२०७६ भदौ ३१ गते

माष्टर दाजूको आइडिया


नन्दलाल आचार्य
शिक्षक, श्री महावीर मावि, विषहरिया–४, सप्तरी ।


वि. सं. २०३६ सालतिर नरे माइलो ६ वर्षमा हिँड्दै थियो । उसलाई घरमा पढाउने बाह्र वर्ष जेठा दाजु थिए । ऊ दाजूलाई माष्टर दाजु भन्थ्यो । आमाबुबाले उनलाई भनेका थिए– ‘भाइलाई सावा अक्षर र बाह्रखरी जान्ने बना । त्यसपछि तेरो कर्तव्य सकिन्छ ।’


माष्टर दाजुको नपिटी नसिकाउने बानी थियो । त्यसका लागि विभिन्न आइडिया लगाइरहन्थे । एकान्त भेट्नासाथ आमा भन्नुहुन्थ्यो– ‘अरू कुरा ऊ पछि आफैँ खोज्छ, अहिले फकाएर अक्षर चिना, शारीरिक दण्ड दिन सख्त मनाही छ । माया गरेर पढा ।’


‘बिनासित्ती माइलोलाई छोइस् कि तेरो खैरात छैन ।’ बेला–बेलामा बुबा पनि चेतावनी दिइरहनुहुन्थ्यो ।


स्कूल लैजानाका लागि बजारमा किन्न पाइने हलुका खालको सिलोट प्रयोग गरे पनि घरमा भने नरे माइलाले काठको बडेमानको सिलोटमा रातो माटाको धुलो हाली बाँसका सिन्काले लेख्नु पथ्र्यो । एक दिन माष्टर दाजूले सिलेटमा ‘क’ लेखिदिए र त्यो हेरिहेरिकन दिनभरि लेख्न र पढ्न सिक्ने अनि साँझमा लेखेर देखाउने कार्य सुम्पिए । छुट्टिँदा, छुट्टिँदै चेतावनी दिए– ‘खबरदार ! मैले लेखेको क जस्ताको तस्तै हु्नुपर्छ ।’


ऊ ‘क’ लेखिएको धुलौटे सिलोट टाउकामा होसियारपूर्वक बोकेर बाख्रा चराउन जङ्गल पुग्यो । लेख्न बस्यो । हेर्छ त धुलामा ‘क’ बिलाइसकेको थियो । राम्ररी खोज्यो कतै पाएन । ला, अब बर्बाद भयो भन्ठान्यो । र, आफ्नै अनुमानले त्यस ठाउँमा ‘क’ लेख्यो ।


त्यसैलाई हेरी–हेरी उसले सिक्ने प्रयास ग¥यो । धेरै बेरको प्रयासपछि अन्ततः सिकी छाड्यो ।
साँझमा माष्टर दाजू र विद्यार्थी भाईबीच संवाद सुरुवात् भयो ।


–‘ए केटा ! ‘क’ लेख्न सिकिस् ?’
–‘सिकेँ । सजिलो भयो । अब  कहिल्यै बिर्सन्नँ ।’ नरेले प्रशन्न चित्तमा वृत्तान्त बतायो ।
–‘ल, लेखेर देखा ।’


नरेले हत्त न पत्त आफूले सिकेको ‘क’ लेखेर देखाइदियो । वास्तवमा त्यो ‘क’ नरेको अन्तर्हृदयले अनुमान गरेको ‘क’ थियो । देवनागरी लिपीको कुनै वर्ण थिएन ।


देख्नासाथ माष्टर दाजू मुस्कुराए अनि आफ्नो हात नरे माइलाका कन्सिरीतिर बढाए ।

साभार : आजको शिक्षा साप्ताहिक

Comments: