२०७६ भदौ २९ गते

पढाइ सकेर पाडापाडी पाल्न लेकतिर

अन्तैबाट

पर्वत । उच्च शिक्षा अध्ययनपछि धेरै युवाको रोजाइमा सरकारी जागिर या वैदेशिक रोजगार पर्छ । त्यो नभए हैसियतअनुसारको लगानी गरेर व्यवसाय । मोदी गाउँपालिका–३ देउरालीका २३ वर्षीय सुजित खड्काको हकमा भने यी केही लागू भएनन् । पढाइ सकेर उनी भैंसी पाल्न लेक उक्लिए ।

 

उनले दुई वर्षअघि वाणिज्य शास्त्रमा स्नातक गरे । परिवारको आर्थिक पृष्ठभूमि राम्रो छ । बाबु रणबहादुर छोरा सुजितलाई ब्रिटिस लाहुरे बनाउने योजनामा थिए । त्यसका लागि उनले पोखराका विभिन्न तालिम केन्द्रमा राखिदिए ।

सुजितको सपना भने अर्कै थियो । सानै उमेरमा सुजितले भैंसी ब्याउने बित्तिकै पाडापाडी बेचेको देख्थे । जन्मिनासाथ पाडापाडी किन बिक्री गर्छन् भनेर खोज्दै जाँदा एकदिन पाडो काटेको देखे । यसले उनलाई चसक्क छोयो । ‘त्यो घटना हुँदा १२–१३ वर्षको थिए,’ सुजितले सम्झिए, ‘घटना आजैजस्तो लाग्छ । आङ जिरिङ्ग हुन्छ ।’

जन्मिएका पाडापाडी काट्ने र कटाउने परम्पराको बाल्यकालमा विरोध गर्न सकेनन् । ‘पोखराबाट छुट्टीमा घर आउँदा पाडापाडी कहाँ बेचिन्छन्, किन काटेर खाइन्छन् भनेर लुकिलुकी नियाल्थें,’ उनले भने, ‘पढाइ सकेर गाउँ गएपछि पाडापाडी जोगाउने अठोट लिएँ ।’
स्नातक सकेर गाउँ फर्किए ।

सुजितले आफ्नो अठोट बाबुलाई सुनाए । घरदेखि एक किलोमिटर माथिको फलाँटेडाँडामा चरन क्षेत्रमा पाडापाडी पाल्ने बताए । सुरुमा बाबुले झपारे । ‘यस्तो के गर्न लागेको भनेर रिसाएर गाली गरे,’ रणबहादुरले भने, ‘निकै मार्मिक भएर आफ्नो अठोट सुनायो । पछि उसको इच्छा मर्न दिनु हुँदैन, आखिर काम पनि नराम्रो होइन भनेर साथ दिएँ ।’

सुरुको वर्ष जग्गा छनोट र व्यवस्थापनमा बित्यो । गत वर्षदेखि गाउँका पाडापाडी संकलन गर्न थाले । पोहोर ११ पाडापाडी भेटिए । एउटा माउ भैंसी पनि ल्याए । माउ भैंसीको दूध पाडापाडीलाई खुवाउन थाले । अहिले नौ पाडापाडी र एउटा दुधालु भैंसी थपेका छन् । ‘लैना पाडालाई केही दिन दूध खुवाउनुपर्छ,’ सुजितले भने ।

गाउँभरि पाडापाडी कटहीमा नबेच्न उनी आग्रह गरिरहेका छन् । भर्खरै जन्मिएको पाडो वा पाडी उनले एक हजार रुपैयाँमा किन्छन् । ‘भैंसीको भाउ डेढ लाखसम्म पुगेको छ । जन्मिएका पाडापाडी कटहीमा बेचेर नै यस्तो भएको हो,’ उनले भने ।

उनका अनुसार हजारमा खरिद गर्ने पाडापाडी काटेर खानेले १२–१५ सयसम्म दिएर बीचैमा टप्काउने गरेका घटना पनि छन् । ‘मान्छेहरू अनौठा छन्,’ उनले भने, ‘मैले हजारभन्दा दिन्न भनेपछि काटिखानेले १२ सय दियो भने उतै बेच्छन् । यसले आफैंलाई असर गरेको कुरा भैंसी पाल्नेहरूले बुझ्दैनन् ।’

चरन क्षेत्र विस्तार गर्दै कम्तीमा ५० पाडापाडी हुर्काउने उनको लक्ष्य छ । हरेक सिजनमा ५० वटाका दरले पाडापाडी हुर्काएर बेच्न सके गाउँमा भैंसीको अभाव नहुने र आम्दानी पनि राम्रै हुने उनले बताए । अहिलेसम्म २० लाख लगानी गरेका छन् । व्यवसाय व्यवस्थित गराउन फलाँटे, भँवरकोट, डाँडाकमेरेलगायत छुट्टाछुट्टै ठाउँमा करिब दुई सय रोपनी चरन क्षेत्र किनेका छन् ।

गत वर्ष ‘भँवरकोट पाडापाडी संरक्षण तथा पशुपन्क्षी फार्म’ दर्ता गरेका छन् । परीक्षणका लागि तराईमा पाइने मुर्रा जातका दुई पाडा पनि ल्याए । स्थानीय लिमे र पाराकोटे जातका पाडापाडी जम्मा गरेका छन् । पाडापाडीको हेरचाह र स्याहारका लागि तीनजना सहयोगी राखेका छन् । उनीहरूको पारि श्रमिकमा मासिक ५० हजार खर्च हुन्छ । रातको समयमा हेरचाहका लागि दुइटा कुकुर पालेका छन् । ‘अहिलेसम्म एकोहोरो खर्च मात्रै छ,’ सुजितले भने, ‘अर्को वर्षदेखि आम्दानी हुने देखेको छु ।’

अगन्धर तिवारीले कान्तिपुरमा खबर लेखेका छन् ।

Comments: