२०७६ असोज २८ गते

कक्षा १२ को ‘अर्थशास्त्र’ सच्याउन माग

धरान । पूर्वका लिम्बू राई समुदायबारे भ्रम फैलाउने गरी लेखिएको पाठ्यक्रम सच्याउन माग गरिएको छ । आफ्नो समुदायलाई आघात पुगेको भन्दै माध्यमिक तहमा पठनपाठन हुने ‘ग्रामीण अर्थशास्त्र’ पुस्तकको पाठ्यक्रम सच्याउन माग गरिएको हो । पुस्तक बिक्रीवितरण नगर्न आग्रह गर्दै आइतबार विराटनगरस्थित क्षेत्रीय कार्यालयमार्फत राष्ट्रिय परीक्षा परिषदलाई लिम्बू विद्यार्थी मञ्चले ज्ञापनपत्र समेत बुझाएको छ ।

पाठ्यपुस्तक लेखक शिवहरि अर्यालद्वारा लिखित कक्षा १२ को ‘ग्रामीण अर्थशास्त्र’ पुस्तकमा किपटसम्बन्धी भ्रामक कुरा लेखिएको आरोप लगाउँदै मञ्चका अध्यक्ष फिपराज बेघाले आफ्नो संगठनले परिषदसमक्ष पाँच बुँदे माग राखेको बताए । परिषदका क्षेत्रीय प्रमुख दीर्घध्वज चापागार्इंलाई ज्ञापनपत्र बुझाएपछि बेघाले भने, ‘अर्यालद्वारा लिखित पुस्तकमा लिम्बू समुदाय र उनीहरूको भूमिप्रथा किपटबारे गलत कुरा लेखिएकाले किताब बिक्रीमा रोक लगाउन माग गरेका हौं ।’ पुस्तकमा लिम्बू समुदायलाई आप्रवासीकरण गर्ने नियतले लेखकले तथ्य बंग्याएका छन् । सो पुस्तक कक्षा १२ ऐच्छिक विषयका रूपमा पढाइ भइरहेको छ ।


परिषदका क्षेत्रीय प्रमुख चापागार्इंले मागहरू सम्बोधन गर्न परिषद्को क्षेत्राधिकारले नपुग्ने प्रतिक्रिया दिए । उनले भने, ‘अहिलेको परिवर्तित शैक्षिक संरचनाले गर्दा पाठ्यक्रम र पुस्तकसम्बन्धी निर्णय गर्ने अधिकार परिषदसँग छैन ।’ उनले तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद हालको राष्ट्रिय परीक्षा परिषदमा रूपान्तरित भएपछि अधिकार खुम्चिएको बताए ।


मञ्चले अगाडि सारेका मागहरू सम्बोधन गर्ने अधिकार र हैसियत शिक्षा मन्त्रालय मातहत रहेको पाठ्यक्रम विकास केन्द्र सानोठिमीसँग मात्र रहेको उनले प्रस्ट पारे । मञ्चले पुस्तकमा भएको गल्तीलाई नसच्याए आन्दोलन गर्ने चेतावनी दिएको छ । मञ्चका पूर्वसचिव अमित थेवेका अनुसार लेखक अर्यालले पुस्तकको किपट भूमि खण्डमा लिम्बू र राई समुदायलाई राजा प्रतापसिंह शाहको पालामा सिक्किम सरकारले प्रताडित गरेपछि नेपाल प्रवेश गरेका जातिका रूपमा चित्रण गर्दै सताइएका लिम्बूहरूलाई नेपालको पहाडी भागमा सुरक्षा दिँदै तिरोभरो गर्न नपर्ने गरी दिइएको जग्गालाई किपटका रूपमा अथ्र्याएका छन् ।


थेवेका अनुसार सेनकालभन्दा अगाडि नै पूर्वमा किपट प्रथाको अभ्यास सुरु भइसकेकाले नेपालमा आदिवासी लिम्बू राई समुदायको प्राचीनता बुझ्न र भएका गल्तीकमजोरी सच्याउन माग गर्दै मञ्चलगायतका विद्यार्थी संगठनहरूलेगत पुुस ११ गते धरानमा पुुस्तक जलाएका थिए ।


प्रदीप मेन्याङ्बोले कान्तिपुरमा खबर लेखेका छन् ।

Comments: