द्रीय कोषमा जम्मा हुनेगरी कार्यान्वयन गर्न शिक्षा मन्त्रालयलाई अनुरोध गरेको छ ।

यस्तै संघले शिक्षक महासंघले संस्थाको मूलभूत सिद्धान्त र विधिपद्धतिबाट नभई एकांकी ढंगबाट हाल गरेका क्रियाकलापहरु प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । साथै,  यस्ता गतिविधिहरुलाई सच्याइ महासंघलाई स्थापनाकालका मूलभूत सिद्धान्तहरुलाई अवलम्बन गरी सञ्चालन गर्नसंघले प्रथम भूमिका  निर्वाह गर्न कुनैपनि कसर बाँकी नराख्ने स्पष्ट पारेको छ ।

हेर्नुहोस् विज्ञप्ति
विश्वमा फैलिएको नोभेल कोरोना भाइरस (कोघिड–१९) को महामारीले विश्व नै आक्रान्त पारी आजका दिनसम्म हजारौँ मानिसको ज्यान लिइसकेको र संसारभर फैलिई लाखौँको संख्यामा संक्रमण देखिएको यो विषम घडीमा नेपालले यस महामारीको रोकथाम र नियन्त्रणका लागि २०७६ चैत्र ११ गतेदेखि मुलुकमा लकडाउनको व्यवस्था गरेको छ ।

यस विषम घडीमा नेपालीहरुले भोगेका दैनिक जीवनयापन, व्यक्तिगत स्वास्थ्य, महामारी रोकथाम तथा नियन्त्रणमा सरकारका गतिविधि, आम विद्यार्थीहरुमा परेको असर, सरकारद्वारा निर्मित राहतकोषमा सहयोग, महासंघका सांगठनिक गतिविधि तथा अन्य समसामयिक विषयमा संघको दृष्टिकोण अघि बढाउन आवश्यक विषयलाई निर्णयार्थ संघले २०७६ चैत्र २१, २२ र २३ गते नेपाल शिक्षक संघको संघीय कार्य समितिको अनलाइन बैठक बसी विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ । माथि उल्लेखित विषयहरुमा गरिएका निर्णय का बारेमा विज्ञप्ति मार्फत सबैमा अनुरोध तथा कार्यान्वयनका लागि सम्बन्धित निकायसँग जोड दार माग गर्दछौँ ।

तपसिल शैक्षिक अवस्थाका सम्बन्धमा
१. परीक्षा दिइ बसेका र परीक्षा दिनुपर्ने विद्यार्थीहरुलाई हालको त्रासदित वातावरणलाई सरल बनाई बालबालिकालाई हाम्रो स्वास्थ्यका लागि अपनाइएको सुरक्षित कार्यक्रम हो भनी बोध गराउँदै घरघरमा रहेका विद्यार्थीहरुलाई उचित वातावरण निर्माण गरी अभिभावकज्यूहरुको समन्वयमा सञ्चार साधनमार्फत लकडाउनको समयावधिमा ‘घरघरमा विद्यालय’ भन्ने शैक्षिक अभियान तत्काल पालिका स्तरमा प्रारम्भ गर्ने ।

२. ‘घरघरमा विद्यालय’ अभियानमा नेपाल शिक्षक संघको  संघीय, प्रदेश, जिल्ला र स्थानीय समितिहरु क्रियाशील हुनेछन् । यस अभियानलाई सफल बनाउन सम्बन्धित पालिकामा बसोबास गर्ने संघीय, प्रदेश, जिल्ला र स्थानीय कार्यस मितिका पदाधिकारीहहरुसँग सम्बन्धित पालिकाका संघका स्थानीय अध्यक्षज्युहरुले फोन सम्पर्कबाट समन्वय गरी त्यस पालिकामा रहेका विद्यालयका प्र.अ. तथा संघका सदस्यमार्फत हरेक विद्यालयका विद्यार्थीहरुलाई कक्षागत शिक्षकले आफ्ना कक्षाका विद्यार्थीहरुसँग सबै विषयका शिक्षकहरुलाई विद्यार्थीलाई घरघरमा नै सञ्चारका माध्यमबाट ‘घरघरमा विद्यालय’ कार्यक्रम सञ्चालन गरी विद्यार्थीहरुलाई स्वास्थ्य तथा शैक्षिक दिनचर्या सञ्चालन गरिनेछ ।

३. नेपाल शिक्षक महासंघ गठन भएका पालिकाहरुमा संघका स्थानीय अध्यक्षले समन्वय गरी कार्यक्रम अगाडि बढाउने तथा गठन नभएका ठाउँमा नेपाल शिक्षक महासंघका सम्बद्ध आबद्ध घटकका पालिका अध्यक्षहरुलाई सम्पर्कगरी घरघरमा विद्यालय अभियान अगाडि बढाउने ।

४. घरघरमा विद्यालय कार्यक्रममा विद्यार्थीहरुलाई दैनिक समयतालिका अनिवार्य रुपमा निर्माण गर्न लगाउने . अभिभावकको सहयोगमा विषयगत अध्ययनका अलावा पारिवारिक सहयोग, स्वास्थ्य कार्यक्रम (व्यायाम, योगा, इन्डोर खेलकुद …) मनोरञ्जनका कार्यक्रम (शिक्षाप्रद फिल्महरु, साहित्य, कला,…. आदि) श्रव्यदृश्य तथा अध्ययन आदि समावेश गर्न सुझाब दिने ।

५. नेपाल शिक्षक संघका प्रदेश, जिल्ला र स्थानीय कार्यसमितिहरुले अनलाइन बैठकहरु गरी संघका प्रस्तावित परिपत्रलाई सक्रियताका साथ कार्यान्वयन गर्ने ।

समसामयिक सम्बन्धमा
१. नोबोल कोरोना भाइरस (कोभिड–१९) महामारी रोक्न लकडाउन विधि नै प्रभावकारी भएकाले संघका सम्पूर्ण सदस्यहरु क्रियाशील भई यसलाई सफल गर्नका लागि अनुरोध गरिन्छ ।

२. मुलुकको यस संगीन घडीको अवस्थामा महामारीसँग लडिरहेको अवस्थामा सरकारका केही व्यक्तिहरुबाट स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारका विषयहरु अत्यन्तै निन्दनीय रहेकोले उचित कारबारहीका लागि सम्बन्धित निकायलाई अनुरोध गरिन्छ ।

३.स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने उपकरणहरु (personal protection equipment-PPE) तत्काल उपलब्ध गराई आशंका भएका संक्रमितहरुको परीक्षण कार्य तीव्र गतिमा गरी क्वारेन्टाइन, आइसोलेसन र उपचारविधि प्रभावकारी बनाउन जोडदार माग गरिन्छ ।

४. लकडाउनको अवस्थामा सबै अस्पतालहरुले अन्य रोगका उपचारहरु नियमित रुपमा गरिनुपर्दछ ।

५.यस अवस्थामा न्यून आय भएका नागरिकको दैनिक दिनचर्या जीवनयापन गर्ने प्रबन्ध गर्नका लागि राज्यसँग जोड दार माग गरिन्छ ।

६. विभिन्न पालिकाहरुले आफूअनुकुल शिक्षकहरुसँग आर्थिक सहयोग मागिरहेको सन्दर्भमा शिक्षक संघको ध्यानाकर्षण भएकोछ । यस अवस्थामा राष्ट्रिय सहयोग कोषमा शिक्षकका तर्फबाट एकद्वार प्रणालीबाट संघीय सरकारले नै महासंघ (सबै आबद्ध सम्बद्ध संस्थाहरु) सँगको सल्लाहबमोजिम निश्चित दिनको तलब उक्त केन्द्रीय कोषमा जम्मा हुनेगरी कार्यान्वयन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई अनुरोध गरिन्छ ।

७. नेपाल शिक्षक महासंघले संस्थाकोमूलभूत सिद्धान्त र विधिपद्धतिबाट नभई एकांकी ढंगबाट हाल गरेका क्रियाकलापहरु प्रति नेपाल शिक्षक संघको गम्भीर ध्यानाकर्षण भएकोछ । यस्ता गतिविधिहरुलाई सच्याइ महासंघ लाई स्थापनाकालका मूलभूत सिद्धान्तहरुलाई अवलम्बन गरी सञ्चालन गर्न नेपाल शिक्षक संघले प्रथम भूमिका  निर्वाह गर्न कुनैपनि कसर बाँकी राख्नेछैन ।

२०७६ चैत्र २५ गते १८:५२मा प्रकाशित

प्रतिकृया दिनुहोस्