२०७६ भदौ ३० गते

निबन्ध : स्वाभीमानको शोकगीत

पेशल आचार्य


   पेशल आचार्य

 
    यतिखेर म अलमलमा छु । समूहीकृत भावोपभावमा रोलकोल गर्दै इमानको हारमय कोरस गाऊँ कि, उच्चाटलाग्दा स्वरलहरी मिसाएर स्वाभीमानको एकल शोकगीत ? भावनागाङ्गेय सुकोमल गीतहरूले त जहिल्यै मानिसका मन शिखरका सन्तापमय उँधौली उँभौलीहरूलाई सुसम्बोधन गर्नु पर्ने हो । मिहीन सङ्गीतले झन् दुःखैदुःखका पत्रे चट्टान र सुखैसुखका मधुरम अजस्र सिम्फोनीहरूलाई बेमिसाल तरङ्गमा झक्झक्याउनु पर्ने हो तर कसोकसो सकिरहेका छैनन् । छरिएका घटनाको सरहद भित्रै इतिहासले घुँडा जोतेर ठड्याएका धरोहरहरूलाई हामीले नवोन्मेषी हर्षानुभूतिको धपेडीमा जानी नजानी धूलीसात बनायौं । प्राची संस्कृति अपचलन गरेका बेहद् खुसीयालीमा अझ उत्तुङ्ग नाँच नाच्दै इमानको मैजारो ग¥यौं । विचारको छेकारो मारेर कहीले आमाको मनितोको ख्यालसम्म नगरी एकताको दोसल्लालाई चिथ्राचिथ्रा बनाएर आफल्यौं । बहुधा बन्धुका अश्रु तप्क्याउने नयनाभिराममा गजबार हालेनौं । नसक्ने भारी बोक्यौं । घोकेर नतुरिने पाठ पढ्यौं ।


    हर्षका ब्याडहरू कोपभाजनका सिकार भएकैले होला नवीन वर्तमान प्राप्तिको आशौचमा नैरन्तर बरखी बारिरहेको छ । विगत हामीसँग गुरुभेटी माग्छ कि भन्ने डरले अनुभवको सारस्वरलाई किनारीकृत गर्दै बिर्सने उद्योग गर्दैछौं । परिणामतः समयमा यतिखेर चौतर्फी चिलासा लागेको छ । इमानका दुर्गहरूमा मुच्का लागेका छन् । इज्जतका नगहरू आरोहण गर्न नसकी चौतर्फी रूपमा मानिसहरू झुण्डझुण्डमा सलहका हूलझैँ मातृभक्षी माकुराका अनुजझैँ गड्यौंला रूपाकृतिमा सल्बलाएका छन् । अहिले मानिस पूर्ण मानिस बाँच्न सक्ने हैसियत गुमाउँदो छ । ससाना नानीहरू मिठो निदरीमा सुस्ताएकै बेला करेँसामा जताततै कैफियतका हाप्सिलाहरू कराएका छन् । दु्न्दुभी बजाएर पर्यावरण नै कोहराम भएको छ । कोलाहलले हलाहल विष वमन गरेको देखेर मुमुक्षु शान्तिको त्राण पाउन नसकिरहेको अवस्था विद्यमान छ ।


    आनन्दको विरामबाहेक धेरै थोक अविराम चलेका छन् । अविचल गतिमा चलायमान छन् ।
==========================


    ऐरावणका हैहुकुम चलेकाले रामहरू निद हराम भएर कि त इज्जत आमद जोगाउन सुदूर कन्दारामा बास बसेका छन् कि घरका लागि घरबाहिर भन्दै हिँडेका छन् । घर घर जस्तो छैन । देश देश जस्तो पनि रहेन । दुःखको कुरा घरदेश र परदेश कतै पनि रामका लागि सुरक्षित अवतरण हुन सक्ने परिवेश विद्यमान छैन । इतिहासको राम अध्योध्याबाट नेपालीय अरण्यका वनपाखा हुँदै सीता हरणलाई फर्काउन लङ्का गए । अहिलेका राम (बहादुर, प्रसाद र राज सबैसबै) हरू नैऋत्यिक मुलुकमा आफ्नै देशको वनपाखामा सुनिने लोक गीतका स्थायीहरू इयर फोनमा सुन्दै मजारेमा खुनका आँसु बहाएर खबुज खाँदै छन् । देश उसका लागि अभिभावक त हुन सकेन सकेन । भाषा र संस्कृति पनि उसैका लागि सगोत्री भावमा प्रस्तुत हुन सकेनन् । उसले संजोगमा जन्मिने अवसर पायो अनि भाग्यले हुर्कने । रोगहरूका नद नदीमा हेलिँदै कहिले बाँकटे हान्दै कहिले चुर्लुम्म डुब्दै ऊ साबालक भयो । जब ऊ साबालक भयो अनि राजनीतिका काँसेघारीमा अनेक हाँच औ साइजका ठेकेदार र कट्किन्दारहरूले स्वयम् सेवकको बिल्ला भिराएर सगौरव विविध स्वार्थान्धताका लेबलहरू टाँस्ने अनेकानेक यत्नहरू गरे ।


    आमा हँसाउने प्रयत्नहरू केबल बलेँसीका पानीफोका सावित भए ।
===============


    उसका ओठमा जुँगाका रेखी पनि राम्ररी बस्न पाएनन् । कतिले उसलाई भरिया बनाउन खोजे । कतिले हुक्के, बैठके र ढोके बनाए । उसलाई देशको चिन्ता थियो । परिवारिक सदस्यलाई दुई छाक मिठोमसिनो खुवाउने सपनाका लागि ऊ चिन्ता चिन्तन सँगसँगै गर्दथ्यो । ठाँटबाँट र देखासिकीका वर्णमालाहरू तथा लप्पनछप्पनका व्याकरणहरू उसले न विद्यालयमा सिक्न पायो न पुस्तकालयमा पढ्न नै । सरासरी र खराखरी पढ्दै उमेरका सिँढीमा चढ्दै जब ऊ बालिग भयो तब उसले देशबाट आफ्नो, परिवारको र भविष्यको राशिफलमा फलिफापका सट्टा श्राप लागेको भेउ पायो । यसैबीच सरक्कै मौन विद्रोहको ध्वजा हृदयाकाशमा फहराउँदै अन्ततः ऊ आफ्नो अतीव प्यारो देशबाट बाहिरयो ।


    मरेको थिएन ऊ त्यसैले उसलाई समवेदना दिने मानिसहरू पनि भएनन । अधमरो थियो किन्तु बाँचेको अभिनयमा रहनुका सन्तापले इच्छाका तारेख पर्चाहरूलाई पट्याउँदै ऊ हिँड्यो अनाम कामको श्रमिक भएर । फकिनु, ढाँटिनु, र गुमनाम पारिनु उसका सगोत्री भोगाइहरू नै थिए । अतः अनाम वेषभुषा र भाषा भएको कुनै दूरदेशमा मुक दोपाया पशुझैँ डोहो¥याइयो ।  


    यसरी नै ऊ र ऊजस्ता ‘ऊहरू’ देशका उच्चाट लाग्दा सुदूर भूगोलबाट, वैविध्य संजातबाट र पृथक्पृथक् रहनीबाट जेट चढेर भुरूरूरू छिचीमिरा उडेझैँ उडे । बत्तीए –दक्षिणैदक्षिण । रोक्ने र सान्त्वनाका मल्मम लगाउने कोही भएनन् –उसलाई । सिण्डीकेटको साम्राज्यमा उसले जब आफ्नो घर करेँसामा आफ्नो रङ्गीन भविष्य देखेन अनि चुप लागेर गाउँको गैरीखेत साहूलाई जमानी राखिराखेर उडेको हो । सानैमा जब काँक्राफर्सी रोप्ने बेलामा क¥याङ्कुरूङ्हरू लश्करै भएर उत्तराभिमुख भई नीलाकाशमा स्वच्छन्द र बेलगाम उडेको देख्थ्यो तब उसका मनका पोखरीमा पनि बेरोकटोक अनेकानेक छिचीमिराहरू उड्दथे । ऊ कल्पनका लागि भए पनि कल्पन्थ्यो । काश ! चराजस्तो हुन पाए ? कहाँबाट आएका होलान् यतिविधि खेचरहरू ? कहाँ होलान् यिनेरूका गन्तव्यहरू ? मानिसका झैँ यिनीहरूका पनि घर, परिवार, समाज र देश हुन्छन् होला हगि ?


    यी र यस्ता प्रश्नहरू उसले बालवयमा कहीँ कसैलाई सोध्न पाएन । सकेन ।


    विद्यालयमा यस्ता अग्र्यानिक प्रश्नहरू सोध्ने उसलाई सुविधाहरू भलिभाँती थिएनन् । कारण मास्टरहरू मास्टरजस्ता थिएनन् । ती बबुराहरू कहाँ पढेका प्रश्नका छापावाल उत्तरहरू मात्रै थिए । जो पाठ्यपुस्तकका चौहद्दी भित्र सीमित चौपाया भेष र आकृतिमा स्यालुट मार्दथे । आफूले नपढेका प्रश्नका उत्तरहरू थिएनन् । पाण्डुलिपि तिनीहरूका बर्कत बाहिरका यमानका शक्ति थिए । बलात्रूपमा सहजै भन्दथे –‘अनुशासित होऊ, पुस्तक पढ र होमवर्क गर ।’ कक्षा उत्तीर्ण भएर खुरूक्क स्थानान्तरण प्रमाणपत्र लिएर अर्को संस्थामा जाऊ । बाहिरका सूचना र ज्ञान सिकाउने पुस्तकका ठ्यासफूले उसलाई कहिल्यै आफू भित्रको विशाल संसार चिहाएर हेर भनेन । मास्टरजीहरू कोर्सबाहिर हुत्तिने विद्यार्थीलाई एलियन वस्तीबाट आएको नवागन्तुक प्राणी ठान्थे । औपचारिक प्रमाणपत्रका दलदलमा ऊ कहिले भासिँदै, कहिले निसासिँदै कक्षाहरू चाहारेर चढिरह्यो जसरी ठूलो अट्टालिकाका माथिल्लो चोटा कोठामा जान मानिसहरू सिँढी र लिफ्ट चढ्छन् ।


    पार्थक्य खोजेको थियो –उसले । विडम्बना मास्टरजीले उसलाई मास्टरजीजस्तै बनाइदिए । आफैँ जस्तो बन्न अभिप्रेरित त गरेनन गरेनन । गूढ, गम्भीर र मौलिक बन्न समेत दिएनन् ।


    भाव, अभाव र प्रभावले नै मानिस मौलिक हुने रहेछ । दुनियाँको कुनै विश्वविद्यालयमा सिकाइएको अपार ज्ञानभन्दा खाली खल्ती र खलाँतीजस्तो पेटले नै दुनियाँ बुझ्न सिकाउँदो रहेछ । अभावले नै भावका नदीहरू तर्न सिकाउने रहेछन् ।    


    उसले रानारूनी सत्यलाई छाम्न खोजेकै हो । पहाडी प्रकृतिका माझमा गुराँसीय साम्राज्यमा हराएर पेष्टिसाइट नहालिएका वनफूल र अजिनो मोटो नघोलिएका वन फललाई भोकको तिजोरीमा राखेर भलिभाँती चपाइरह्यो, खाइरह्यो । नदीहरू किन यसरी आज्ञाकारी भएर बगिरहन्छन् ? दृगले नभ्याउन्जेल दृढ रहेका पर्वतीय शृङ्खलाका वृद्ध अझ वरिष्ठ नगहरू किन यसरी सभ्यताका पहरेदारी गरिरहन्छन ? चराका, फूलका, निर्झरका, कन्दराका, खोल्सीका भाव र भाषाहरू कसरी सिक्ने ? कस्तोगरी प्रत्युत्तर गर्ने भन्ने भङ्गीमाका आखेट प्रश्नहरू उसले न आफ्ना हाँचका दयाँली मिल्ने साथीलाई सोध्नै पायो न त स्कुल कम्पाउण्डका कक्षा कोठाभित्र बसेर अध्यापकलाई नै सोध्न सक्यो । सोध्नु पाप हुन्थ्यो ।


    ऊ चाहन्थ्यो घ्राणशक्तिको विकास गरौं तर मास्टरजीहरू घोकन्ते मिजासले दुनोटका पहाडाहरू रट लगाउन भदन्थे । ऊ चाहन्थ्यो मजलिसका कथा र ‘दामल’का गाथालाई मनका आँखाले देख्ने गरी बुझ्न पाऊँ । ऊ खोज्थ्यो फूलका किल्लोरीमा पुतलीका हूलहरू किन र कसरी लोभिएका हुन् ? तर कसैले पनि उसका यस्ता प्रश्नलाई सोध्ने मौकै दिएनन् । उत्तर पाउन उसले कि औँसीपूर्णे एकै भएको तिथि पक्रनु पथ्र्यो । कि त उसले दिनका ढोका र रातका चोटालाई उघारेर सन्धानको फालकभित्र पस्नु पर्दथ्यो ।


    स्कुल छोड्यो । स्कुलसँगै उसका तपसिलका साथीहरू, तदनुरूपका दालरोटी पकाउने र भृतक अध्यापनमा रमाउने मास्टरजीहरू पनि पथिक झैँ छुटे । प्रश्नका नागबेली लहराहरू स्कुलका चौघेराहरू मै छोडिराखेर उसले जीवनको व्यवहार विश्वविद्यालयमा पाइला राख्यो । आमा थिइन उसकी आदिम र पश्च अध्यापिका जहाँ अकण्टक प्राश्निक बनेर उसले तिनैको लाम्टा चुसेको थियो । लोरीका गैरीखेतमा चहार्दाचहार्दै उसका बालापन बितेका हुन् । चिँमुसी चीँले उसलाई युवावस्थाको छनक दिएको हो । त्यसरी नै बिते दिनहरू जसरी अदालतमा मुल्तवी भएका मुद्दाहरू कारिणीको उजुरी पछि पुनःपुनः बिउँतिने गर्दछन् । दिनहरू रेसमा कुदेका अरबी घोडा झैँ भएर बुकुर्सी मार्दै रहे ।


    खुसीका साम्राज्यमा पाइला टेक्न पाउँदा नपाउँदै उसलाई एकलग गरी खानु पर्ने जिम्मेवारीका पहाडले ह्वात्तै जब थिच्न थाले अनि जीवनका इकारलाई दुःखका किम्वदन्तीमा सारस्वर सहित पढ्न लागेको हो । जीवन नामको विद्यालयमा कुनै पनि गुरु नहुने, आफैँ आफ्नो कक्षाको मनिटर हुनु पर्ने, जिज्ञासा पाठ्यक्रम र भोगाइ नै परीक्षा हुने कुराको गूढ अन्तर्य जब उसले भेउपत्तो पायो अनि उसलाई आफ्नो जीवन रातोमाटे रोगनमा सुवाषित भएको ठान्यो ।


    जिज्ञासालाई बेलुनमा फुकेर उसले जब साथीहरूका माझमा उभिएर पृथ्वीलाई भकुण्डो ठानी फुत्त अन्तरिक्षमा फेँक्ने काल्पनिक जलपको रूनुझुनुमा कहिले चङ्गा चेट भएको पायो । कहिले नदीका तीरैतीर माछा पक्रने बाल लालसामा चेपागाँडालाई माछाका भुरा भनेर बेमिसालसँग कुद्यो । भन्ने कोही भएनन् उसलाई –‘ए ! नकुद । त्यसरी माछा पक्रन सजिलो छैन । भ्यागुताले तेरो गोरखधन्दा चल्दैन ।’ समयले फुकेको ह्विसिल नै उसका लागि मार्गण भयो ।


    खानदान त थिएन नै –ऊ । नादान भएर उसले नपाउनु दुःख पायो । रिस र सिफारिस उसका जीवनमा कहिल्यै सगोत्री भएर आएनन् बरा ! कर्मकाण्डका अपसव्यीय चाल र छालले उसलाई जहिल्यै हुत्याए नदीका बगरमा पुग्ने गरी परपर । हारेन उसले । हार्नु एक प्रकारले मर्नु हो भन्ने उसको जीवनको गीताज्ञान थियो । उसले कोर्स बाहिरका पोथीमा पढेको थियो –‘संसार जितेको मानिस घरमा हार्छ । जस्तो दुःख परोस् त्यो समयले नै टार्छ ।’
===============


    मानिस मान्न सक्छ तर जान्न सक्तैन । बुझ्न सक्छ तर सिक्न सक्तैन । जीवनभरि हाडघोटेर पनि मानिसले सिक्नका लागि आफूलाई लगाइरहनु पर्छ । तप्किएको थोपोले नै ढुङ्गामा प्वाल पार्छ । नदी पनि अविश्रान्त बगेरै सिन्धुमा पुग्ने गर्छन् । सिकेका भनिएका सबैसबै अनुभूतिहरू दृष्टिविहीन (आजकाल त दृश्यविहीन) ले हात्ती छामे झैँ हो । एकाङ्गी ज्ञान । आफ्ना तर्फबाट सव्य अर्कातिरबाट अपसव्य ।


    रहरका तिजोरीहरू त्यस्ताहरूका लागि मात्र साक्ष्य हुन्छन् जसका लागि जीवनभर आमाका होटल र बाबुका लजहरू फ्रिमा उपलब्ध हुन्छन् । अनि त्यसै कहाँ भनिएको हो र ‘बाबुले दिएको भैँसीभन्दा आफूले बाटेको दाम्लाको माया बढी हुन्छ ।’ मधेशतिर अझै बूढापाकाहरू भन्दै छन् –‘आप्mनो कमाइले मानिसले हात्ती किन्दैन । बाबुका पैसाले किन्छ ।’ हात्ती किन्नभन्दा पाल्न गाह्रो भएकैले त्यसो भनिएको हुनु पर्छ । अब त गाउँ देहाततिर हात्ती र हात्ती पाल्ने मानिसहरू दिउँसै बत्ती बालेर खोज्दा पनि भेट्न सकिन्नँ ।


      बराजे र बाबुहरू अल्सरले सिद्धिए । उसका पालामा धेरै भाइ बन्धुहरू पल्सरले सिद्धिने गरेको देख्यो –उसले । समयले राँटा पनि नराखी आफ्नो दौडमा आफूलाई धावक बनाएको बनाएै छ । दुःखका म्याराथनहरू हरेकले आफैँले कुद्नु पर्ने रै’छन् । मानिस हूलमा मिसिए पनि, जुलुसमा सामेल भए पनि ऊ नितान्त एक्लो छ । हिजो पनि एक्लो थियो जब पितापुर्खाहरू गोठ बस्थे । आज पनि एक्लै छ बजारमा हजारथरी मानिसका सामु भए पनि । सायद् डिजिटल बारीमा खर्किए पनि भोलि पनि उसका सन्ततीहरू एक्लाएक्लै हुने छन् । विज्ञानले मानिसलाई सुविधा र दुविधा दुवै दिएर गयो । यो वा त्यो ? हूल वा एकान्त ? सूचना वा ज्ञान ? मानिसले रोज्नु पर्ने भएको छ । सौविध्यताको सुसज्ज्ति संयन्त्रले अलमलमा छन् –आजका मनुवा ।


    छेउ नलाग्ने वादहरू छन् । नौनीरूपि मजबुनका रूपमा कहिल्यै ननिस्कने विवादहरू पनि छन् । संकथनहरूजस्ता लामालामा तीर्यक संवादहरू यत्रतत्र सर्वत्र छन् । निर्देशक रिमोटबाट पटबाहिरका पात्र र उपपात्रहरूलाई आदेश दिन्छ । हुङ्कार निकालेर फर्मान जारी गरिरहेछ । सूत्रधारहरू नै अज्ञात भएको बेला छ –यति बेला । बेला सँधै बेलामात्र हुन्नँ त्यो अबेला पनि हुन जान्छ । अहिले ज्ञात चिज भनेकै महँगी मात्र छ । त्योचाहिँ सर्वसुलभ छ । गाउँमा छ । सहरमा छ । यस्तो लाग्छ उत्तराधुनिक समयमा मानिसले फोसामा पाएको भनेकै महँगी हो । त्यो अत्यन्त सस्तो र सर्वसुलभ छ । छेउ टुप्पो फेला पार्न नसकेको वस्तु नै महँगी हो । मानिसहरू सस्तो महँगीले महँगो महँगी बेसाउन नसकेर क्लान्त छन् ।


    रोबोर्टको बस्तीमा रमाएको ज्याद्रो समयले निनानसेकमा जदौ गराउँदैछ –मानिसलाई । कुनै एलियन बस्तीबाट केही चामत्कारिक अवयवहरू झरी हाल्छन् कि भन्ने झिनो आससमेत मानिसका खप्परमा चलायमान छन् । पुराकथा र परिकथाका स्थान अहिले कार्टूनले लिएका छन् जहाँ पुँश्चलीहरू तासका जामा पहिरेर ससाना केटाकेटीहरूलाई लोरीका बद्लामा अवान्तिक कथाहरू एनिमेटेड शैलीमा सुनाइरहेछन् । समाजका कथित अभियन्ताहरू धनका उल्टा चस्मा लगाएर मानिस परीक्षणमा मस्त र व्यस्त छन् । सरकारी अस्पतालमा औषधिमूलो कम र भगवान्का फोटाहरू बढी टाँसिनु सामान्य भैसक्यो । अहिले विचारहरूका ट्राफिक जाम भएका छन् –जताततै । हातगोडाहरू जिन्दावाद र मूर्दावादका क्याराभानमा संलग्न भएपछि मुटुहरू सेल्फीमा सिलिकन सुन्दरीका तस्वीरहरू लिन पल्किएपछि गरिबी एकाएक युनिक भएको छ । अतः यस्तो बेला कोही आफ्नै काट्टो खान रेष्टुरेन्टभित्र गएका छन् भने कोहीचाहिँ इच्छामृत्युका कपाली तमसुकमा ल्याप्चे लगाइरहेछन् ।


    दुन्दुभी बजिरहेछ बजारवादको सहनै नसक्ने गरी । पूर्व कालमा ‘बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन’ भन्ने पुर्खाहरू अहिले संस्कृति अपचलनको मुद्दामा भान्तेहरूसँग प्रतिवादी भएर तारेख थापिरहेछन् । प्रेमका झगडियाहरू जताततै रल्लिरहेका छन् । नाटक त हो प्रेम पनि । कोही कलेज बङ्क गरेर पिके हेर्न गोपीकृष्णमा जाँदै गर्दा चाबेलमा जाममा परेका हुन सक्छन् । गुल्जारका फिल्महरू हिट हुन छाडे अब । करोडपतिका लाइनमा बसेका छन् भारतवर्षका एकसे एक आइटी इन्जिनियरहरू पनि । तोल्सतोय र गोर्कीका उपन्यासले फ्रेन्चकट दारी भएका माक्र्सका अनुजहरूलाई सन्तुष्टि दिलाउन छाडिसक्यो । जुम्लेली प्रमिथसका गाभामा कालीपोके कीरा लागेको छ । भाषा बिगारेको भामरी देखेर स्वर्गलोकमा प्रिय कविमर्निषी देवकोटा, रिमाल, पारिजात र भूपीहरू नेपाल हेरी डाँको छोडेर रोइलो गरिरहेका हूनन् । समलाई सही नसक्नु भएको हुँदो हो । कथित डाक्टर सा’पहरूले आफ्नै मलामी घटाउने गरी भाषासँग ब्ल्याक मेलिङ्ग गरेको दुनियाँले पत्तो पाइसक्यो । उफ ! आमालाई पनि बेच्नेहरू विरुद्ध अझै लेख्ने सक्ने भए मनुहरूले जेहाद छाड्ने कथा –‘आमालाई बेच्नु हुन्न लाटा !’


    पहिले आमा नानीले नखाँदा रून्थिन् । अहिले सन्तानले पेटभरि खान र आँङभरि लाउन नदिँदा रून्छिन् । बर्ड इथिक्समा बाँचेको छ –आधुनिक भनाउँदो मान्छे । अघि पनि गुँड रित्तै बचेरा हुर्काएपछि पनि गुँड रित्तै । अघिको मीठो झन्झट र पछिको तीतो झन्झट । सबै मीठोका जरै नछाड्ने तर तीतोका पातै नछुने । कतिलाई भाषाकै मेखाला पहिरेर सन्जे भन्दै जीवनको नौका पारि तार्नु छ । कतिलाई भने बैखरीका लयमा वैतर्नी तर्न सकिन्नँ कि भन्ने डर पनि लागेको होला ? अँध्यारामा गोली हानेर अब सुसंस्कृति निर्माण हुँदैन ।


    दिन–रात, हिउँद–बर्खा, उँधौली–उभौँली, चान्द्रमास–सूर्यमास, शुक्लपक्ष–कृष्णपक्ष, सुदी–बदी  सबैसबै दौडिरहेका छन् । धपेडी देखिन्छ –दौडमा । प्रतिस्पर्धा र सन्धान छ –दौडमा । हाँप र झाँप कोही गर्भ जँचाउन, कोही सुत्केरी भएर अस्पतालबाट, स्कुल, बजार, अदालत, पुलिस, सिडिओ, नगरपालिका हुँदाहुँदा अब त स्थानीय निकाय, प्रान्त र संघीय राज्य सबैसबै स्थानमा दौडिरहेका छन् । नाफाको हिसाब, मिलापत्र र फैसलाको दर्बियानमा कुद्नेहरूलाई नियाल्दा फगत् ‘टे«ड मिल’ मा दौडेका रहेछन् । मनुवाहरू त्यो टे«ड मिलमा पाइताला बजारेर तिमी कहाँको टुङ्गोमा पुगौला खै !


    विगत्मा जिजुले अभावको खोल ओढेर स्वाभीमानको शोकगीत गाएथे । त्यसबीच बाबुले विद्रोहको विद्रूपता ओकलेर ऐजनऐजन शैलीमा गाए । वर्तमानमा चुइगम् पड्काउँदै हामी समवेत् स्वाभीमानका शोकगीत कोरस भाकामा आफ्ना स्वरलहरीहरूमा मुग्ध भई नभई अनिच्छित पाराले गाइरहेछौं । क्रमागत रम्यताभित्र जबजब मनुजका कङ्कालहरू शश्यशालिनी धर्तीमा चलायमान भैरहने छन् तबतब यहाँ मानिस नामोच्चारित स्केलेटनहरूले भयावह महानाटक प्रदर्शन गरिरहने छन् । यस्ता कोरसहरू चली नै रहनेछन् । अलिखित पूँजीका तिजोरीबाट झिकेर अनन्तअनन्त साखहरू रोपण गर्दै ब्याजका आसमा आसे मान्छे आफ्नो गतिगँरास छोट्याइरहेछ । उसलाई गीत गाउनुको सुखानुभूति र दुखानुभूति किंवा छैन ।


    झुसिल्कीराबाटै पुतली बन्छ –त्यो थाहा छ । तर यत्नका पर्वत लङ्घन गर्ने हाँकको सामना पनि गर्नु पर्छ । नबाव ढङ्गले अझै यो समताका पोखरीमा सदावहार गीतहरू हिट हुन्छन् भन्ने नसोचे हुन्छ । कलाकारहरूले यु ट्युबमा दाइँ हालेका छन् । चामल कतिका पोल्टामा झर्ने हुन् या पवटा ? स्रष्टाका दोसल्लामा पर्ने हुन् हैनन् ? अझै बेठेगान छन् । हृदयका सरहद्बाट कित्ताकाट गरेर महामना भएका दोयम ढपका नेताहरू काँधै भाँचिने गरी मालामा सजिएका देखिन्छन् । पचास र सय किलोका मालाहरू आफू अनुकूलका पार्थहरूलाई लगाउन लाउनु तिनीहरूको हबी नै बन्दै गएपछि जनाद्र्धनहरू एकाएक विचल्नीमा परेजस्ता देखिए ।


    स्वाभीमानको शोकगीतमा सङ्गीत भर्ने काम नयाँ रूप र बान्कीका बादशाहहरूले गरेका छन् । ‘इतिहास धेरै बादशाहहरूको चिहान हो’ भन्ने आम जनमानसलाई ज्ञात छ तर वर्तमान पनि बुलाहाहरूको सिँङमा तेल घसेर रम्रिएको छ । दुःखीहरू अझ दुःखी भएका छन् । यो पन्यालो स्वतन्त्रताले कतै दुःखीका घाउमा चह¥याउने भृङ्गीराज दले भने मलिन मनुवाहरूको मन मुर्झाउन बेर लाग्दैन ।


    मल्टिनेसनल कर्पोरेसन र कर्पोरेट हाउसहरूबाट निःशृत शोकगीतको धून शनैःशनैः चर्को हुँदै जाँदो छ । वातावरणमा एक प्रकारको शेरगुल खिलेको देखिँदैछ । अतः यस्तो परिवेशमा अड्कल मात्र काट्न सकिन्छ –मानिस नामधारी जन्तुको भविष्य छ्याङ्ग छैन । घाम बादलमा पस्दै निस्कँदै गर्दैछ । सुखद् मौसम भविष्यवाणि गर्ने महामनाहरू आफैँ मौसम पीडित भई यतिखेर पत्तातोड बेपत्ता छन् ।

आचार्य  मन्थली माध्यमिक विद्यालय, मन्थलीका सहायक प्राचार्य हुन् ।  

                 
                    ।।समाप्त।।  
    
    

Comments: