काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शुक्रबारदेखि सुरू हुने भनिएको स्नातकोत्तर तहका सबै परीक्षा स्थगित गरेको छ ।

त्रिवि कार्यकारी परिषद्को बिहीबार बसेको बैठकले स्नातकोत्तर तह सेमेस्टर प्रणालीअन्तर्गतका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

‘स्नातकोत्तर तह सेमेस्टर प्रणालीअन्तर्गतका सबै परीक्षा शुक्रबारदेखि लागू हुने गरी अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि स्थगित गरिएको छ,’ त्रि.वि. सभा तथा कार्यकारी परिषद्को सचिवालय प्रमुख  एवं प्रवक्ता सूर्यप्रसाद अधिकारी भने ।

कोरोनाभाइरस (कोभिड(१९) को संक्रमणको त्रासलाई ध्यानमा राखेर परीक्षा स्थगित गरेको उनले बताए । यसअघि शिक्षा मन्त्रलायले बुधबार साँझ सम्पूर्ण शैक्षिक संस्थामा पठनपाठन र एसइईलगायत परीक्षा स्थगित गरेको थियो ।

त्रिवि कार्यकारी परिषद्को बैठक पछि जारी गरिएको विज्ञप्तिमा विश्वविद्यालयहरुका पठनपाठन  चैत्र मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको जनाइएको छ । यस्तै, हिउँदे र वर्षे विदा पाउने शिक्षककर्मचारी र विद्यार्थीहरुलाई आगामी बर्षे विदाबाट मिलान गर्ने गरी विदा दिने निर्णय पनि परिषद्ले गरेको छ ।

‘२०७६ चैत्र ७ गते देखि सञ्चालन हुने परीक्षाहरु अर्को सूचना नभएसम्मका लागि स्थगित गर्न केन्द्रीय परीक्षा सञ्चालक समिति र सम्बन्धित डीन कार्यालयहरुलाई निर्देशन दिने’– परिषद्ले जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

२०७६ चैत्र ६ गते १५:५९मा प्रकाशित

प्रतिकृया दिनुहोस्