२०७६ भदौ ३० गते

शिक्षकको विद्यार्थीलाई पत्र : तिमीले सिक्ने र मैले सिकाउने प्रक्रियामा तालमेल हुन सकेन

सुरज लम्साल


प्रिय विद्यार्थी
सर्वफलताको कामना
केही दिनदेखि तिमीसँग भलाकुसारी गर्न मन लागि रहेको थियो । त्यो समय आज जुराएको छु । तिमीसँग अनि तिमी जस्तै विद्यार्थीहरूसँग निकट बनेर तिम्रो मुहारमा खुसी छाउँदा आफू पनि खुसी भएको र तिम्रा चेहरामा उदासिनता देखिँदा आफू पनि उदास बनेको एक दशक वितिसकेछ । यी एक दशकका पानाहरू पल्टाएर हेर्दा तिमीसँग विताएका क्षणहरू एकाकार भएर आउछन् अनि यो मनलाई उद्वेलित पारिदिन्छन् । भावनाका टुक्राहरू छरपष्ट बनिदिन्छन् । कति कुराहरूका हेक्का हुनासाथ आफैँ गर्वान्वित बन्न पुग्छु त कति घटनाहरूको याद आउनासाथ आफैँलाई तिरस्कृत ठान्न पुग्छु ।


तिमीलाई सिकाएर ठुलो मान्छे बनाउने सपना लिएर तिमीसँग सहकार्य गर्न होमिएको मैले के कति सिकाउन सकें वा सकुँला । ठुलो मान्छे बन्ने तिम्रो इच्छाशक्ति अनि प्रयत्नमा हौसलारूपी ईंट्टा कति थप्न कति सके वा सकुँला त्यो त तिमीलाई नै थाहा होला र हुने छ । त्यसको मूल्याङ्कन तिमीले अवश्य नै गरेका छौ र गर्ने पनि छौ । तर मैले तिमीबाट धेरै सिकेको छु । अझ धेरै सिक्ने पनि छु । यो सिकाउने वाहनामा सिक्ने अवसर मैले पाएको छु र पाइरहने पनि छु । यो क्रम चलिरहेछ र चलि पनि रहने छ । त्यसले त म तिमीप्रति धेरै धेरै आभारी छु ।


प्रिय विद्यार्थी तिमी जुन उद्देश्य पुरा गर्ने अभिलाषा बोकेर विद्यालयमा आएका हुन्छौ त्यो उद्देश्य पुरा गराउनमा मेरो भूमिका धेरै हुनु पर्थ्यो र हुनु पनि पर्छ नै। तिम्रो उद्देश्य र मेरो सिकाउने शैली बीचमा तालमेल हुनुपर्थ्यो अनि भईरहनु पनि पर्ने छ । तिमीले सिक्ने र मैले सिकाउने प्रक्रियामा तालमेल हुन सकेन भने तिमीले देखेको सपना अनि सपना पुरा गर्ने तिम्रो अठोटहरूमा ठेस लाग्न सक्छ; तिम्रो भावी जीवनको भाग्योदयमा कसी लाग्छ सक्छ; तिमी पुग्ने गन्तव्यमा अवरोधका रेखाहरू देखिन सक्छन् । त्यसैले म चाहन्छु कि हामीबिचको तालमेलले तिम्रो जीवनमा एक रति पनि समस्या नआओस् । म तिम्रा चाहना अनि भावनाहरूलाई सम्मान गर्दै तिम्रो अन्तर्निहित प्रतिभालाई माथि उठाउन चाहान्छु ।

तिम्रो मुहारमा मुस्कान छर्दै मस्तिष्क भरि सहज जीवन चलाउन सक्ने आत्मविश्वासी सीपयुक्त ज्ञान भर्न चाहन्छु । तिम्रा मन भरि उब्जेका जिज्ञासालाई विना झर्को मानेर आफ्नो कर्तव्य ठानेर मेटाउने विश्वास दिलाउन चाहन्छु । अहिलेको विश्व परिवेशमा आधुनिकताले ल्याएका अत्यावश्यक प्रविधिको प्रयोगद्वारा सहज र सरल तवरले दिगो सकाइमा सहजीकरण गर्न चाहन्छु । तर तिनै आधुनिकताको नाउँमा भित्रिएका नकरात्मक पक्षहरूमा तिमी कहिल्यै नफस्ने आग्रह सहितको सद् विचार तिमीमा जागृत गराउन चाहन्छु ।


प्रिय विद्यार्थी
तिमीलाई मैले मेरा भावनाहरू सुनाउँदा अनि तिम्रो सिकाइका खातिर तिमीलाई यी शब्दवाणीहरू सुनाउँदा केवल भावनाका पोकाहरू मात्र लाग्न पनि सक्लान् । तर यी मेरा भावनाको पोकाहरू होइन अनि मनोबिम्ब मात्र पनि होइन । यो त मेरो शिक्षण पेशाप्रतिको दायित्व र त्यस दायित्व पुरा गर्ने अठोट पनि हो । तिमीलाई सक्रिय उर्जाशील मेधावी नागरिक वा सामाजिक अगुवा बनाउने आत्मविश्वास पनि हो । तसर्थ तिमीलाई एक होनाहार युग पुरूष बनाउन मैले माथि प्रस्तुत गरेका धारणाहरूमा तिमी सहमत हुनै पर्छ; तिमी स्वयं सक्रिय बन्नै पर्छ । तिमीले आफूले आफैँलाई आत्मैदेखि म असल पात्र भन्नै पर्छ । तिमी सफलताको शिखर चढ्नलाई आजैबाट मिहिनेतको सोपान चढ्नै पर्छ ।


प्रिय विद्यार्थी तिमीलाई यहाँ बसी रहँदा मनमौजी बोल्न मन लाग्छ; मैले विषयवस्तुको वर्णन गरिरहँदा तिमीलाई साथीसँग खुसुखुसु गर्न मन लाग्छ; एकआपसमा भलाकुसारी गर्दा आनन्द लाग्छ । दुई शब्द लेख्नु भन्दा पनि दुई कुरा बोल्नुमै स्वाद लाग्छ । केही तर्क सुन्नु भन्दा पनि कुतर्क गर्न मै मज्जा लाग्न सक्छ । तर त्यसले तिमी फाइदा गर्ला र ? के तिम्रो सिकाइले ठोस आधार पाउला र ? तिम्रो बौद्धिकताको विकास होला र ? तिम्रा प्रतिभाहरूले फल्ने र फुल्ने मौका पाउला र ? अनि मैले मिहिनेतका साथ गरेको प्रस्तुतीकरणले सार्थकता पाउला र ? यी र यस्ता यावत प्रश्नहरूको उत्तर तिमीले आफैँले आफैँलाई सोधी हेर त जवाफ आफैँ भित्र पाउने छौं मैले यो कदापि ठिक गरेको छैन भनेर; अनि पक्कै पनि सोच्ने छौ;अबदेखि यस्तो कहिल्यै गर्दिनँ भनेर । त्यसैले प्रिय विद्यार्थी तिमीले मेरो अनि मैले तिम्रो कदर गर्नै पर्छ ।

एकले अर्कोलाई विश्वास गर्नै पर्छ । तिमीमा क्षमता छ; तिमीमा प्रतिभा छ; तिमी भविश्यमा उज्ज्वल नक्षत्र बन्न सक्ने सम्भावना छ; तिमीमा आफैँ अनि सारा दुनियालाई रूपान्तरण गर्न सक्ने शक्ति छ; तिमीमा तिमीले चाहे आफुले आफैँलाई सर्वोत्कृष्ट प्रमाणित गर्न सक्ने मस्तिष्क छ । त्यसैले तिमी संयमित बन । अनुशासित बन । सदाचारी अनि मिहिनेती बन । त्यसो गर्यौ भने तिमी महान् बन्ने छौ । तिम्रो महान् बन्ने उद्देश्यमा मेरो साथ हुनेछ । सहयोग हुनेछ । म तिम्रो समस्या समाधानमा सदैव तत्पर रहने छु । तिम्रो उज्ज्वल भविष्यको निम्ति आफ्नो क्षमताले भेटे सम्म लागि रहने छु । अन्त्यमा मेरा यी भनाईलाई आफ्नै लागि ठानी दिनु । यो शिक्षक मेरो सिकाइका खातिर चिन्तित छ भन्ने जानी दिनु । सदैव मेरो अनुरोध स्वीकारी दिनु । अहिलेलाई विदा चाहन्छु । उही तिम्रो सदासदा उन्नति होस् भन्ने अनि उडि एक चन्द्र छोओस् भन्ने इरादा राख्ने शिक्षक सुरज लम्साल जनज्योति मावि भिमाद-६ तनहुँ।

 

Comments: