२०७६ असोज १ गते

बालबालिकालाई ‘शैतान’ भनेर हामी के गर्न खोज्दैछौं ?

 


जितेन्द्र देव पाण्डे


समाजमा बालबालिकालाई बोलीचालीका क्रममा सम्बोधन गर्दै ‘तँलाई राक्षस, शैतान !’ आदि भन्ने गरिन्छ । यो कुराले उनीहरुको कस्तोखाले छवी निर्माण भइरहेको छ ? यसपटक त्यसलाई बुझाउने प्रयास गरिएको छ । ताकि बोलीचालीको भाषामा बालबालिकाप्रति हुने सम्बोधनलाई एक व्यापक दृष्टिकोणबाट हेर्न सकियोस् ।


‘बच्चाहरु धेरै शैतानी गर्छन्’ प्रायः यो कुरा घर तथा विद्यालयमा बुुवा, आमा, अभिभावक, शिक्षक एवं अन्य मान्छेहरुबाट सुन्ने गरिन्छ । ‘शैतानी’ वास्तवमा यसको अर्थ के हो ?


के बच्चाहरु साँच्चै यस्तै गर्छन् त ?
अरबी भाषामा शैतानको शाब्दिक अर्थ हुन्छ हैवान, सबैभन्दा गलत काम गर्ने व्यक्ति । ‘इब्राहिमी धर्ममा सबैभन्दा खराब हस्तीको नाम हो, जो दुनियाँमा सारा खराबीको प्रतिक हो । यी धर्ममा जसरी ईश्वरलाई सबै राम्रा र असल कुराहरु प्रदान गरिएको हुन्छ भने यस्तै खराबीहरु शैैतानलाई ।  मान्छेहरुलाई बहकाएर ईश्वरको सत्मार्गको विरोध गर्ने शक्ति जसलाई इस्लाम र इसाई धर्ममा एक दुष्ट वा पतित देवदुतको रुपमा चित्रण गरिएको छ । हिन्दू धर्ममा यसलाई दुष्ट वा राक्षस, दानव भनिन्छ । जसको अर्थ खराब बानी भएको, कुटिल मनोवृत्ति भएको, दुर्जन, दूषित, सदोष, निकम्मा, नीच हुन्छ । यो पनि मानिन्छ कि दुष्ट व्यक्ति मान्छेलाई बहकाएर कुमार्ग लग्छ साथै अन्तै मोड्छ ।


हाम्रो समाजमा यो पनि भनिन्छ कि ‘बच्चाहरु भगवानका रुप हुन् ।’ भगवान् जो मात्र अन्यको भलाइ गर्छन । जसलाई अनुचित कार्यको विरोधी एवं न्यायको प्रतिक मानिन्छ । अर्कोतिर जब यो वाक्य कानमा गुञ्जन्छ कि बच्चाहरु शैतानी गर्छन् । तब कथित आफ्ना भन्नेहरुको एउटा बडो विरोधाभास देखिन्छ । कि मान्छेहरु भगवान् तथा शैतानलाई एकैखाले मान्छन् । या त उनीहरु भगवान र शैतानबीचको मूल भेद जान्दैनन् । तर, मान्छेहरु यति सोझा पनि छैनन् जस्तो कि उनीहरुलाई दुष्ट, शैतान र असल देवताको अन्तर नै थाहा नहोस् । नत्र मान्छेहरु दशैंमा रावणको वध, होलीमा शैतानको पुत्ला दहन गर्दैनथे । त्यसो भए बालबालिकाको तुलना शैतानसँग किन हुन्छ ? कतै यस्तो त होइन बालबालिकाको कार्य एवं शैतानको कार्यलाई समान रुपले हेर्छन् ? यसो पनि नहुन सक्छ, किनभने मान्छेहरु शैतान या राक्षसको बारेमा लामो प्रवचन दिन सक्छन् ।


बालबालिकाको स्वभावलाई ‘शैतानी’ भन्नु कति सही ?
शैतानी के हो ? यसको परिभाषाका बारेमा अघि नै छलफल गरिसकिएको छ, त्यसो भए बालबालिकाहरुले सोही परिभाषाअनुसारको काम गर्छन् त ? यो अवलोकनको विषय हुन सक्छ । एकपल्ट हेर्न सकिन्छ । बालबालिकाको गतिविधि माथि एक पल घरमा, अर्को पल खेल मैदानमा तथा केही समय छतमा चंगा उडाइरहेका बेला । एउटा काममा धेरै समय भुल्न उनीहरु मन पराउँदैनन् । एउटा काम गर्दागर्दै बीचमै छाडेर उनीहरु अर्को काममा लागिहाल्छन् । जति नै चर्को घाम लगोस्, उनीहरु खेल्न छाड्दैनन् । दाजूबहिनी, साथीभाइहरुसँग यस्तो झगडा गर्ने लड्ने गर्छन् कि उनीहरुको जन्मजात शत्रुता होस् । कुनै समान उठाउँछन्, हातबाट छुटेर खस्न पुग्छ र फुट्छ । बुवाआमा, भाईबहिनी खेलाउन चाहन्छन् तर उनीहरु झिझिन्छन् । खाना खाँदैनन् । कुनै समान देखेर मन पराए त्यसलाई पाउन मरिहत्ते गर्छन् । रुन्छन्, कराउँछन् । घरै थर्काछन् । गुलेलीले बाटामा हिँड्ने मान्छेलाई हान्छन् । पढ्ने पुस्तक जतन गर्दैनन् । च्यात्छन् । कक्षामा साथीहरुसँग झगडा गर्छन्, लड्छन् । शरिरमा चोट लगाउँछन् । पढ्ने बेला कहिले झ्यालबाट बाहिर हेर्छन् भने कहिले साथीलाई । कहिले त शिक्षकलाई नै प्रहार गर्न पछि पर्दैनन् । घरबाट स्कूल जाँदा वा फर्कँदा बिराम नगरेको दिनै हुँदैन ।

कस्तो हुन्छ बालबालिकाको स्वभाव ?
बच्चा यस्तो चकचक किन गर्छन् ? के उनीहरु आफ्ना परिवार वा आफन्तलाई नराम्रो गर्न चाहन्छन् । मूल रुपमा हेर्ने हो भने बच्चाहरुका यी क्रियाकलाप स्वभावतः हुँदैनन् । न कि उनीहरु द्वेष भावले यस्तो गर्छन् । यस्तो होइन कि उनीहरुमा इष्र्या हुँदैन, हुन्छ तर ती क्षणिक हुन्छन् । उनीहरुमा कसैको सर्वनाश गर्ने संकल्पचाहिँ हुँदै हुँदैन । यो कुरा कथित् ठूला मान्छेहरुले बुझ्न जरुरी छ । एउटा बच्चा छ, जसले दुध मागिरहेको छ, उसलाई त्यो तुरुन्त नमिले उसले आफ्नो क्षमता या परिस्थितिका आधारमा तीन कार्य गर्दछ । एउटा, जुन पनि समान उसको आसपासमा छ भने त्यसलाई हानी पु¥याउँछ । दोस्रो, रुन्छ र तेस्रो तोडफोडले पनि काम बनेन भने फेरि रुन्छ । तोडफोड र रुने दुबै । बच्चाहरुबाट गर्ने दुबै गतिविधि आफ्नो कुरा मनाउने हतकण्डा मात्रै हो । ऊसँग अन्य माध्यम नै हुँदैन । यही प्रकारको माग यदि कोही युवा जवान मान्छेले गर्छ र समयमा पूरा हुँदैन भने मनमनै कुँडिन्छ । इख मात्रै राख्छ । किनकी ऊ समझदार बन्दै गएको हुन्छ । अतः उसले आफूभित्र उठ्ने हरेक छालहरुलाई रोक्ने गर्दछ । साथै ऊ रिसाएर त्यहाँबाट हिँड्छ वा अप्रत्यक्ष कुनै यस्तो गरिदिन्छन् कि उसले भनेको नमान्ने थोरै समय भएपनि चिन्तित होस् ।  


अब यो बुझ्नुपर्ने कुरा हो कि अधिक घातक चाहिँ के हो ? बच्चाहरुबाट हुने प्रतिक्रिया वा युवाको अप्रत्यक्ष घात ? यी दुईमा शैतानीको श्रेणीमा कसलाई राख्ने ? सोची–सम्झी गरेको षड्यन्त्र या अनभिज्ञ गतिविधिहरुलाई ? प्रेमचन्दले बच्चाको भित्र उठ्ने असंख्य प्रश्नहरुमा आधारित भएर एउटा कथा लेखेका छन् ‘नादान साथी’ । त्यस कथामा आमाबुवाको व्यस्तताको कारण आफ्ना प्रश्नको जवाफ नपाउने केशव र श्यामाले जे पनि गरे, मात्र आफ्नो जिज्ञासा शान्त पार्नका लागि मात्रै गरे । तर, परिणामतः चराको अण्डा खसेर फुटेर जान्छ, यो उनीहरुलाई पनि अप्रत्याशित लाग्छ ।


बालबालिकामा प्रश्न एउटा हुरी जसरी गुम्सिएको हुन्छ । उनीहरु जवाफ खोज्न चाहन्छन् । जब ठूलामान्छे उनीहरुको सहयोग गर्दैनन् तब उनीहरु स्वयं विभिन्न प्रयोग गर्न थाल्छन् । के बच्चाहरुले शंका समाधानका लागि गर्ने अनुसन्धानलाई  शैतानी भन्न मिल्छ ? या उनीहरुको स्व–विनोदलाई  शैतानी भन्ने ? कि आफ्नो माग पूरा गर्न गर्ने हठलाई शैतानी भन्ने ? यदि यी गतिविधिलाई हामी शैतानी भन्छौं भने त्यसोभए विद्धानहरुले गरेको शैतानको परिभाषाहरुको परिवर्तन गर्न आवश्यक छ । यो पनि बुझ्न आवश्यक छ कि यसो गर्दा उनीहरु आत्मग्लानी महशूस गर्न थाल्छन् । आत्मग्लानी महशूस गर्ने बालबालिकाको आत्मविश्वासमा कमी आउँछ । उनीहरु तपाईँप्रति शंका गर्न थाल्नेछन् । उनीहरु अनुभव गर्न थाल्नेछन् कि उनीहरुमाथि कुनै अन्याय भइराखेको छ । यो कुरालाई ध्यान दिन जरुरी छ कि बालबालिका कतै अपराध बोधबाट ग्रसित त भइराखेका छैनन् ।


अन्त्यमा, यी  बाल–मन, बाल–चेष्टा, बाल–क्रीड़ालाई समाजमा घातक प्राणीसँग गरिने तुलनाबाट बचाउन आवश्यक छ । ताकि बालबालिका स्वस्थ रुपमा सोच्न सकून्  तथा  उचित–अनुचितलाई फरक  गर्न सकून् । यसको दायित्व प्रत्येक अभिभावक, शिक्षक एवं समाजका युवा एवं वृद्धाहरुको हो । बालबालिकालाई ‘शैतान !’ नभनेर उनीहरुलाई खेलाड़ी, अभिनेता वा अन्य राम्रा सम्बोधन गर्दै उनीहरुको गतिविधिलाई क्रीड़ा, मनोरञ्जन, शोध इत्यादि नाम दिन सकिन्छ । तब मात्रै हामीले बालबालिकाको बालापनलाई न्याय गरेको ठहर्नेछ ।


(एजुकेशन मिररबाट । भाषानुवादः रोशन क्षेत्री गाउँले)

 

साभार :आजको शिक्षा साप्ताहिक

Comments: