घर छेउकै विद्यालय नपढी आधा घण्टाको दुरी पैदलयात्रा गर्दै बोर्डिङ जाने विद्यार्थीको लावालस्कर देख्दा रोल्पा नगरपालिका २ का जीतवहादुर डाँगीलाई अनौठो लाग्थ्यो । पूर्वाधारयुक्त विद्यालय, दक्ष एवम् तालीम प्राप्त शिक्षक र शान्त वातावरण रहेको विद्यालय किन विद्यार्थीको गन्तव्य बन्न सकेन उनलाई यही विषयले घोचिरहन्थ्यो । एक दशक अघि उनले भोगेको विद्यालय र अहिले आफ्नै आँखाले देखेको विद्यालय बीचको आकाश–पाताल अन्तरको साक्षी पनि आफै भएका छन डाँगी ।

तर, सदरमुकाम लिवाङमा रहेको बालकल्याण नमूना माध्यमिक विद्यालयले बितेको एक दशक यता गरेको शैक्षिक सुधारसँगै अभिभावकहरुको आकर्षण समेत बढेको छ । सरकारी विद्यालयमा राम्रो पढाइ नहुने भन्दै निजी विद्यालयतर्फ आकर्षण बढीरहेको बेला सो सामुदायिक विद्यालय भने अभिभावकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ ।

पहिले विद्यालयको कथा फरक थियो । जिल्लाकै एक पुरानो माध्यमिक विद्यालयको रुपमा रहेको सो विद्यालय २०२३ सालमा स्थापना भएको हो । २०५२ साल देखि उच्च माविस्तरमा पठन–पाठन शुरु गरेको सो विद्यालय विगतमा राजनीतिक कारखानाको रुपमा परिचित थियो । विद्यालय राजनीतिक क्रिडास्थल भएको भन्दै सचेत अभिभावकहरु सो विद्यालयमा अध्ययन गर्दै गरेका आफ्ना छोराछोरी निजी विद्यालयमा भर्ना गर्ने गर्दथे । विद्यालय आसपासका अभिभावकले समेत आफ्ना छोराछोरी त्यहाँ नपढाएर निजी विद्यालयमा पठाउने गर्थे । सरकारी विद्यालय पढाए छोराछोरीको भविष्य अनिश्चित हुने भन्दै सुनिश्चित भविष्यका लागि अभिभावकको छनौट निजी विद्यालय हुने गर्दथ्यो । परिणाम स्वरुप विद्यालयको नतिजा समेत हरेक वर्ष खस्कदै जानुको साथै जिल्लास्तरमा हुने अन्य कार्यक्रममा समेत सो विद्यालयको प्रस्तुती निकै कमजोर हुने गर्दथ्यो ।

व्यवस्थापकीय परिवर्तन र प्रशासनिक सुधार पछि भने अहिले सो विद्यालय जिल्लाकै नमूना विद्यालयको रुपमा स्थापित भएको छ । शिक्षा विभागले एक निर्वाचन क्षेत्र एक नमूना विद्यालयको अवधारणा अनुसार रोल्पा जिल्लामा नमूना विद्यालयको रुपमा छनौट भएका २ विद्यालय मध्ये सो विद्यालय एक हो । अभिभावक, विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुको लगातारको लगावका कारण विद्यालयको सुधार सम्भव रहेको विद्यालय व्यवस्थापन समितिका सदस्य खटकवहादुर खत्रीले प्रतिकृया दिए । ‘अभिभावकको निरन्तर निगरानी, विद्यालय व्यवस्थापन समितिको खटनपटन एवम् जिम्मेवारी बोध तथा शिक्षकहरुमा आएको सेवाभावकै कारण विद्यालयको शैक्षिक सुधार सम्भव भएको हो,’ सदस्य खत्रीले भने । विद्यालयमा आएको परिवर्तन सँगै निजी विद्यालय छाडेर सो विद्यालयमा अध्ययन गर्नेहरुको भिड लाग्ने गरेको छ ।


शिक्षकहरुमा कर्तव्य प्रतिको जिम्मेवारी, विद्यार्थीहरुमा अनुशासन र पढ्नु पर्छ भन्ने भित्री अठोट एवम् अभिभावको निरन्तर सहयोग र निगरानीका कारण विद्यालयको शैक्षिक सुधार सम्भव भएको विद्यालयका प्राचार्य मधुसुदन पोखरेलले बताए ।  विद्यालयको समग्र अवस्था सन्तोष गर्ने स्थितिमा पुगेपनि अझै धेरै गर्न वाँकी रहेको पोखरेलले प्रतिकृया दिए । विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनको समीप सम्बन्ध र जिम्मेवारी प्रतिको बुझाइमा एकरुपता नहुँदासम्म विद्यालयको परिवर्तन असम्भव रहेको पोखरेलले अनुभूती रहेको छ । वर्षेनी २/३ सय विद्यार्थी निजी छाडेर आफ्नो विद्यालयमा आउने गरेको पोखरेल निर्धक्क सुनाउछन् ।

चालु शैक्षिक सत्रमा सो विद्यालयमा शिशु कक्षादेखि कक्षा १२ सम्म २ हजार २९४ विद्यार्थी रहेका छन् ।  विद्यालयले हाल शिशु कक्षा देखि कक्षा ८ सम्म अंग्रेजी माध्यमबाट पढाउँदै आएको छ । आगामी २ वर्ष भित्र कक्षा १० सम्म नै अंग्रेजी माध्यमवाट पठन–पाठन गराउने विद्यालयले जनाएको छ । शिशु कक्षादेखि कक्षा ५ सम्म अंग्रेजी माध्यम अनिवार्य बनाइएको छ भने कक्षा ६ देखी १० सम्म अंग्रेजी र नेपाली माध्यमका दुई माध्यममा पढाइ हुँदै आएको छ ।

‘सोही विद्यालयमा अध्ययन गरेका तथा राम्रो निजी विद्यालयबाट आएकाहरुकालागि अंग्रेजी माध्यम र अन्य विद्यालयबाट आएका विद्यार्थीहरुका लागि नेपाली माध्यमको व्यवस्था गरेका छौं’–  प्राचार्य पोखरेलले भने ।

विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान, मानविकि, व्यवस्थापन, शिक्षा र कम्प्युटर विज्ञानको पढाइ भइरहेको छ । केही वर्षयता सो विद्यालयले प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद्बाट सम्वन्धन प्राप्तगरि सव–ईन्जिनियर र सव–ओभरसियर विषयमा समेत पठन–पाठन गर्दै आएको छ । जिल्लामा एसएलसीको नतिजा १५ प्रतिशत हुँदा सो विद्यालयले भने हरेक वर्ष ७५ प्रतिशत भन्दा वढी नतिजा दिँदै आएको छ ।

जिल्ला स्तरमा सञ्चालन गरिने अन्तर विद्यालय खेलकुद, सांस्कृतिक तथा साहित्यिक कार्यक्रमहरुमा समेत सो विद्यालयले राम्रो नतिजा ल्याउँदै आएको छ । हरेक वर्ष सञ्चालन गरिने माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा समेत विगत ६ वर्ष यताका सवै शिल्ड सो विद्यालयले कव्जा गर्दै आएको  विद्यालयका खेल शिक्षक हरिश वलीले जानकारी दिए ।

खेलकुदलाई प्रोत्साहन गर्न भन्दै छुट्टै खेल शिक्षकको व्यवस्था समेत गरेको छ विद्यालयले जनाएको छ । कक्षा कोठा अनुगमनकालागि हरेक कक्षा कोठामा सिसि टिभिक्यामेरा जडान गरिएको छ । विद्यालयका प्राचार्यले सिसि क्यामेरा मार्फत हरेक कक्षा कोठाको निगरानी गर्ने गर्दछन  । विद्यालयले हालै डिजिटल हाजिरीको समेत व्यवस्था गरेको  छ ।

विद्यालयमा बढ्दै गएको विद्यार्थी संख्याको तुलनामा मानवीय र भौतिक संरचनाको व्यवस्थापनमा चूनौती थपिएको विद्यालय व्यवस्थापन समितिका सदस्य पवित्रा आचार्यले बताईन । वर्षेनी ठूलो संख्यामा नयाँ विद्यार्थी थप हुँदै जाँदा शिक्षकको संख्या पनि थप्नु पर्ने र कक्षा कोठा समेत थप गर्नु पर्ने भएकाले विद्यालयलाई ठूलो व्ययभार  हुँदै आएको आचार्यको भनाई छ । कक्षा ६ देखि १० सम्म २ वटा भाषामा पठन-पाठन गर्नु पर्दा दोव्वर जनशक्तिको व्यवस्थापन गर्नु परेकाले थप व्ययभार  हुँदै आएको उनको भनाई छ । विद्यालयले अभिभावकहरुलाई  सन्तुष्टी दिन सके पनि यसको थप सुधारका लागि विद्यालय व्यवस्थपान समिति र विद्यालय प्रशासन गम्भिरताका साथ लागि परेको उनको भनाई छ ।

विद्यालयले आफुहरुको लागि गरेको लगानीले विद्यार्थीहरु सन्तुष्ट रहेको कक्षा १० का छात्र सन्तोष विष्टले  बताए । एसईइ परिक्षाका लागि कक्षा १० का सवै विद्यार्थीहरु मंसिरदेखि चैत्र सम्म विद्यालमै आवासीय सुविधा सहित  तयारी गर्ने गरेको विद्यालयका होस्टेल शिक्षक हरिप्रसाद घिमिरेले जानकारी दिए । केही कक्षा कोठामा  विद्यार्थिको चाँप अधिक रहेकाले पठनपाठनमा समस्या आउने गरेको विद्यार्थीहरुले प्रतिकृया दिएका छन् ।

बन्द हड्तालको पहिलो निसाना विद्यालय हुने र विभिन्न राजनैतिक दल संवद्ध विद्यार्थी संगठनहरुले समेत राजनैतिक कार्यक्रममा प्रयोग गरेको तर्फ भने विद्यार्थी हरु असन्तुष्ट छन ।  ‘हामी शान्त ढंगले पढ्न चाहान्छौ । पढ्ने उमेर भएकाले यतिवेला हामीलाई कुनै पनि राजनैतिक दलको कार्यक्रम प्रति सरोकार छैन विद्यालयले त्यही अनुसारको वातावरण तयार गरोस ‘-विद्यार्थी हरु कक्षा १० का छात्र सन्तोष विष्टले भने  ।

प्रतिकृया दिनुहोस्