२०७६ कार्त्तिक २८ गते

प्रअ नै पहिला ‘मोडल’ बनौं

मीना कोइराला

 

 

मीना कोइराला
प्रधानाध्यापक
पद्मोदय माध्यमिक विद्यालय, प्रदर्शनीमार्ग, काठमाडौं

 

 

पद्मोदय विद्यालयका बारेमा बताइदिनुस् न ?
यो एउटा ऐतिहासिक विद्यालय हो । यो विद्यालयमा पहिलेदेखि नै नेपालका पूर्वी भेगबाट पढ्न आउने चलन रहेछ । पहिले पब्लिक स्कूल दुईवटा रहेछन् । पश्चिमी भेगहरुबाट जुद्धोदय पब्लिक स्कूलमा र पूर्वी भेगबाट पद्मोदयमा पढ्न आउने चलन । पूर्वतिरका पढेलेखेका पाका व्यक्तित्वहरुलाई सोध्दा उहाँहरुले ‘म पनि पद्मोदयमा पढेको’ भन्नुहुन्छ । देशका जतिपनि प्रतिष्ठित व्यक्तित्व हुनुहुन्छ, प्रायः यही विद्यालयको उत्पादन हुनुहुन्छ । पूर्व प्रधानमन्त्री स्व. सूर्यबहादुर थापा, पूर्वमन्त्रीहरु प्रकाशचन्द्र लोहनी, कमल थापा, पूर्व प्रधानन्यायधीशहरु केदारनाथ उपाध्याय, अनुपराज शर्मा, कलाकारहरु हरिवंश आचार्य, सरोज खनाल, मनोज गजुरेल, गायक रामकृष्ण ढकाल उहाँहरु सबै यसै विद्यालयका उत्पादन हुनुहुन्छ । वास्तवमा, पद्मोदय भन्नेबित्तिकै ती ठूला व्यक्तित्व उत्पादन हुने ठाउँ भनेर पनि चिनिन्छ । यो विद्यालय २००३ सालमा स्थापना भएको हो । राणाकालमा जनताका छोराछोरीले पढ्न पाउने अवस्था नरहेको बेला ईश्वरराज अर्यालको नेतृत्वका केही व्यक्तिहरु तत्कालीन पद्म्म शम्शेरकहाँ दैनिक भेट्न जानभएछ । पब्लिक स्कूल चाहियो भनेर आग्रह गर्नु भएछ । अन्ततः पद्म शमशेरबाटै जग्गा दिएर स्थापना भएको यो विद्यालय हो । शुरुमा पद्म शमशेरले अनुमति दिँदै– ‘ठीक छ, तिमी हेडमास्टर हुनु, तिमीले पढाएका विद्यार्थीले पछि आफ्ना खट्टामा उभिएर खाउन्,’ भनेका रहेछन् ।


विद्यालयको सिकाइ सुधार अवस्था कस्तो छ ? त्यसका लागि के कस्तो फरक अभ्यास गरिरहेको छ ?
अभिभावककै चासो र आग्रहमा विद्यालयलाई अंग्रेजी माध्यममा लगेका छौं । हुन त, माध्यम मात्रै सबैथोक होइन, विषयवस्तुाई पनि हेर्नुपर्ने हुन्छ । सिकाइ सुधार माध्यमले मात्रै नहुने भएकाले हामीले हरेक शनिबार परीक्षा सञ्चालन गर्दै आएका छौं । कमजोर र जान्ने विद्यार्थी छुट्याएर अवस्था अनुसार उपचारात्मक कक्षाहरु सञ्चालन गर्दै आएका छौं । विद्यालयमा शिक्षकहरुमा राजनीति वर्जित छ । सिकाइ सुधारमै केन्द्रित शिक्षक समूह सामुहिक कार्य र प्रयासमा विश्वास गर्छ । विद्यार्थीको प्रतिभा पहिचान र प्रष्फुटनका लागि अतिरिक्त क्रियाकलापमा विशेष ध्यान दिने गरिएको छ । विद्यार्थीको शिक्षण सिकाइलाई एउटा कक्षाकोठामा मात्रै सिमित नराखी हामीहरुले पुस्तकालय, अध्ययन भ्रमण, खोज, अवलोकन आदिलाई पनि शिक्षण सिकाइको माध्यम बनाइएको छ । विद्यार्थीको अध्ययन भ्रमणलाई विशेष जोड दिँदै आइएको छ ।


शिक्षण सिकाइमा प्रविधिको प्रयोगका पनि कुरा आइरहेका छन् । यस विद्यालयको अवस्था के छ ?
शिक्षण सिकाइमा प्रविधिको प्रयोगलाई हामीले विशेष जोड दिँदै आएका छौं । विद्यालयमा ८ कक्षासम्म कम्प्यूटर कक्षा अनिवार्य छ । कक्षा ९ र १० देखि ऐच्छिक छ । कम्प्यूटर कक्षाले विद्यार्थीमा इन्टरनेटबाट खोजेर सिक्ने र शिक्षकहरुमा खोजेर सिकाउने बानीको विकास भएको छ । हामीले प्रोजेक्टरको माध्यमबाट अडियो÷भिजुवेल कक्षा सञ्चालन गर्दै आएका छौं । विद्यार्थीले नियमित परियोजना कार्य र शिक्षकले नियमित शैक्षिक सामग्री, सन्दर्भ–सामग्री इन्टरनेटबाटै तयार पार्ने गर्नुहुन्छ । हामी पाठ्यपुस्तकमा मात्रै सिमित छैनौं । पाठ्यक्रममा आधारित भएर खुला समाजलाई नै पाठ्यपुस्तकका रुपमा पढाउँदै आएका छौं । जीवनोपयोगी र सीपयुक्त शिक्षा हाम्रा प्राथमिकतामा छन् ।


शिक्षकलाई कक्षाकोठामा नै केन्द्रित गर्न कस्तो प्रयास भएका छन् ?
शिक्षण सिकाइका मेरुदण्ड शिक्षकहरु नै हुन् । मुख्य कुरा, शिक्षण सिकाइ र सिकाइ उपलब्धि नै हो । शिक्षकहरुलाई चाहिने आवश्यक शैक्षिक सामग्रीहरुको सम्पूर्ण व्यवस्था हामीले गर्दै आएका छौं । उहाँहरुले कुनै तालिम आवश्यक परेमा पनि विद्यालयले नै व्यवस्था गर्दै आएको छ । शिक्षकहरुको नियमिततालाई पनि विशेष ध्यान दिँदै आएका छौं । कक्षाकोठा खाली नहोस् भनेर शिक्षकहरुलाई थप कक्षाको अतिरिक्त हौसलास्वरुप सुविधा पनि दिने व्यवस्था गरिएको छ । कुनैपनि कक्षा कहिल्यै खाली रहँदैन । शिक्षकहरुलाई आन्तरिक रुपमै पुरस्कार र दण्डको व्यवस्था गरिएको छ । शिक्षक–विद्यार्थी दुबैको अनुशासन कायम गरिएको छ । शिक्षकहरुलाई विभिन्न विभागमा बाँडिएको छ । हरेक कामहरु विभागमार्फत् हुने गर्छन् । शिक्षकहरुलाई विद्यालयमा सम्मानको वातावरण छ । पद्मोदयको शिक्षक हुन पाएकोमा गर्व महशूस गर्नुहुन्छ ।


सामुदायिक विद्यालयका शिक्षकहरु प्रायः तालिमप्राप्त छन् । तर, त्यो तालिम कक्षाकोठामा प्रवेश नगरेको आरोप पनि लाग्दै आएको छ । यस विद्यालयको अवस्था के छ ?
हामीले शिक्षकले सिकेका तालिम र शिक्षण विधिहरु कक्षाकोठामा पुगे÷नपुगेका बारेमा नियमित अनुगमन गर्छौं । शिक्षकहरुले नियमित पाठयोजना बनाउने, शैक्षिक सामग्रीको नियमित प्रयोग गर्ने र नियमित भिन्न–भिन्न शिक्षण विधिहरु प्रयोग गर्दै आउनुभएको पाइएको छ । त्यसैले पनि हाम्रा हरेक कक्षाको सिकाइ उपलब्धि, एसइइ र एसएलसीका नतिजा उत्कृष्ट रहँदै आएको छ । एसइइमा ए प्लस ग्रेड ल्याउने विद्यार्थी संख्या बढी रहेको छ । विद्यार्थी एकदिन विद्यालय नआएपनि अभिभावकहरुसँग जानकारी लिने, परीक्षाको नतिजाका बारेमा अभिभावकहरुसँग छलफल गर्दै आएका छौं । विद्यार्थीलाई डायरी दिइएको छ । दैनिक डायरी जाँच हुन्छ । निरन्तर विद्यार्थी मूल्याङ्कन पद्धति लागू गरिएको छ ।


मुलुकमा सामुदायिक विद्यालयको अवस्था कस्तो पाउनुभएको छ ?
सरकारको नीतिले पनि यसो भएको होला, सामुदायिक विद्यालयमा पढ्न आउने विद्यार्थीमा ‘हामी कमजोर छौं’ भन्ने मानसिकता छ । हामी बोर्डिङ पढ्न नसकेर मात्रै यो सरकारी विद्यालयमा पढ्न आएका हौं भन्ने भावना पाइन्छ । विद्यार्थीलाई पढ्न पठाइदिएपनि अभिभावकले मतलब नगर्ने, सरकारले शुल्क नलिइ भन्ने, शुल्क नलिएपछि अभिभावकहरुको चासो सामुदायिक विद्यालयप्रति चासो नहुने, सबै स्रोत पनि सरकारले नदिने र शुल्क पनि नउठा भन्दा सामुदायिक विद्यालयहरुको अवस्था नाजुक छ । अभिभावकको लगानी सामुदायिक विद्यालयमा नहुने भएकाले चासो र सरोकार पनि कम हुने गरेको छ । लगानी परेको वस्तुको महत्व हुन्छ । सरकारको शुल्क नलिने नीतिले नै समुदायको ध्यान, चासो सामुदायिक विद्यालयमा कम हुँदै आएको छ । ग्रेडिङ पद्धतिले कुनै विद्यार्थी फेल पास नहुने भएकाले अभिभावक र शिक्षकलाई पनि हाइसञ्चो देखिन्छ । पढाएपनि, नपढाएपनि, पढेपनि नपढेपनि हुन्छ भन्ने भावना ग्रेडिङ पद्धतिले विकसित गराउँदै आएको छ । त्यसै पास भइन्छ भनेर शिक्षकप्रतिको डर, सम्मान कम हुँदै गएको छ विद्यार्थीमा । शिक्षक र विद्यार्थीको सम्बन्ध पनि हराउँदै गएको देखिन्छ । अल्छि शिक्षकहरुलाई आनन्द भएको छ । तर, हाम्रो विद्यालयमा भने त्यो अवस्था आउन नदिन हामी सचेत छौं ।


सामुदायिक विद्यालयहरु सुधार गर्न के गर्नुपर्ला ?
अरुले भनेर सुधार हुँदैन । मनैदेखि आउनु पर्छ । मेरो छोराछोरी नै पब्लिकका छोराछोरी भन्ने भावना आउनु पर्छ । आफ्ना बच्चाहरुको शिक्षाका लागि अभिभावकहरुले पनि लगानी गरिदिनु पर्छ । त्यो लगानी जुनसुकै पनि हुनसक्छ । त्यसले अभिभावकमा पनि दायित्व बोध हुन्छ । एकदमै न्यूनतम भएपनि शुल्क लिन दिनु पर्छ सामुदायिक विद्यालयहरुलाई । कमसेकम अभिभावकहरुले त्यसको महत्व त बुझ्छन् नि । सरकारले पनि विद्यालय र शिक्षकहरुप्रति अनुगमन र सुपरीवेक्षण बढाउनु पर्छ । शिक्षा क्षेत्रलाई अझ सामुदायिक विद्यालयलाई बिनातयारी नयाँ नीति तथा कार्यक्रमहरुको प्रयोग वा परीक्षण गर्ने केन्द्र बनाउनुहुँदैन । न राम्रो अनुगमन हुन्छ न त दिएको तालिम कक्षाकोठामा पुगे÷नपुगेको निरीक्षण नै । राम्रो नतिजा ल्याउनेलाई प्रोत्साहन र नराम्रो विद्यालयहरुलाई कार्बाहीको शुरुवात हुनै पर्छ । विद्यालय शान्तिक्षेत्र भएकाले राजनीति हावी हुन दिनु हुँदैन । विद्यार्थी संगठनहरुलाई पनि विद्यालयमा कमिटी गठन गर्न दिनु हुँदैन ।


भौतिक सुविधा र शिक्षण सिकाइबीच कस्तो सम्बन्ध रहन्छ ?
एकदमै सम्बन्ध हुन्छ । पछिल्लो दिनमा त झन् भौतिक सुविधाको महत्व बढ्दै गइरहेको छ । सिकाइमा इन्टरनेट, प्रोजेक्टर, कम्प्यूटरलगायतका प्रविधिको प्रयोग गर्नपनि भौतिक पूर्वाधार राम्रो हुनै पर्छ । हामी अहिले भूकम्पले भवन भत्किएपछि अस्थायी सिकाइ केन्द्रमा पढाइरहेका छौं । तरपनि, सकभर व्यवस्थापन गर्ने प्रयास गरिरहेका छौं । एउटा कक्षमा पढाउँदा अर्कोमा असर पुगिरहेको हुन्छ । पहिले जस्तो रुखमुनि पढाएपनि हुन्छ भन्ने अवस्था अहिले छैन । राम्रा कक्षाकोठा, राम्रा डेस्क–बेञ्चलगायतका धेरै विषय हुन्छन् शिक्षण सिकाइलाई प्रभाव पार्ने । समय धेरै विकसित भइरहेको छ । राम्रो शिक्षण सिकाइका लागि भौतिक पूर्वाधार मजबूत हुनै पर्छ ।

स्रोतको आवश्यकताका लागि भनेर विद्यालय वरिपरि सटर बनाएर भाडामा दिइएको देखिन्छ । विद्यार्थीको खेल्ने, उफ्रर्ने स्थान मासेर झ्यालखाना जस्तो बनाउने गरिएको छ । यसलाई के भन्नुहुन्छ ?
विद्यालयको पठनपाठनलाई फरक नपर्नेगरी सटर भाडामा दिन सकिन्छ । विद्यार्थीलाई खेल्ने, कुद्ने अधिकार छ । त्यसका लाथि स्थान चाहिन्छ । विद्यालयमा सिकाइ व्यवस्थापनका लागि अतिरिक्त शिक्षकहरु पनि राख्नुपर्ने हुन्छ । भौतिक पूर्वाधार मर्मत गर्नुपर्ने हुन्छ । जुन सरकारबाट आउँदैन । कि त्यस्ता खर्च सरकारबाट आउनुप¥यो । नभएदेखि कुनै कुरालाई असर नपार्नेगरी सटर भाडामा दिँदा समस्या हुँदैन । पर्खाल लगाउनै पर्छ । त्यसको दुई मिटर पछाडिबाट सटर बनाउँदा विद्यालयलाई आम्दानी हुन्छ भने त्यो छुट दिनु पर्छ । सामुदायिक विद्यालय राम्रो हुनु भनेको सरकारी विद्यालय राम्रो हुनु हो । सरकारको नाक फुल्ने कुरा हो । मात्रै आम्दानीका लागि पठनपाठन अबरोध हुनेगरी भने सटर बनाइनु हुँदैन । कसैलाई पनि हानी पु¥याउदैन, मात्र त्यसले शिक्षण सिकाइलाई नै राम्रो गर्छ भने यस विषयमा टाउको दुखाउनुको अर्थ छैन । सटरको आम्दानीको मनिटरीङ गरे हुन्छ नि बरु ।


महिला प्रधानाध्यापक हुँदा कुनै समस्या महशूस गर्नुभएको छ ?
विद्यालयमा महिला शिक्षकहरुको संख्या पनि धेरै नै छ । महिला र पुरुष भनेर लैंगिक विभेदको अवस्था विद्यालयमा छैन । शिक्षकहरुले पनि महिला प्रअ भनेर नटेर्ने र म महिला भएकाले पुरुष शिक्षकलाई विभेद गर्ने, पेल्ने काम भएको छैन । यो एउटा परिवार हो । हामी महिला पुरुष मिलेर काम गरिरहेका छौं । मलाई दुव्र्यवहार भएको, असहयोग भएको महशूस भएको छैन । अझ व्यवस्थापनको काम महिलाबाट राम्रो हुने भएकाले विद्यालयमा महिला प्रअ हुनु राम्रो हुन्छ ।


एउटा विद्यालय सुधारका लागि प्रअको कस्तो भूमिका रहन्छ ?
सबैभन्दा ठूलो र महत्वपूर्ण पक्ष भनेको टिमवर्क नै हो । प्रअलै म नै सबैथोक नभनी प्रजातान्त्रिक किसिमले कार्य विभाजन गरेर सबैसँग समन्वय र सहकार्य गर्दै अघि बढ्नु पर्छ । प्रअले सबैलाई समान व्यवहार, सबैसँग समन्वय र सहकार्य गर्ने, शिक्षकहरुको क्षमता तथा विज्ञता पहिचान गरी जिम्मेवारी दिने, अभिभावक र समुदायसँग समन्वय गराउने खुबी राख्नु पर्छ । पहिले आफू मोडल बन्नु पर्छ । नियमितता, समयपालना, इमान्दारिता, नेतृत्व क्षमता, समन्वय क्षमता प्रअमा हुन आवश्यक छ । प्रअ आफू सुधारिए विद्यालय आधा सुधारिन्छ । कार्यविभाजन गर्ने, सबैको कुरा सुन्ने, मिलनसार बन्नु आवश्यक हुन्छ । प्रअ सर्वेसर्वा होइन । ऊबाट पनि गल्ति हुन सक्छ । सुधारिनु ठूलो कुरा हो ।


तपाईं प्रअ भएपनि के–के सुधार भए । अबका दिनमा यस विद्यालयमा कस्ता सुधार भएको पाइएला ?
म प्रअ भएको साढे तीन वर्ष जति भयो । भूकम्पले विद्यालय अस्तव्यस्त थियो । म आएपछि हिलाम्मे भूईँमा टायर बिच्छ्याउने, परिसरमा फूलबारी बनाउने काम गरेँ । भूकम्पले २६ कोठे भवन नै भत्किएपछि कक्षाकोठा व्यवस्थापन नै धेरै मिहिनेत गर्नुप¥यो । कम्प्यूटर कक्षा थिएन । शुरु गरियो । इसिडि र कक्षा १ मा खाजाको व्यवस्थापन शुरु गरेँ । उनीहरुलाई विद्यालयकै तर्फबाट एकजोर लुगा दिने व्यवस्था गरेँ । नयाँ भवन बन्दैछ । यसमा ई–लाइब्रेरीदेखि लिएर अत्याधुनिक कम्प्यूटर ल्याव बनाउने हाम्रो योजना रहेको छ । बालकक्षाहरुलाई व्यवस्थित गराएर, विद्यालय अगाडि गार्डेन बनाउने योजना छ । विज्ञान प्रयोगशालालाई अझ व्यवस्थित गर्ने, हरेक कक्षामा प्रोजेक्टर वा स्मार्ट बोर्ड राख्ने योजना छ । आगामी पाँच वर्षभित्र विद्यालय साँच्चै नमूना बन्नेछ ।



प्रस्तुतिः रोशन क्षेत्री गाउँले

 साभार : आजको शिक्षा साप्ताहिक

Comments: