२०७७ जेष्ठ २१ गते

अस्थायी शिक्षकको सुविधाका सम्बन्धमा नयाँ व्यवस्था, यसरी हुनेछ सेवा अवधि गणना

काठमाडौं । शिक्षा विभागले परीक्षा छाडेर सुविधा रोज्ने अस्थायी शिक्षकहरुका सम्बन्धमा नयाँ व्यवस्था गरेको छ । विभागले सुविधा लिन चाहने अस्थायी शिक्षकहरुको सेवाअवधि गणनाको नयाँ आधार निर्माण गरेको हो ।


पाँचै विकास क्षेत्र र ७५ वटै जिल्ला शिक्षा कार्यालयहरुलाई निर्देशन दिँदै विभागले सुविधा रोज्ने अस्थायी शिक्षकका हकमा सेवा अवधि गणनाको नयाँ आधार र आवेदनका लागि आवश्यक कागजात सम्बन्धी नयाँ व्यवस्था परिपत्र गरेको छ । सो व्यवस्था बैशाख ५ गते मंगलबार भएको मन्त्रीस्तरीय निर्णयका आधारमा गरिएको समेत विभागले स्पष्ट पारेको छ ।


शुद्ध रिक्त दरवन्दीमा अस्थायी नियुक्ति पाइ अविछिन्न रुपमा कार्यरत भई दरखास्त दिने अन्तिम मितिसम्म हुन आउने अवधिलाई सुविधा प्राप्तीकालागि सेवा अवधि मानिने विभागले जनाएको छ ।


त्यस्तै, पहिले तल्लो तहमा अस्थायी नियुक्ति पाई पछि माथिल्लो तहमा अस्थायी शिक्षकमा पुन नियुक्ति लिई निरन्तर कार्यरत रहेका शिक्षकको माथिल्लै तहको सवै सेवा अवधि गणना हुने र बीस वर्ष का लागि अपुग भए तल्लो तहमा कार्य गरेको सेवाअवधि गणना हुने विभागले जनाएको छ । तर सुविधा भने जुन तहको जति सेवा अवधि गणना हुने हो त्यही तहको तलवस्केलको आधारमा सुविधा प्रदान गरिने विभागले स्पष्ट पारेको छ । पहिले माथिल्लो तहमा नियुक्ति पाई तल्लो तहमा झरेकाको हकमा पनि यही नियम लागु हुनेछ ।


आधारभूत तथा प्राथामिक महिला परियोजना अन्तर्गतको दरवन्दीमा नियुक्ति पाई हालसम्म निरन्तर अस्थायी रुपमा कार्यरत शिक्षकको सेवाअवधि नियुक्ति मिति देखि दरखास्त दिने अन्तिम मितिसम्मको गणना हुने विभागले जनाएको छ ।


स्वीकृत प्राप्त दरवन्दीको लियन पदमा नियुक्ति पाई निरन्तर कार्यरत शिक्षकको सेवाअवधि पनि नियुक्ति मिति देखि दरखास्त दिने अन्तिम मितिसम्मको गणना हुने विभागले जनाएको छ ।


त्यस्तै, स्रोतव्यक्ति पदमा शिक्षकको लियन पदमा अस्थायी नियुक्ति भई कार्यरत शिक्षकको हकमा पनि नियुक्ति मिति देखि दरखास्त दिने अन्तिम मितिसम्मको सेवाअवधि गणना हुने विभागले स्पष्ट पारेको छ ।


स्थायी शिक्षकको पदपुर्तीका कारणबाट २०७३ असार १५ पछि विस्थापित सट्टा वा अस्थायी शिक्षकहरुको नियुक्ति मिति देखि विस्थापित मितिसम्मको सेवा अवधि गणना हुने विभागले जनाएको छ ।


स्वीकृत दरवन्दी वा त्यसको लियन वा सट्टामा अस्थायी नियुक्ति पाई २०७३ असार १५ सम्म कार्यरत रही त्यसपछि राजीनामा दिएका वा मृत्युभएका शिक्षकहरुको भने नियुक्ति मितिदेखि राजीनामा वा मृत्यु भएको सम्मको सेवाअवधि गणना हुने विभागले जनाएको छ ।


अस्थायी स्रोतव्यक्तिको रुपमा नियुक्ति पाई अविछिन्न रुपमा कार्यरत स्रोतव्यक्तिको हकमा नियुक्ति पाएको मितिदेखि परीक्षाको अन्तिम मितिसम्मको सेवाअवधि गणना हुने विभागले स्पष्ट पारेको छ ।


 

Comments: