२०७६ चैत्र १५ गते

उधारोमा सञ्चालन हुँदै हिमाली बहिरा तथा बौद्धिक अपांग होस्टेल

राजन रावत/हुम्ला

जिल्लाको एक मात्र हिमाली बहिरा तथा बौद्धिक अपांग विद्यालयको होस्टेल उधारोमा निर्माण भई सञ्चालन हुँदै आएको छ । नयाँ भवन निर्माण गर्दा रकम जोड्न नसकिए पनि भवनको निर्माण कार्य गर्नै पर्ने भएको हुँदा होस्टल उधारोमा निर्माण भई सञ्चालनमा आएको हो ।

बिद्यालयको होस्टेल निर्माण गर्न हालसम्म कुल ६२ लाख ४६ हजार एक सय ६९ रुपियाँ लागेकोमा १४ लाख १० हजार उधारो मै रहेको साहारा समुहका कार्यकारी निर्देशक सुर्य पौडेलले बताए ।

 होस्टेलको भित्रको फिनिसिङको काम बाँकी रहेको अवस्थामा बाहिरी जस्ता छाउने काम भए पनि अझै धेरै काम बाँकी भएकोले अन्य श्रोत जुट्ने पनि नदेखिए पछि काम कसरी सम्पन्न गर्ने भन्ने चिन्ता रहेको  निर्देशक पौडेलले बताए ।

 जिल्ला मा नै फरक क्षमता भएका बालबालिकाहरुका लागि स्यापना भएको बिद्यालय कुनै निश्चित श्रोत नभएर सहयोगी हातहरुको सहयोगबाटै बिद्यालय सञ्चालन भइरहेको भएपनि अझै होस्टेल सम्पन्न गर्न सहयोगको आवश्यकता रहेको उनले बताए ।

कक्षा एक देखि पाँचसम्म अध्ययन भइरहेको विद्यालयमा हाल ५७ जना छात्र छात्रा आवासीय सुविधा सहित अध्ययन गरि रहेकोले निर्माण मात्र होईन अन्य दैनिक व्यवस्थापन गर्न पनि निकै धौ–धौ हुने गरेको  विद्यालयले जनाएको छ ।

होस्टेल निर्माणमा सीता एयरले नौ क्वीन्टल जस्ता निशुल्क ढुवानी, काठ नयाँ भैरबी गुल्म रानीवनले निशुल्क ढुवानी गरेको थियो भने चीनको गोन्जाउनमा रहेका गैर आवासीय नेपालीहरु, सिमकोट गाउँपालिका, महिला मन्त्रालय, साविकको महिला तथा बालबालिकाको कार्यालयको पनि आर्थिक सहयोग रहेको निर्देशक पौडेलले बताए ।

 केही समय अगाडी आफु पनि बहिरा भएकाले पनि पौडेलले  समुहद्धारा सञ्चालित हिमाली बहिरा तथा बौद्धिक अपांग विद्यालयमा अध्ययनरत छात्र छात्राहरुलाई आफुले पाउने पारिश्रमिकबाट सबै विद्यार्थीलाई एक–एक  कम्बल वितरण गरेका थिए ।

२०७० सालमा स्थापना भएको समुहले यसै शैक्षिक सत्रबाट आफ्नै कक्षा पाँचसम्मको विद्यालय संचालनमा ल्याएको हो ।


Comments: