२०७६ असोज २९ गते

विद्यार्थी र शिक्षकको छुट्टाछुट्टै आन्दोलन

रोल्पा । जलजला बहुमुखी क्याम्पसका विद्यार्थी र शिक्षकले छुट्टाछुट्टै आन्दोलन गर्दै आएका छन् । क्याम्पसमा विभिन्न समस्याले पठनपाठन प्रभावकारी हुन नसकेको भन्दै सातादेखि शिक्षक विद्यार्थी आन्दोलित भएका हुन् ।

विद्यार्थीले निर्माणाधीन क्याम्पस भवन अलपत्र भएको भन्दै अघिल्लो साता आन्दोलन सुरु गरेका थिए । भारत सरकारको आर्थिक सहयोगमा बन्दै गरेको भवन ६ वर्षदेखि त्यत्तिकै छ । ठेकेदारलाई जिल्लामा बोलाएर निर्माण कार्य छिटो पूरा गर्न दबाब दिएको विद्यार्थी आन्दोलनका संयोजक विनोद डाँगीले बताए । उनका अनुसार भवन निर्माण पूरा गरी चाँडै हस्तान्तरण गर्न विद्यार्थी संगठनसहितले जिविस, प्रशासन र क्याम्पससमक्ष पत्र बुझाएका थिए ।

विद्यार्थीका अनुसार ठेकेदारले एक महिनाभित्र निर्माण पूरा गरेर हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका छन् । भवनको ०६७ भदौ ५ बाट काठमाडौंस्थित ड्रयागन निर्माण कम्पनीका ठेकेदार उत्तम बस्नेतले जिम्मा लिएका थिए । तर अझैसम्म भवन बनिसकेको छैन । भारतीय दूतावासको सहयोगमा ३ करोड ९० लाख लागतमा निर्माणाधीन भवन १८ महिनाभित्र सक्ने गरी सम्झौता भएको थियो । सम्झौता थप भएर २४ महिना भए पनि काम पूरा भएको छैन । क्याम्पस प्रमुख कृष्णप्रसाद न्यौपानेले ठेकेदारलाई पटकपटक बोलाएपछि मात्र आएको बताए ।

यस्तै क्याम्पसका प्राध्यापक तथा कर्मचारीको संघर्ष समितिले संयुक्त रूपमा थालेको आन्दोलन अझै रोकिएको छैन । उनीहरूले क्याम्पस प्रमुख र सहायक प्रमुखको राजीनामा मागेका छन् । हालका प्रमुख र सहायक प्रमुखको अवधि पूरा भएकाले मानविकी र शिक्षा संकायका शिक्षकलाई क्रमशस् प्रमुख र सहायक नियुक्त गर्न संघर्ष समितिले माग गर्दै आएको हो । आन्दोलनकारी शिक्षकमध्येका दीपेन्द्र शाहीले आफ्ना मागको सुनुवाइ गर्न क्याम्पस प्रमुखले केही दिनमा बैठक बोलाउने वचन दिएको बताए । दुई वर्षयता क्याम्पसको नाममा करिब ७ लाख बेरुजु आएको प्रति प्राध्यापक र कर्मचारीले प्रमुखमाथि छानबिन गर्न माग गरेका हुन् ।

शिक्षकले ३ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । क्याम्पसको नियमित स्रोत नभएकाले तलब दिने अवस्था नभएको सञ्चालक समिति अध्यक्ष प्रेमप्रकाश हमालले बताए । कान्तिपुरमा खबर छ ।

Comments: