२०७६ असोज २९ गते

सडकमा नि:शुल्क ट्युसन

इटहरी । आफूले एसएलसीभन्दा बढी पढ्न पाएनन् । पढ्ने चाहना नभएर होइन, आर्थिक अवस्थाले दिएन । पैसा नभएर पढ्न नपाउँदाको पीडा कस्तो हुन्छ चन्द्र भण्डारीलाई राम्रोसँग थाहा छ । आफूले जस्तै पीडा अरूले भोग्नु नपरोस् भन्ने सोचले उनलाई घचघच्यायो । निम्न आय भएका परिवारका केटाकेटीलाई उनले खुला स्थानमै ट्युसन पढाउन थाले । यो क्रम चलेको २२ वर्ष पुगेछ ।

उनको यो अभियानलाई अभिभावकले साथ दिएका छन् । केटाकेटी पठाएर । आफ्ना नानीहरूलाई बिहानै बोरा दिएर ट्युसन पठाउँछन् । विद्यार्थीलाई घामपानीबाट जोगाउन खोलाको छेउमा बाँसको टहरो बनाएका थिए । ‘राम्रै काम पनि सबैलाई कहाँ रुचिकर हुँदो रहेछ र †’ उनी भन्छन्, ‘केके पोल लगाइदिए । नगरपालिकाले भत्काइदियो ।’ अहिले उनी भुइँमै पढाइरहेका छन्, इटहरीको टेंग्रा खोला नजिक धुले सडक छेउमा । यो अवधिमा उनले पढाएका विद्यार्थी सरकारी गैरसरकारी क्षेत्रका विभिन्न ओहदामा पुगे तर उनको पढाउने स्थान र क्रम उस्तै छ । धनकुटाको गोकुण्डेश्वर माविबाट २०४३ सालमा एसएलसी पास गरेका भण्डारी धनकुटा बहुमुखी क्याम्पसमा भर्ना मात्र भए । आर्थिक अभावले पढाइलाई निरन्तरता दिन सकेनन् । पढ्ने इच्छा मनभित्रै दबाएर दैनिक १० रुपैयाँ ज्यालामा काम गर्न थाले । ०४४ सालमा इटहरी झरेर ग्यारेजमा काम थाले । ०५१ सालमा सावित्रीसँग विवाह गरे । ग्यारेजको काम छोडर बाँसको व्यापार थाले । एसएलसी पास गरेर पढाइ छाडेकी पत्नीलाई स्नातकोत्तर गराए । ‘आफूले पढन नपाए पनि श्रीमतीलाई पढाएर आत्मसन्तुष्टि लिएँ,’ उनले भने । सावित्री अहिले इटहरीमै शिक्षण पेसामा छन् ।

विभिन्न एनजीओ आइएनजीओले प्रलोभन पनि देखाए तर उनलाई विश्वासै लागेन । स्थानीयले नै विद्यार्थीका लागि कोठाको व्यवस्था गरिदिए हुन्थ्यो भन्ने उनको चाहना छ । अहिले पनि उनी नर्सरीदेखि कक्षा ७ सम्मका २० जना विद्यार्थीलाई पढाइरहेका छन् । ‘पढ्न आउने अधिकांश बदाम बिक्री गर्ने, चटपटे बेच्ने, चप्पलजुत्ता सिलाउनेका छोराछोरी छन्,’ उनी भन्छन्, ‘कसैले केटाकेटी नपठाए आफैं लिन घरमा पग्छु, अब त मलाई आदत भइसक्यो, केटाकेटी पढाइन भने दिनभरि असजिलो हुन्छ ।’

आफूले पढाएका विद्यार्थी ठूला भएर फर्केर पनि भेट्न नआउँदा भने उनको मन दुख्छ रे । तर विद्यार्थीले बजारतिर अथवा अन्तकतै भेटेर नमस्ते गर्दै आफूलाई चिनाउँदा भने निकै गर्व लाग्ने बताए । सबै विषयको ट्युसन पढाउने उनी अंग्रेजी पढाउन भने अलि गाह्रो लाग्ने बताउँछन् । दमकका स्नातकोत्तर पढ्ने विद्यार्थीले उनको कामको मूल्यांकन गर्दै सम्मान गरे । आफूले निस्स्वार्थ गरेको कामलाई समाजले सम्मान गर्दा खुसी लागेको उनले बताए । कान्तिपुरमा खबर छ ।

Comments: