२०७७ जेष्ठ २१ गते

'शैक्षिक सुधारबाट मात्रै मुलुक समृद्ध बन्छ'–राष्ट्रपति भण्डारी


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शैक्षिक सुधारबाट मात्रै मुलुक समृद्ध बन्ने बताएकी छिन् । सरकारी विद्यालयहरुको स्तर सुर्धानुपर्नेमा जोड दिँदै उनले विद्यालयहरुले विद्यार्थीलाई प्रमाणपत्रसँगै सीप दिनुपर्ने बताइन् ।


कालिमाटी, टंकेश्वरस्थित नीलबाराही माध्यमिक विद्यालयको ६४ औं वार्षिकोत्सव तथा हीरक महोत्सव कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले प्राविधिक तथा जीवनउपयोगी शिक्षाको विकास हुनुपर्नेमा जोड दिइन् ।


 भण्डारीले महिलाले नेतृत्व गरेको नीलबाराही विद्यालयले मुलुकका लागि धेरै दक्ष जनशक्ति उत्पादन गरेकामा आफूलाई खुसी लागेको समेत बताइन् । स्वाभिमानी, कला र संस्कृतिप्रति गर्व गर्न सक्ने जनशक्ति उत्पादन गर्नु विद्यालयको दायित्व रहेकामा उनको जोड थियो ।


यस विद्यालय नेपालकै उकृष्ट विद्यालयको रुपमा स्थापित हुन सफल भएको सुन्दा अत्यन्तै खुसी लागेको भन्दै भण्डारीले विद्यालयलाई यहाँसम्म ल्याउन मेहनत गर्ने सवैलाई धन्यबादसमेत दिइन् ।  विद्यालय परिसरमा आयोजित कार्यक्रमका राष्ट्रपति भण्डारीले ४ तले नयाँ भवनको उद्घाटन गरेकी थिइन् ।


कार्यक्रममा बोल्दै उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले सार्वजनिक शिक्षाको सुधार नै मुलुक समृद्धिको आधार भएको बताए । शिक्षा ऐनको नवौं संशोधनले शिक्षामा नयाँ दिनको शुरुवात गर्ने भन्दै मन्त्री श्रेष्ठले अस्थायी शिक्षकहरुलाई सुविधा सहित बिदा गरेर नयाँ जनशक्ति भित्राइने समेत स्पष्ट पारे ।


काठमाडौं क्षेत्र नं ८ का सांसद एवं पूर्व उद्योग मन्त्री नविन्द्रराज जोशीले शिक्षालयहरुलाई शिक्षित बेरोजगार उत्पादन गर्ने कारखाना बनाउने चलनको अन्त्य गर्नुपर्ने बताए । अब मुलुकमा उद्योगधन्दाहरुको विकास गर्नुपर्छ, त्यसका लागि धेरै दक्ष जनशक्तिको उत्पादन हुन जरुरी छ । –उनले भने– हाम्रा शिक्षालयहरु अब प्राविधिक र सीपयुक्त शिक्षा दिन तम्तयार बन्न जरुरी छ ।


काठमाडौं महानगरपालिका वडानं १३ का वडाध्यक्ष  एवं विद्यालय व्यवस्थापन समिकिा अध्यक्ष  ध्रुवनारायण मानन्धरले विद्यालय निरन्तर गुणस्तरीय शिक्षाका लागि क्रियाशील रहँदै आएको बताए । विव्यस, समुदाय, प्रद्यानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक, सहयोगदाता, सरोकारवाला सबैको सामुहिक मेहनतले विद्यालय यो अवस्थामा आएको बताउँदै मानन्धरले आगामी दिनमा अझै राम्रो गरेर देखाउन प्रतिवद्ध रहेको स्पष्ट पारे ।


विद्यालयका प्रद्यानाध्यापक जानुका नेपाल पौडेलले निजी विद्यालयहरुले छानेर छाडेका, अत्यन्त न्युन आर्थिक स्रोत भएका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा दिइ विद्यालयले निरन्तर उत्कृष्ट नतिजा ल्याउन सफल भइरहेको बताइन । 'हामी निरन्तर एसएलसी/एसइइमा शत्प्रतिशत र कक्षा ११ र १२ मा ९० प्रतिशत माति नतिजा ल्याउन सफल हुँदै आएका छौं ।' प्रद्यानाध्यापक नेपालले भनिन्–'समुदाय, विद्यालय परिवार र सहयोगी हातहरुको सामुहिक प्रयासबाट यो सम्भव भएको छ । '

कार्यक्रममा निमित्त शिक्षा सचिव डिल्लीराम रिमाल, जिल्ला समन्य समितिका प्रमुख शिवसुन्दर राज वैद्य, शिक्षा विभागका महानिर्देशक बाबुरा पौडेल, राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव लक्ष्मीराम पौडेल, जिल्ला शिक्षा अधिकारी प्रकाश सापकोटालगायतको सहभागिता रहेको थियो । कार्यक्रममा उत्कृष्ट शिक्षक, विद्यार्थी तथा अभिभावकहरुलाई सम्मान गरिएको थियो ।


Comments: