२०७६ चैत्र २५ गते

चिसो भुइँमै पढाइ

अन्तैबाट

महोत्तरी । बिहानको ११ बजेपछि विद्यार्थीहरू एक हातमा किताब र अर्कोमा बोरा वा चकटी झुण्ड्याउँदै विद्यालय पुग्छन् । घाम लागे चौरमा र शीतलहर भए कक्षाकोठामा बोरा ओछ्याएर पढ्छन् । कोही त बोरा पनि नभएर चिसो भुइँमा नै बस्छन् ।

महोत्तरीको रामगोपालपुर नगरपालिका–७ स्थित जनजागृति आधारभूत विद्यालयको दृश्य हो यो । ३ सय ९० जना विद्यार्थीका लागि विद्यालयमा ४ वटा मात्र डेक्स र बेन्च छन् । सोही कारण विद्यार्थी चिसो भुइँमा बसेर पढ्न बाध्य छन् ।

नगरपालिकाभित्रका दर्जनौं आधारभूत विद्यालयको अवस्था यस्तै छ । विद्यालयमा न डेक्स–बेन्च छ न त पढाउने शिक्षक नै । बिहान विद्यालय खुल्ने समयमा विद्यार्थी र शिक्षक आइपुग्दैनन् । कतिपय विद्यालयको परिसरमा स्थानीयले बाख्रा बाँध्ने थलो बनाएको छ । जनजागृति विद्यालयमा भर्ना भएका विद्यार्थीको संख्या ठूलो भए पनि दैनिक हाजिर हुने न्यून छन् । विद्यालयमा मुस्किलले सय जना विद्यार्थी दैनिक रुपमा उपस्थित हुने गरेका छन् । विद्यालयमा शौचालय नहुँदा विद्यार्थी र शिक्षक शौचका लागि आफ्नै घरमा पुग्नुपर्ने बाध्यता छ ।

घर गएपछि शिक्षक वा विद्यार्थी फेरि विद्यालय फर्कंदैनन् । सो भेगका अधिकांश विद्यालयमा शिक्षक १२ बजे पुग्ने र २ बजे फर्किने गरेको स्थानीय रामनन्दन साहले बताए । समुदाय र स्थानीय सरकारको चासो नभएकाले विद्यालयलाई शिक्षकले तलब पकाउने ठाउँ मात्रै बनाएको साहको भनाइ छ । विद्यालयको सुधारमा विद्यालयका प्रअ, व्यवस्थापन समिति, अभिभावक र स्थानीय सरकार कसैको पनि चासो देखिँदैन । अभिभावकलाई आफ्नो बच्चा कति कक्षामा पढ्छ भन्नेसम्म पनि जानकारी छैन । आफ्ना दुई सन्तान स्कुल जाने गरेको भए पनि कति कक्षामा पढ्ने थाहा नभएको स्थानीय सरिता साहले बताइन् ।

विद्यालयका प्रधानाध्यापक सञ्जय कुमार मण्डलले स्थानीय सरकारले बजेट नदिएपछि विद्यालयको अवस्था सुधार्न नसकिएको बताए । कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा भवन अभावका कारण कक्षा ४ र ५ का विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउँदै आएको उनले जानकारी दिए । विद्यालयको अन्य आयस्रोत नभएकाले फर्निचरको पनि व्यवस्था गर्न नसकिएको उनको भनाइ छ । विद्यालयमा स्थायी दरबन्दी भएका शिक्षक प्रधानाध्यापक मण्डल मात्रै हुन् । अन्य ३ जना शिक्षक राहत कोटामा राखिएको छ । विद्यालयमा शिक्षक कम रहेको प्रअ मण्डलले बताए ।

विद्यालयको परिसरमा बाख्रा बाँध्ने थलो बनाउँदा समेत व्यवस्थापन समिति तथा प्रअ टुलुटुलु हेरिरहेका छन् । स्थानीयले दैनिक कुखुरा र बाख्रा विद्यालयको चौरमा खुल्ला छोड्ने गरेका छन्, जसले पढ्ने वातावरण पनि नभएको प्रष्ट देखिन्छ । विद्यालयको व्यवस्थापनमा काम गरिरहेको भए पनि भनेजस्तो सुधार गर्न नसकेको जनजागृतिका व्यवस्थापन समितिका अध्यक्ष श्रीचन महतोले बताए । विद्यालयमा कार्यालय कोठा, कुर्सी, टेबल, दराज केही नहुँदा विद्यालयका दस्तावेजसमेत सुरक्षित छैनन् । नगरपालिकाले आश्वासन मात्रै दिने गरेकाले सुधार गर्न नसकिएको अध्यक्ष महतोले बताए ।

नगरभित्र १८ वटा सामुदायिक विद्यालय छन् । नगरले चालू आर्थिक वर्षमा शिक्षामा ५० लाख बजेट छुट्याएको छ । नगर शिक्षा शाखा प्रमुख देव नारायण सिंहले विद्यालयहरूको भौतिक अवस्था अनुगमन र सुधार गर्न बजेट र कर्मचारी दुवै अभाव भएको बताए । नगर प्रमुख अशोक मण्डलले नगरभित्रका विद्यालयलाई नमुना बनाउने योजना भए पनि काम अघि बढ्न नसकेको स्वीकार गरे । अधिकांश विद्यालय व्यवस्थापन समितिमा विवाद रहेकाले काम नभएको उनको दाबी छ । समितिले आफ्नो मान्छेलाई शिक्षक बनाउन मात्रै काम गरेकाले विद्यालयमा अरु सुधार हुन नसकेको मण्डलले बताए ।

समिति, अभिभावक र स्थानीयले विद्यालय सुधारको जिम्मेवारी नलिएसम्म विद्यालयमा लगानी गर्न नसकिने उनको भनाइ छ । नगरभित्रका जनता आधारभूत, सोनामाई, युवा प्रावि लगायत धेरैजसो विद्यालयको भौतिक पूर्वाधारको अवस्था कमजोर छ । विद्यालय केवल विद्यार्थीलाई भुलाउने र तलब पकाउने थलो मात्र बनेको छ ।

सुनिता बरालले कान्तिपुरमा खबर लेखेकी छन् ।

Comments: