२०७६ कार्त्तिक २६ गते

अहिलेको शिक्षक विज्ञापनलाई ऐन अनुसारको 'पहिलो विज्ञापन'मा रुपान्तरण गर्न माग


काठमाडौं । अहिलेको शिक्षक विज्ञापनलाई 'पहिलो विज्ञापन' मान्दै परीक्षाका लागि भरेका फारम कायम राख्न माग गर्दै शिक्षक सेवा आयोगमा निवेदन परेको छ ।


प्रभात माविका सूर्य प्रसाद तिवारी, जनप्रभात माविका शरदकुमार मिश्र र ज्ञानोदय मावि बाफल काठमाडौंका अस्थायी शिक्षक गोविन्द भण्डारीले आयोगमा निवेदन दर्ता गराएका हुन् । उनीहरुको निवेदन आयोगमा ८४५ नम्बरमा दर्ता भएको छ ।


निवेदनमा शिक्षा ऐन २०२८ को २०६३ को संशोधनको दफा ११ च को थप गरिएको उपदफा (१क) ले 'पहिलो विज्ञापन'को व्यवस्था गरेको साथै, शिक्षा मन्त्रालयले सर्वोच्च अदालतमा २०७४ जेठ ९ गते पठाएको जवाफीपत्रमा 'पहिलो विज्ञापन' हालसम्म नभएको भनी स्वीकार गरेकाले अहिलेकै विज्ञापनलाई 'पहिलो विज्ञापन' मान्दै परीक्षाका लागि भरेका सबै फारमहरुलाई कायम राख्न माग गरिएको छ ।


मन्त्रालयले 'पहिलो विज्ञापन' नै नभएको भन्दाभन्दै आयोगले सर्वोच्च अदालतमा 'पहिलो विज्ञापन' भइसकेको भन्ने जवाफ पठाउँदा यस सम्बन्धी मुद्दाले निरन्तरता नपाएको समेत निवेदनम जिकिर गरिएको छ ।


ऐनमा पहिलो विज्ञापनमा प्रतिस्पर्धा गर्नका लागि तालिम, लाइसेन्स र शिक्षा विषय नचाहिने व्यवस्था हुँदा हुँदैपनि आयोगले परीक्षाका लागि भरेका फारमहरु नै रद्द गर्ने नियमविपरीत चेष्टा गरेको भन्दै उनीहरुले परीक्षाका लागि भरेका सवैखाले अस्थायी शिक्षकहरुलाई परीक्षा दिनबाट बञ्चित नगर्न आग्रह गरेका छन् ।


२०६९, २०७१ र २०७२ मा आयोग खुलेपनि त्यसमा ०६३ अघिका दरवन्दी रिजर्भ राखिएकाले त्यसलाई 'पहिलो विज्ञापन' मान्न नसकिने निवेदक सूर्यप्रसाद तिवारीले जानकारी दिए ।


ऐनअनुसार सवै अस्थायी शिक्षकहरुका लागि खुलेको पहिलो विज्ञपन भनेको यही हो –तिवारीले भने पहिलोपल्ट र अन्तिम पटकका अवसरको रुपमा खुलेको विज्ञापनमा विभिन्न बहानामा अस्थायी शिक्षकहरुलाई परीक्षामा सहभागी हुनबाट रोक्न मिल्दैन ।


सबै अस्थायी शिक्षकहरु एकै प्रकारका भएकाले सबैलाई समान रुपमा व्यवहार गर्दै परीक्षाको मौका दिनुपर्ने अर्को निवेदक शरदकुमार मिश्रले जानकारी दिए । प्रतिशत, समयसीमा र प्रकारमा अस्थायी शिक्षकहरुलाई विभाजन गर्नु भनेको संविधान विपरीत हुने उनले दाबी गरे ।


परीक्षाका लागि फारम भरेका सवै अस्थायी शिक्षकहरुलाई परीक्षाको मौका दिनुपर्ने बताउँदै ज्ञानोदय मावि बाफलका अस्थायी शिक्षक गोविन्द भण्डारीले अहिलेको विज्ञापनलाई नै ऐनले व्यवस्था गरेको 'पहिलो विज्ञापन'मा रुपान्तरण गर्नुपर्ने जिकिर गरे ।

 

Comments: