२०७७ जेष्ठ २१ गते

शिक्षा मन्त्रीलाई बहिस्कार गर्ने ९ विद्यार्थी संगठनको निर्णय

काठमाडौं । शिक्षा ऐनको नवौं संशोधन प्रस्ताव गरी सार्वजनिक शिक्षा ध्वस्त पारेको भन्दै विद्यार्थी संगठनहरुले  वर्तमान शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई सार्वजनिक बहिस्कार गर्ने निर्णय गरेका छन् ।


बुधबार बसेको नेविसंघ बाहेक नौ विद्यार्थी संगठनहरुको संयुक्त बैठकलेनवौं संशोधन विधेयक प्रमाणिकरण नगर्न राष्ट्रपति विद्यादेवी भण्डारीको ध्यानाकर्षण गराउने निर्णय समेत गरेका छन् ।


बैठकमा अनेरास्ववियु, अखिल क्रान्तिकारी, अनेरास्ववियु पाँचौं, अनेरास्ववियु छैठौं, नयाँशक्ति विद्यार्थी युनियन, राजपा विद्यार्थी संगठन, लोकतान्त्रिक विद्यार्थी संगठन लगायतका नेताहरु सहभागी थिए ।


मन्त्री श्रेष्ठले नेपालको शिक्षा क्षेत्रलाई तहसनहस पारेकाले बहिस्कार गर्ने निर्णय गरेको अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले बताए ।


बैठकपछि जारी संयुक्त विज्ञप्तिमा लेखिएको छ, ‘शिक्षा ऐनको नवौं संशोधन, सीटीईभीटीबाट कलेजलाई सम्वन्धन दिने निर्णय बदनियतपूर्वक तरिकाले गराउने र नेपालको शिक्षा क्षेत्रलाई तहस नहस पार्ने मुख्य पात्र वर्तमान शिक्षा मन्त्रीलाई संयुक्त विद्यार्थी संगठनले सार्वजनिक बहिस्कार गर्ने तथा देशभरिका विद्यार्थीहरुलाई बहिस्कारको लागि अपिल गर्ने निर्णय गरिएको छ ।’


विद्यार्थी संगठनहरुले सिटिइभिटिले दिएका सम्बन्धन फिर्ता हुनुपर्ने, सरकारले तोकेको मापदण्ड अनुसार एमबिबिएसमा विद्यार्थी भर्ना हुनुपर्ने, आंशिक प्रध्यापकहरुलाई प्रतिस्पर्धाबाट मात्रै छनौट गरिनुपर्नेलगायतका माग राखेका छन् ।

Comments: