२०७६ असोज २९ गते

सामुदायिक स्कुल अब्बल

बारा । बाराको निजगढ ८ स्थित गौरीशंकर उच्च माविमा तीन वर्षअघि १ हजार ५ सय विद्यार्थी थिए । अहिले २ हजार पुगेका छन् । चापका कारण विद्यालयले यस वर्ष दुई दिन मात्र भर्ना खुलायो । दुई दिनमा कुल विद्यार्थीको ३० प्रतिशत वीरगन्ज, धनुषा, रौतहट, सर्लाही र जिल्लाकै दक्षिणी भेगबाट भर्ना हुन आए । बाँकी निजगढ आसपासकै अध्ययन गर्छन् । अतिरिक्त क्रियाकलाप र राम्रो नतिजा ल्याउन सफल भएकाले विद्यालयले मन्त्रालय र स्थानीय तहबाट विभिन्न एक दर्जन पुरस्कार पाएको छ ।

६० वर्षीय प्रधानाध्यापक सुदर्शन कोइरालालाई विद्यालय सुधारकै चिन्ता छ । ‘तीन वर्षदेखि दुई दिन मात्र भर्ना खोल्ने गरेका छौं,’ कोइरालाले भने, ‘तर पनि चाप थामिनसक्नु छ । अंग्रेजी माध्यमको कक्षा, अनुशासन, निरन्तर विद्यालय सञ्चालन, अतिरिक्त कक्षा सञ्चालनले आकर्षण बढेको छ ।’

गढीमाईको बकुलियास्थित नेपाल राष्ट्रिय उच्च माविमा समेत यस्तै आकर्षण छ । तीन वर्षयता एक चौथाइ विद्यार्थी बढेर अहिले १ हजार ७ विद्यार्थी छन् । यहाँ पनि कम्प्युटर तथा अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन हुने गरेको छ । प्रधानाध्यापक किशोरी यादव भन्छन्, ‘विद्यालय र विद्यार्थीको भविष्यलाई आत्मासात् गरेर इमानदारीपूर्वक भूमिका निर्वाह गर्दा हाम्रोमाथि भरोसा बढेको छ ।’ दुई वर्षअघि त्यहाँ पुगेका प्रधानाध्यापक शम्भु यादवको नेतृत्वमा शिक्षाको गुणस्तर बढाउन सबै लागेपछि अहिले संख्या एक हजार पुगेको छ ।

कलैयास्थित मदर्सा निमाविमा समेत विद्यार्थीको चाप थामिनसक्नु छ । ‘विद्यार्थी भर्नाका लागि सिफारिस थेगिनसक्नु हुन्छ,’ प्रधानाध्यापक मनोज साहले भने । विद्यार्थीको आकर्षण बढेका यी विद्यालय उदाहरण मात्र हुन् । यस्तै दक्षिणी सीमावर्ती भेगमा अरू पनि सामुदायिक विद्यालय छन्, जसले एसएसलीमा राम्रो नतिजा ल्याएका छन् । जिल्ला शिक्षाका परीक्षा फाँट प्रमुख अशोक रौनियार तीन वर्षयता सामुदायिक विद्यालयको नतिजा २२ प्रतिशतबाट उक्लिएर ३६ प्रतिशतमा पुगेको बताउँछन् । जिल्लाका ७० विद्यालयमध्ये अधिकांशमा विगतको भन्दा राम्रो नतिजा आइरहेकाले आकर्षण बढेको उनले सुनाए । जिल्ला शिक्षा अधिकारी धनप्रसाद पोखरेलले भौतिक पूर्वाधार, विद्यालय व्यवस्थापनमा अभिभावकको सहभागिता, विद्यालय सञ्चालन गर्ने सक्षम नेतृत्व, अंग्रेजी माध्यमको पढाइ र विषयगत शिक्षकको उपलब्धताले सामुदायिक विद्यालयप्रति विश्वास बढ्न थालेको बताए । नवलपरासीस्थित पूर्व–पश्चिम राजमार्ग आसपासका सामुदायिक विद्यालयको परिणाममा सुधार देखिएको छ । जिल्लाका केही सामुदायिकले निजी विद्यालयलाई समेत पछाडि पारेका छन् । सामुदायिकमा पनि अंग्रेजी माध्यमबाट पढाइ हुन थालेपछि अभिभावकले तिनै विद्यालय रोज्न थालेका छन् ।

५ सय ३४ सामुदायिक विद्यालय र २ सय १३ निजी विद्यालय रहेको जिल्लामा १ लाख ६० हजार ३ सय ४६ विद्यार्थी अध्ययन गरिरहेको सहायक जिल्ला शिक्षा अधिकारी तोयानाथ लम्सालले जानकारी दिए । जिल्लाका जनक, भीमसेन, शिव, नेपाल र महाकवि देवकोटा उमावि नमुना विद्यालयका रूपमा चिनिन्छन् । प्रवेशिका परीक्षामा उत्कृष्ट नतिजा दिन सफलसमेत छन् । कावासोती २ स्थित शिव उमावि जिल्लाकै नमुना विद्यालयका रूपमा परिचित छ । जहाँ सीसी क्यामराबाट निगरानीसहित विद्यार्थी अनुपातमा शिक्षकको व्यवस्था गरिएको छ । यो विद्यालयले जिल्ला तहमै उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ । त्यसैले आसपासका निजी विद्यालय विद्यार्थी घट्ने पिरलोमा परेका छन् । निजीमा जस्तै गरेर टाई, जुत्ता लगाएर विद्यार्थी स्कुल जाने र अंग्रेजी माध्यमबाटै पढाइ हुने भएपछि अभिभावकले निजी विद्यालय छुटाएर सामुदायिकमा भर्ना गर्ने लहर बढेको स्थानीय बाबुराम दाहालले बताए । पहाड र भित्री मधेसका विद्यालयमा भने शैक्षिक गुणस्तर खस्कँदो छ ।

उत्कृष्टदेखि दयनीय
रूपन्देहीमा १५ वटा मावि मुलुककै उत्कृष्ट सामुदायिक विद्यालयमा पर्छन् । कक्षाको शैक्षिक उपलब्धि र एसएलसीको नतिजामा उत्कृष्टता हासिल गरेका छन् । बुटवलको कालिका, कान्ति, नवीन औद्योगिक कद्दरबहादुर रीता, मणिग्रामको शान्ति नमुना, गजेडीको प्रगति, लुम्बिनीको तेनुहवा, सैनामैनाको जनकल्याण मावि उत्कृष्टमा दरिएका हुन् । निजी विद्यालय छाडेर यी विद्यालयमा भर्ना हुन आउने विद्यार्थीको लर्को छ । पहाडी जिल्लाबाट छोराछोरी पढाउनकै लागि यहाँ आउनेले अहिले सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गरेका छन् । ‘नतिजा, शैक्षिक वातावरण, व्यवस्थापन र पूर्वाधार सबैमा टप छन्,’ जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले भने, ‘जिल्लास्तरदेखि एसएलसी परीक्षासम्ममा निजीलाई उछिनेका छन् ।’

उत्कृष्ट विद्यालय रहेको जिल्लामै केही विद्यालयको अवस्था भने दयनीय छ । यस्ता विद्यालयको संख्या ४० भन्दा बढी छ । भताभुंग व्यवस्थापन र विद्यार्थी संख्या नभएकै कारण गत वर्ष बुटवलको दीप प्रावि सिद्धेश्वर लालकुमारी उमाविमा गाभियो । यस वर्ष ज्योति प्रावि लक्ष्मीनगरलाई लक्ष्मी माविमा गाभ्ने जिल्ला शिक्षाको योजना छ । बुटवल मावि भौतिक र शैक्षिक दुवै हिसाबमा दयनीय छ । अति विपन्नका छोराछोरी पढ्ने यो विद्यालयलाई शैक्षिक वातावरण बनाउन र विद्यार्थी टिकाउन पटकपटक सचेत गराएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । ५ मिनेटको दूरीमा छन् बुटवल १२ मा मानव ज्ञान उच्च मावि र जनता मावि । मानव ज्ञानमा शिक्षक छन्, विद्यार्थी संख्या अत्यन्तै न्यून छ । जनता माविमा शिक्षक संख्या अति अपूरो छ ।

शिक्षक अभाव
तराईको सुगम पर्साका सामुदायिक विद्यालयमा सधैं शिक्षक अभाव हुने गरेको छ । विद्यार्थी अनुपातमा शिक्षक कम हुँदा पठनपाठन प्रभावित छ । जिल्ला शिक्षाको तथ्यांकअनुसार गत आर्थिक वर्षसम्म जिल्लामा सबै तहमा गरी कुल १ लाख ८ हजार २९ विद्यार्थी छन् । बालविकासतर्फ १२ हजार ६ सय ९९ विद्यार्थी छन् । चालु आवमा थप ५ प्रतिशत विद्यार्थी थपिएको अनुमान छ । सामान्यतया ५० विद्यार्थीको अनुपातमा १ शिक्षक हुनुपर्नेमा जिल्लामा ७३ विद्यार्थी बराबर १ शिक्षक रहेको शिक्षाको तथ्यांकले देखाउँछ ।

‘भर्चुअल’ बाट पढाइ
मकवानपुरका विभिन्न ९ विद्यालयमा गत पुस २४ गतेबाट भर्चुअल प्रणालीबाट कक्षा १० को पढाइ थालिएको छ । भक्तपुरको सानोठिमीस्थित स्टुडियोबाट शिक्षकले पढाइरहेको प्रत्यक्ष प्रसारण हुन्छ । मध्याह्न १२ बजेदेखि दिउँसो २ बजेसम्म गणित, विज्ञान र अंग्रेजीको पढाइ हुन्छ । जुन विषय प्रसारण हुने हो, त्यही विषयका शिक्षकले कक्षाकोठामा सहजीकरण गर्छन् ।


दलित बस्तीमा पढ्ने लहर
सर्लाही । विद्यालयको मुखै नदेखेकी जानकीनगर १ की ५० वर्षीया सञ्जा बैठा आफ्नो नाम लेख्न सक्ने भएपछि खुसी छिन् । बुढेसकालमा नाम लेख्न र हस्ताक्षर गर्न सक्ने भएकोमा उनलाई गर्व छ ।

‘श्रीमानको नाम पनि लेख्न सक्छु,’ उनले भनिन्, ‘एक महिनामा नाम लेख्न सक्ने भएँ । एकदमै खुसी लागेको छ ।’ गाविसस्थित श्रीलंका टापु भनेर चिनिने गाउँमा अधिकांश दलितको बसोबास छ । ठूलो कुलो तरेर जानुपर्ने भएकाले दलित र विपन्न बस्ने उक्त गाउँको नाम नै विस्तारै श्रीलंका टापु भनेर चिनियो ।

सरकारी तहमा साक्षरता अभियान गाउँमा सञ्चालन हुँदै आए पनि श्रीलंका टापुमा कहिल्यै पुगेको थिएन । सञ्चालित साक्षरता कक्षाले भने निकै परिवर्तन आएको छ । आमालाई साक्षर बनाएपछि त्यसको प्रभावले बालबालिका पनि लेखपढ गर्न थालेको उनीहरूलाई पढाउने आरती थापा मगरले बताइन् ।

महिला र बालबालिका गरेर अहिले २० जना दैनिक लेखपढ गर्न आउँछन्् । सुरुमा निस्शुल्क कापीकलम दिएर सुरु भएको कक्षामा त्यसपछि उनीहरूले नै खरिद गरेर पढ्न रुचि देखाएका छन् । ‘मैले मात्र पढेर हुँदैन भनेर बुहारीलाई पनि ल्याउन थालेको छु,’ सञ्जाले भनिन्, ‘नाम लेख्न सक्ने भएपछि श्रीमान् पनि खुसी हुनुहुन्छ ।’ गाउँमा हुने समूहको बैठकमा सुरुमा ल्याप्चे लगाउने सञ्जा अहिले हस्ताक्षर गर्छिन् । लेख्न जान्ने भएपछि इज्जत नै बढेको उनले सुनाइन् । ‘ल्याप्चे लगाउँदा हेपेको जस्तो गर्थे,’ उनले भनिन्, ‘लेख्न सक्ने भएपछि अरूले पनि राम्रो मान्दारहेछन् ।’कान्तिपुर दैनिकमा खबर छ ।

Comments: