२०७६ असोज २९ गते

अज्ञात समूहको गोलीबाट शिक्षक गम्भीर

रौतहट । रौतहटको विश्रामपुरमा अज्ञात समूहले मंगलबार राति प्रहार गरेको गोली लागी एक शिक्षक गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा बृन्दावन गाउँपालिका वडा-३ (तत्कालीन विश्रामपुर गाविस वडा नं ४ ) निवासी ४२ वर्षीय रामएकवाल यादव रहेको परिवालले जनाएको छ ।

आफ्नै घरमा सुतिरहेको अवस्थामा राती करिब १ बजे अपरिचित व्यक्तिले घरको झ्यालबाट गोली प्रहार गरेको घाइतेका भाई दीपेन्द्र यादवले बताए ।

उनका अनुसार घाइते यादवको टाउकोमा गोली लागेको छ । उनको बिहान ६ बजे देखि हेटौंडास्थित चुरेहिल अस्पतालमा शल्याक्रिया सुरु गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

शल्यक्रिया अवधीसम्म मुटुको चाल नरोकिए बचाउन सकिन्छ । यदि बन्द भए बचाउन नसकिने चिकित्सकले जवाफ दिएको पारिवारिक स्रोतले बताएको छ ।

यादव मकवानपुर जिल्लाको कमला मावि डडाखरमा विज्ञान विषयको मावि शिक्षकको रुपमा कार्यरत रहेको परिवारले जनाएको छ । अहिले सञ्चालनमा रहेको एसईई परिक्षामा सहभागी रहेको छोरी अमृतालाई सहयोग गर्न विदामा यादव घर आएको परिवारले जनाएको छ ।

यादवका २ छोरा र १ छोरी छन् । उनलाई कसले र किन गोली हानेको अहिलेसम्म खुल्न नसकेको परिवारले जनाएको छ । घटना लगतै परिवारले उनलाई उपचारको लागी हेटौंडा पुर्‍याएको स्थानीयले बताए । घटनास्थलमा राति नै घरबाट करिब २ किलोमिटर टाढा रहेको अस्थायी प्रहरी चौकी विश्रामपुरका असई रवी लामाको नेतृत्वमा प्रहरी टोली घटना भएको १०/१५ मिनेटमै पुगेको परिवारले जनाएको छ ।

घटनाबारे थप जानकारी लिन रौतहटका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेल, सशस्त्र प्रहरी उपरिक्षक भगवान मल्ल, अनुसन्धानका एसपी नवीन अधिकारी लगायतको टोली घटनास्थल पुगेका छन् ।

घटनापछि घाइते शिक्षककी पत्नि प्रमिला देवी यादव लगायत परिवारका सबै भावविह्वल अवस्थामा छन । गाउँ नै त्रासमय बनेको स्थानीयले बताए ।

घटनाबरे प्रतिक्रिया लिन रौतहटका प्रहरी उपरिक्षक यज्ञविनोद पोखरेललाई पटक पटक फोन सम्पर्क गर्दा उनले फोन रिसिभ नगर्दा उनको प्रतिक्रिया उपलब्ध हुन नसकेको र प्रहरीको भनाई आउन सकेको छैन । घटनास्थल सदरमुकाम गौरबाट करिब ३८ किलोमिटर उत्तरपूर्वमा पर्दछ । कान्तिपुर दैनिकमा खबर छ ।

Comments: