२०७७ जेष्ठ १९ गते

अब कक्षाकोठामा राम्रो पढाएर शैक्षिक क्रान्ति


काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठन जनवादी, वैज्ञानिक र प्राविधिक सीपयुक्त शिक्षाको विकासका लागि केन्द्रित हुने भएको छ । काठमाडौंमा बसेको संगठनको केन्द्रिय समितिको बैठकले बामएकताको स्वागतगर्दै शैषिक पुनसंरचना, संगठन विस्तार र शिक्षकहरुको पेशागत अधिकार प्राप्तीमा केन्द्रीत हुने निर्णय गरेको हो । संगठनले कक्षामा नियमित उपस्थित नहुने, दलको झोला बोक्ने शिक्षकहरुलाई कार्बाही गर्ने समेत निर्णय गरेको छ ।


कार्यक्रममा बोल्दै पूर्वशिक्षामन्त्री एवं माओवादी केन्द्रका नेता दिनानाथ शर्माले आफ्नो माटो र देशप्रति माया र सेवा गर्ने भावनाको शिक्षा दिन शिक्षकहरुसँग आग्रह गर्नुभयो । हामीले मिहिनेत गरेर उत्कृष्ट बनाएका विद्यार्थीहरु आज अमेरिका र युरोपको सेवा गरिरहेका छन् । उहाँले भन्नुभयो– अब हाम्रा उत्कृष्ट विद्यार्थीहरुलाई दक्ष बनेर मुलुककै सेवा गर्ने भावनाको शिक्षा दिनुपर्छ । आफु शिक्षामन्त्री बनेको बेला पहिलो पटक १०० विद्यालयबाट प्राविधिक शिक्षा दिन शुरु गरेको र प्रत्येक वर्ष त्यति नै संख्या वृद्धि गर्दैै लग्ने निर्णय गरेको स्मरण गर्दै शर्माले विद्यालयहरुलाई प्राविधिक शिषा लयहरुमा रुपान्तर गरेमात्रै मुलुक समृद्ध बन्ने बताउनुभयो ।


पहिले आफुले अस्थायी शिक्षकको माग पुरागर्नेगरी ऐनसंशोधनको विधेयक अध्यादेश मार्फत जारी गर्न राष्ट्रपतिकहाँ लगेका बेला कांग्रसकै विरोधका कारण पास हुन नसकेको तर्फ इंकित गर्दै शर्माले अहिले सोही खाले विधेयक संसदबाट पारित भएको समेत बताउनुभयो । अस्थायी शिक्षक समस्या समाधान भन्दापनि त्यसलाई लम्बाएर राजनीति गर्न दलहरु क्रियाशिल रहेको उहाँको आरोप थियो । मुलुकलाई माया गर्ने, मुलुकको सेवा गर्ने दक्ष नागरिक उत्पादन गर्ने शिक्षा नै जनवादी शिक्षा भएकाले अवको शिक्षाको दिशा सोही तर्फ हुनुपर्नेमा उहाँको जोड थियो ।


कार्यक्रममा माओवादी केन्द्रका नेता एवं शिक्षक फ्याक्सन इन्चार्ज पुष्पविक्रम मल्लले शिक्षक संगठनले अब शैक्षिक सुधार र पेशागत आन्दोलन सँगसँगै अघि बढाउनुपर्ने बताउनुभयो । शिक्षकहरु लामो समय ट्रेडयुनियन अधिकारको प्राप्तिमा मात्रै केन्द्रित रहँदा सार्वजनिक शिक्षाको स्तर खस्कीएको भन्दै मल्लले अब कक्षाकोठामा राम्रो पढाएर शैक्षिक क्रान्तिको शुरुवात हुनुपर्ने बताउनुभयो । अब सवैको ध्यान गुणस्तरीय, वैज्ञानिक र सीपयुक्त शिक्षामा हुनुपर्छ । उहाँले भन्नुभयो – कराएर मात्रै होइन राम्रो पढाएर शिक्षक आन्दोलन अघि बढ्नुपर्छ ।


एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष भोला सापकोटाले अब संगठन वैज्ञानिक र जनवादी शिक्षाको पक्षामा क्रियाशील हुने बताउनुभयो । हाम्रो संगठनले टे«डयुनियन अधिकारलाई शैक्षिक रुपान्तरणसँग जोडेर अघि बढाउँछ । उहाँले भन्नुभयो । हाम्रो मुख्य ध्यान गुणस्तरीय र सीपयुक्त शिक्षा र नमुना विद्यालय निर्माणमा केन्द्रित हुने छ ।


संगठनका वरिष्ठ उपाध्यक्ष शंकर अधिकारीले अब संगठन सीपयुक्त, मुलुक बनाउने जनशक्ति तयार गर्ने र जनजिवीकासँग जोडिनेखालको शिक्षा विकासमा केन्द्रित हुने बताउनुभयो । नपढाउने, कक्षामा नियमित उपस्थित नहुने र दलको झोलामात्रै बोक्ने शिक्षकलाई अब संगठनले कार्बाहीको प्रक्रिया अघि बढाउने निर्णय गरेको जानकारी दिँदै अधिकारीले अब शिक्षकहरु कक्षाकोठामा केन्द्रित हुनुपर्ने बताउनुभयो । संगठनका महासचिव ऋषिराम चापागाईले संगठनको ध्यान, नीति र योजना शैक्षिक रुपान्तरणमा केन्द्रित भएको समेत स्पष्ट पार्नुभयो ।

महाधिवेशन आगामी फागुन ४, ५ र ६
संगठनको केन्द्रिय समितिको वैठकले आगामी फागुन ४, ५ र ६ मा काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । त्यसअघि आगामी माघ ४ गते १ नम्वर प्रदेशको, ६ गते २ नम्वर प्रदेशको र माघ २० गते ३ नम्बर प्रदेशको सम्मेलन गर्ने निर्णय संगठनले गरेको छ । साथै, माघ २० गते नै ४ नम्बर प्रदेशको, १६ गते ५ र ६ नम्बर प्रदेशको तथा माघ ८ गते ७ नम्बर प्रदेशको सम्मेलन गर्ने निर्णय संगठनले गरेको छ ।

शिक्षक नेताहरु प्रवेश
संगठनको केन्द्रिय समितिको वैठकमा अखिल नेपाल शिक्षक संगठनकी उपाध्यक्ष चेतना रेग्मी, कोषाध्यक्ष एवं नेपाल शिक्षक महासंघका केन्द्रिय सचिव शान्ति ढकाल एकीकृत अखिल नेपाल शिक्षक संगठनमा प्रवेश गर्नुभएको छ । साथै, अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य तथा भक्तपुर जिल्ला अध्यक्ष लिला तामाङ, नयाँ शक्ति पाटी निकट नेपाल शिषक समाजका सचिवालय सदस्य जमुना थापा लगायत एक दर्जन शिक्षकहरु संगठनमा प्रवेश गरेका छन् ।

 

Comments: