२०७६ असोज ३० गते

गाउँमा प्रविधियुक्त आधुनिक पुस्तकालय

सिन्धुपाल्चोक । जिल्लाका दुई गाविसमा पहिलोपटक प्रविधियुक्त आधुनिक पुस्तकालय स्थापना भएको छ । भोटसिपा र ठोकर्पा गाविसमा रिड सूचना तथा स्रोत केन्द्र (रिड नेपाल), ब्युटिफुल स्टोर फाउन्डेसन र साम्सुङ इन्जिनियरिङ साउथ कोरियाको आर्थिक तथा प्राविधिक सहयोगमा आधुनिक पुस्तकालय स्थापना गरिएको हो । औपचारिक शिक्षाका लागि विद्यालय जाने सबै प्रकारका विद्यार्थी र अनौपचारिक शिक्षा लिन चाहनेलाई समेत लक्षित गरी पुस्तकालय स्थापना गरिएको रिड नेपालकी सूचना तथा स्रोत केन्द्रकी निर्देशक सञ्जना थापाले बताइन् । पुस्तकालय स्थापनामा स्थानीयले पनि आर्थिक तथा श्रम सहयोग गरेका छन् ।

१० आना क्षेत्रफलमा निर्मित इन्द्रावती सामुदायिक पुस्तकालय भोटसिपामा महिला, बालबालिका, सूचना–प्रविधिसम्बन्धी सामग्रीका साथै पुस्तकालय कक्षलगायत सुविधा समावेश गरिएका छन् । पुस्तकालय तथा स्रोतकेन्द्रको १३ कोठे भवनको पूर्व वन तथा भू–संरक्षणमन्त्रीसमेत रहेको माओवादी केन्द्रका सांसद अग्निप्रसाद सापकोटाले उद्घाटन गरेका छन् । त्यसैगरी ठोकर्पा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र भवनको कांग्रेस सांसद मोहनबहादुर बस्नेतले उद्घाटन गरेका थिए । दुवै पुस्तकालयमा विभिन्न विधाका किताब, साहित्यिक पुस्तक, विभिन्न बालमैत्री शैक्षिक सामग्री समावेश गरिएको पाँच थान कम्प्युटर, प्रौढका लागि श्रव्यदृश्य सामग्री, सूचना र तालिम हल, खेलकूद सामग्रीलगायत राखिएका छन् ।

पुस्तकालय स्थापनाले जिल्लाको शैक्षिक विकासमा टेवा पुर्‍याउने जिल्ला शिक्षा अधिकारी निर्मल घिमिरेले प्रतिक्रिया दिए । विकट क्षेत्रमा बस्ने समुदायलाई लक्षित गरी गाउँ–गाउँमा आधुनिक पुस्तकालय स्थापना गर्ने अभियानअन्तर्गत जिल्लाको भोटसिपा र ठोकर्पामा पुस्तकालय स्थापना गरिएको हो । हालसम्म मुलुकभर ६० जिल्लामा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र बनिसकेको बताइएको छ ।

सूचनामा सबैको पहुँच
सुविधासम्पन्न आधुनिक पुस्तकालय स्थापना गरिएपछि भोटसिपा र ठोकर्पाका पाँच हजार स्थानीय लाभान्वित भएका छन् । पुस्तकालय स्थापनापछि गाउँमा उत्साह छाएको पुस्तकालय तथा स्रोत केन्द्रका सल्लाहकार सुदर्शन आचार्यले बताए । इन्टरनेट पुस्तकमार्फत गाउँका सबैले सूचनासँग दैनिक जोडिने अवसर प्राप्त गरेको प्रेस काउन्सिल नेपालका सदस्यसमेत रहेका उनको भनाइ छ । ठोकर्पामा विद्यार्थीदेखि वृद्धवृद्धासम्मले प्रविधियुक्त आधुनिक सुविधामार्फत सूचना समाचार थाहा पाउन थालिसकेको स्थानीय अमृता खड्काले जानकारी दिइन् । निरक्षर वृद्धवृद्धाले श्रव्यदृश्य साधनबाट विश्वका कुरा सुन्ने र देख्ने मौका प्राप्त गरेका छन् । पुस्तकालयले इन्टरनेट, कम्प्युटर नेटवर्किङ, सार्वजनिक टेलिभिजनको सुविधा प्रदान गरेको छ ।

पुस्तकालयकै सहयोगमा स्वास्थ्यसम्बन्धी दैनिक दुई घन्टा परामर्श पुस्तकालय शिक्षा पनि सुरु गरिएको छ । गाउँका महिलालाई स्त्रीरोगसम्बन्धी शिक्षा दिन थालिएको छ । जिल्लाको दुर्गम भेगका भूकम्पपीडितलाई सूचनाबाट सुसूचित गराउन दुवै पुस्तकालयले सहयोग गर्ने अपेक्षा गरिएको छ । नयाँपत्रिकामा खबर छ ।

Comments: