२०७६ भदौ २ गते

खुल्यो शिक्षक सरुवा, समन्वय इकाइलाई जिम्मेवारी

काठमाडौं । शिक्षा विभागले शिक्षक सरुवा खुला गरेको छ । विभागकै निर्देशनमा दुई महिना देखि शिक्षक सरुवाको काम रोकिँदै आएको थियो ।

विभागले शिक्षक  दरबन्दी मिलानको काम सकेपछि मात्रै गर्ने गरी रोकिएको शिक्षक सरुवा खुला गर्ने मंगलवार निर्णय गरेको हो । शिक्षा मन्त्री गिरिराजमणी पोखरेल ५ दिने भारत भ्रमणमा जानु अघि पोखरेलकै निर्देशनमा विभागले सरुवा फुकुवाको निर्णय गरेको हो । 


यसअघि विभागले ७७ वटै तत्कालीन जिल्ला शिक्षा कार्यालयहरुलाई २१ चैत्र २०७४ मा चलानी नम्बर ११३ को पत्र काटेर शिक्षक सरुवा सम्बन्धी कार्य नगर्न नगराउन निर्देशन दिएको थियो ।


तर, मंगलवार विभागले चलानी नम्बर ९० को पत्रकाटेर यसअघि रोकिएको शिक्षक सरुवा पूर्ववत रुपमा गर्न गराउन  निर्देशन दिएको शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले जानकारी दिए । पौडेलका अनुसार विभागको जेठ २२ को निर्णय अनुसार सो पत्र ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइहरुलाई पठाइएको हो ।


अब शिक्षक सरुवा जिल्ला समन्वय इकाइबाटै हुने भएको छ । माध्यमिक तहसम्मको शिक्षाको सम्पूर्ण अधिकार स्थानीय तहमा गइसकेको अवस्थामा उनीहरुले शिक्षक सरुवा पनि गर्न पाउनुपर्ने बताउदै आएका थिए ।


अन्ततः शिक्षा विभागले जिल्ला स्थित शिक्षा विकास तथा समन्वय इकाइहरुलाई नै सरुवाको जिम्मेवारी दिएको हो । यसअघि शिक्षा मन्त्रालयले ठूलो मात्रामा समन्वय इकाइमा कर्मचारी सरुवा गरेको थियो ।


विभागले यस अघि समन्वय इकाइलाई शिक्षक नियुक्ति र पदास्थापनको जिम्मेवारी दिइसकेको छ । अब सरुवा भएका कर्मचारीहरुले शिक्षक सरुवा समेत गर्न पाउने भएका छन् ।

Comments: