२०७६ चैत्र २५ गते

माइनस तापक्रममा एसइइ परीक्षाको तयारी गर्दै हुम्लाका विद्यार्थी

राजन रावत/हुम्ला

आगामी चैत्र महिनामा सञ्चालन हुने माध्यामिक शिक्षा परीक्षा(एसइइ) को तयारी गर्दै गरेका विद्यार्थीहरुलाई चिसोको सास्ती खेप्नु परिरहेको छ । पटक–पटक गरी लामो समयसम्म हिमपात हुँदा तापक्रम माइनस पुगेपछि बिहान बेलुका परीक्षाको तयारीका लागि ट्युसन कक्षा पढि रहेका विद्यार्थीहरुलाई चिसोले निकै पिरोलेको हो ।

बिहानै माईनस तापक्रममा एसइइको तयारीका लागि ट्युसन पढ्न निकै कठिन भएको आगामी परीक्षा तयारी गरिरहेकी मानसरोवर माविका विद्यार्थी सुनाम छैकित लामाले बताइन् । चिसोले थरथरी कामेर विद्यार्थीले तयारी कक्षामा अध्ययन गर्नु परि रहेको उनले सुनाइन् । बाक्ला खाले कपडा लगाएको भएपनि चिसो धेरै भएको तर पनि पढ्नै पर्ने बाध्यता रहेको छ । कठ्याङ्ग्रिदो जाडोमा थुरथुर शरीर कामेर पढ्न परिरहेको छ– उनले भनिन् ।

यता, सोही परीक्षाको तयारी गरि रहेका आनन्द ऐडीले पनि एसइइका लागि ट्युसन पढ्न हिमाली जिल्ला हुम्लाका विद्यार्थीहरुलाई निकै गाह्रो परिरहेको  बताए । नियमित पढाइ सकिएपनि अंग्रेजी, विज्ञान र गणित बिषय अध्ययनका लागि ट्युसन कक्षा पढ्नका लागि विद्यार्थीहरु विद्यालय जाने गरेका छन् । चिसोले ध्यान अन्त जाने भएको कारण कहिले काँही त पढेको पनि नबुझिने पनि उनी बताउछन् । कक्षा कोठा बाहिर सेताम्मे हिउँ भित्र चिसोमा पढ्न विद्यार्थीहरुको बाध्यता रहेको छ ।

१२० जना विद्यार्थीहरुलाई अंग्रेजी विषय अध्यापन गराइरहेका मानसरोवर माविका प्रधानाध्यापक समेत रहेका  अमर बहादुर शाहीले चिसोको कारण यस वर्ष विद्यार्थी र शिक्षक दुबैलाई कठिन भएको बताए ।

पटक–पटकको हिमपातले गर्दा दैनिक दिन माइनस तापक्रममा ट्युसन कक्षा सञ्चालन गर्नु परि रहेको र यसबाट शिक्षक र विद्यार्थी दुबै पक्षलाई सास्ती भएको उनले बताए ।

उनको विद्यालयमा बिहान र बेलुका गरी विद्यार्थीहरुले  तीन वटा विषयको ट्युसन अध्ययन गर्दै आएका छन् । घाम लागेको बेला त ठिकै भएपनि हिमपातमा निक्कै कठिन अवस्थामा पढाउनु परेको होे ।

यस वर्ष पटक–पटक गरि आठ पटक हिमपात भइसकेको छ । तापक्रम माईनस १७ डिग्रीसम्म पुगेको छ ।

यसमा न्यून आयश्रोत भएका घर परिवारका विद्यार्थीले झनै चिसोबाट सास्ती खेप्नु परि रहेको छ । सिमकोट कै अर्को बालमन्दिर माविमा अध्ययन गरिरहेका  विद्यार्थी र शिक्षकको अवस्था पनि खासै फरक रहेको छैन । यस पटकको एसइइ परीक्षामा हुम्ला जिल्लाबाट ८१२ जना विद्यार्थीहरुले सहभागिता जनाउँदै छन् ।

Comments: