२०७६ चैत्र २५ गते

प्रधानाध्यापक विवादले पढाइ ठप्प

अन्तैबाट


मोरङ  । जहदा गाउँपालिका ३ स्थित आदर्श आधारभूत विद्यालयमा प्रधानाध्यापक विवादले महिनायता पढाइ ठप्प छ । राहत शिक्षकलाई प्रधानाध्यापक बनाउन माग गर्दै केही अभिभावकले ताला लगाएपछि पढाइ ठप्प भएको हो ।

प्रधानाध्यापक नियुक्तिमा विद्यालय व्यवस्थापन समिति र गाउँपालिकाबीच पनि विवाद देखिएको छ । समिति विद्यालय स्थापना गर्ने स्थानीय मुंगा हेमरमलाई जिम्मेवारी दिनुपर्ने अडानमा छ । गाउँपालिकाले शिक्षा ऐन, नियमावलीअनुसार विद्यालय सञ्चालन गराउन खोजेको छ ।

गाउँपालिका शिक्षा समितिले स्थायी शिक्षक अशोककुमार साहलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिएपछि विवाद बढेको हो । अध्यक्ष गोबर्धन साहले समितिको अधिकार वञ्चित गरी गाउँपालिका अध्यक्ष कैलाश मण्डलले विद्यालयमा निमित्त प्रधानाध्यापक तोकेकाले विवाद भएको दाबी गरे । ‘गाउँपालिकाले तोकेको निमित्त प्रधानाध्यापकले यसअघि विद्यार्थीलाई पिट्ने, निजी विद्यालय सञ्चालन गरी त्यतै बालबालिकालाई भर्ना गराउने गर्दै आएका थिए,’ उनले भने, ‘विद्यालयको हितविपरीत काम गर्दै आएको मान्छेलाई जिम्मेवारी दिन नहुने समितिको निर्णय छ ।’

विद्यालयमा दलित, विपन्न वर्गका २ सय ५० बालबालिका छन् । निजी स्रोतका शिक्षक राजेश झा र बालविकासका सहजकर्ता उनकी पत्नी बसुन्धरादेवी झाले राजनीतीकरण गरेर पढाइ ठप्प पारेको जनप्रतिनिधिको आरोप छ । सहजकर्ता बसुन्धरादेवी ८ महिनादेखि विद्यालय नआई पतिपत्नी मिलेर राजनीतीकरण गरेको आरोप उनले लगाए ।

‘विद्यालयका तत्कालीन प्रअ राजकुमार साह ०७५ चैत १ गते अवकाश प्राप्त भएदेखि उनीहरूले कमजोर शिक्षकलाई प्रअ बनाउन पहल गर्दै आएका छन्,’ उनले भने, ‘समितिले राहत शिक्षक हेमरमलाई निमित प्रअ तोकेपछि स्थायी शिक्षक अशोककुमारले आफूमाथि अन्याय भएको भन्दै गाउँपालिकामा निवेदन दिए ।’

नाम सिफारिस गर्न समितिलाई पत्राचार गर्दा बेवास्ता गरेकाले शिक्षा ऐनअनुसार अशोककुमारलाई निमित प्रअ तोकेको उनले बताए । ‘चित नबुझे अदालत जान आग्रह छ,’ उनले भने, ‘व्यक्तिगत स्वार्थका लागि बालबालिकाको भविष्यसँग नखेल्न सबैलाई आग्रह छ ।’ निजी स्रोतका शिक्षक झाले गाउँपालिका अध्यक्ष मण्डलले माँ भवानी, सन्थाल र जन आधारभूत विद्यालयमा राहत शिक्षकलाई प्रअ बनाएकाले आफ्नो विद्यालयमा पनि राहत शिक्षकलाई नै बनाउनु पर्ने माग गरे ।

‘माँ भवानी आधारभूत विद्यालयमा दुईजना स्थायी शिक्षक हुँदाहुँदै मण्डलले आफ्ना भतिजा अशोककुमार मण्डललाई प्रअ बनाए,’ उनले भने, ‘सन्थाल आधारभूत विद्यालयमा राहत शिक्षक रेखाकुमारी साहलाई प्रधानाध्यापक बनाएकाले स्थायी शिक्षक पंकजकुमार साहलाई हाजिरै हुन दिइएन ।’ अध्यक्ष मण्डलले माँ भवानी, सन्थाल र जन आधारभूत विद्यालयमा राहत शिक्षक पहिलेदेखि नै प्रधानाध्यापक भए पनि कुनै विवाद नभएकाले गाउँपालिकाले कुनै निर्णय नलिएको दाबी गरे ।

कान्तिपुरमा खबर छ ।

Comments: