२०७६ चैत्र १५ गते

अपांगता भएका विद्यार्थीलाई न्यानो कपडा वितरण

महेश न्यौपाने/रोल्पा


रोल्पा नगरपालिकाले अपांगता भएका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । २७ औं अन्तराष्ट्रिय अपांगता दिवसका अवसरमा सदरमुकाम लिबाङको श्रोत कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई नगरपालिकाले न्यानो कपडा वितरण गरेको हो ।


सदरमुकाम लिवाङमा आयोजित एक कार्यक्रम बीच जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजवहादुर वुढामगर, प्रमुख जिल्ला अधिकारी गंजवहादुर एमसी र नगर  प्रमुख पूर्ण केसीले संयुक्त रुपमा उक्त कपडा वितरण  गरेका थिए ।


बालकल्याण नमूना माध्यामिक विद्यालयमा रहेको श्रोत कक्षामा अध्यनरत सुस्त श्रवण १२ र दृष्टिविहिन १३ गरि २५ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको नगरपालिकाले जनाएको छ । अत्यधिक जाडो वढे संगै अपांगता भएका विद्यार्थीहरुको दैनिकी कष्टकर वन्दै जान थालेपछि न्यानो कपडा वितरण गरिएको नगरपालिकाले जनाएको छ ।


श्रोत कक्षामा अध्ययनरत अधिकांश अपांगता भएका विद्यार्थीहरुको आर्थिक अवस्था कमजोर रहेकाले न्यानो कपडाले राहात मिलेको श्रोत शिक्षक ओम सेनले वताए । जिल्ला सदरमुकामदेखी टाढाको दुरीवाट आई उक्त श्रोत कक्षामा  अध्ययन गरिरहेका उनीहरुलाई घरवाट समेत निरन्तर रेखदेख हुन नसक्दा समस्या हुने गरेको सेनले  वताए । नगरपालिका जस्तै अन्य दाताहरुले अपांगता भएकाहरुलाई रेखदेख गर्न सके उनीहरुको पठनपाठनमा सहजता हुने  सेनको भनाई छ ।

Comments: