काठमाडौं । लगातार प्रश्नपत्र बाहिरिएपछि अनिश्चित कालका लागि स्थगित प्रदेश २ को एसइइ परीक्षा आगामी चैत २२ गतेदेखि निरन्तर हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको सोमबार बिहान बसेको बैठकले स्थगित परीक्षा चैत २२ देखि २९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

यसअघि प्रश्नपत्र बाहिरिएपछि रद्द गरिएको विज्ञान विषयको परीक्षा चैत २२ गते गर्ने तालिका राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको छ । बोर्डका अनुसार, २३ गते सामाजिक, २४ गते स्वास्थ्य तथा जनसंख्या, २५ गते ऐच्छिक प्रथम, २६ गते ऐच्छिक द्वितीय र २७ देखि २९ गतेसम्म प्राविधिक विषयहरुको परीक्षा हुने प्रदेश २ को शिक्षा निर्देशनालयले जनाएको छ ।

प्रदेश–२ मा विज्ञान, सामाजिक र स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको प्रश्नपत्र लगातार बाहिरिएको थियो । प्रश्नपत्र बाहिरिएपछि प्रदेश सरकारले त्यहाँको परीक्षा स्थगनको निर्णय गरेको थियो । अहिले प्रश्नपत्र आउटबारे गठन भएको छानबिन समितिले यसबारे अध्ययन गरिरहेको छ ।

२०७५ चैत्र १८ गते १४:०१मा प्रकाशित

प्रतिकृया दिनुहोस्