२०७६ असोज २९ गते

खण्डहर बन्दै छात्रावास

सिरहा । सिरहाको सूर्यनारायण–सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पसको करोडौँ मूल्य पर्ने छात्रावास खण्डहर बन्दै गएको छ । आठ वर्षअघि विद्यार्थीबीच भएको विवादपछि छात्रावास अहिलेसम्म प्रयोगविहीन रहेको छ ।

क्याम्पसका अन्य विषयमा प्रमुख र विद्यार्थी संगठनले चासो दिने गरे पनि छात्रावास पुनः सुचारु गर्न कसैले ध्यान दिएका छैनन् । भव्य भवन, फराकिलो क्षेत्र र सफा छात्रावास अहिले कौडीको मूल्यबराबरको बनेको छ । क्याम्पस हाताभित्रै रहेको ३२ कोठे छात्रावास भवन व्यवस्थित र प्रयोगमा ल्याउन क्याम्पस प्रशासनले ध्यान नदिएको गुनासो बढे पनि त्यसको अझैसम्म सुनुवाइ भएको छैन ।

आग्रह नसुनेको गुनासो

छात्रावास भवन प्रयोगमा ल्याउन आफूहरूले धेरैपटक प्रयास गरेको सूर्यनारायण–सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पस अनेरास्ववियु इकाइ कमिटीका अध्यक्ष सुदन कुसियतले बताए । आफूहरूको मागबारे क्याम्पस प्रशासनले बेवास्ता गर्दै आएको उनको भनाइ छ ।

नेविसंघका प्रमोदकुमार यादवले पनि क्याम्पस प्रशासनको लापरबाहीकै कारण छात्रावास प्रयोगविहीन बन्दै आएको बताए । ‘छात्रावास भवन प्रयोगविहीन हुँदा कसको कस्तो स्वार्थपूर्ति भइरहेको छ, थाहा भएन,’ उनले भने, ‘क्याम्पस प्रशासनले छात्रावास भवन अन्य निकायलाई जिम्मा दिन लागेको कुरा थाहा पाउँदा भने हामीले रोकेका थियौँ ।’

यस्तो थियो विवाद

०६४/६५ मा भएको स्ववियु निर्वाचनमा विवाद भएको थियो । सामान्य विवाद निर्वाचन स्थगनसम्म पुग्यो । विवाद साम्य पार्दै मतदानको अर्को समय तोकियो । पूर्वनिर्धारित समयअनुसार भइरहेको मतदान केन्द्रमा अनेरास्ववियु र नेविसंघका विद्यार्थीबीच झडप भयो र केही विद्यार्थी घाइते भए । झगडा गर्न विद्यार्थी संगठनहरूले छात्रावास भवनलाई ‘सेल्टर’का रूपमा प्रयोग गरेको ठहर गर्दै तत्कालका लागि छात्रावास नै बन्द गर्ने निर्णयमा क्याम्पस प्रशासन पुग्यो । क्याम्पस प्रशासनको प्रयासमा सर्वपक्षीय सहमतिमा छात्रावास बन्द गरिएको थियो । तत्कालका लागि भन्दै बन्द गरिएको छात्रावास दशक बित्न लाग्दा पनि खुलेको छैन ।

प्रयोगमा नआउँदा भवन जीर्ण बन्दै गएको छ । ‘हामीले छात्रावास खुलाउन मौखिक रूपमा धेरैपटक ताकेता गरेका छौँ,’ सामुदायिक सेवा केन्द्रका सचिव धीरेन्द्र साहले भने, ‘तर हाम्रो मागको सुनुवाइ हुने छाँटकाँट अहिलेसम्म देखिएको छैन ।’ उनले सिरहामा क्रियाशील राजनीतिक दलहरूलाई छात्रावास सुचारु गराउन पहलका लागि आग्रहसमेत गरे ।

विद्यार्थी मारमा

छात्रावास क्याम्पसमा दूरदराजका विपन्न विद्यार्थीलाई आकर्षित गर्ने एउटा बलियो माध्यम बन्दै आएको थियो । कृष्णपुर–७ का धर्मदेव साफीले छात्रावासमा बसेर अध्ययन गरेको स्मरण गर्दै भने, ‘छात्रावासमै बसेर बिएड गरेँ, छात्रावास नभएको भए आर्थिक कारणले नै पढाइ छाड्नुपर्ने हुन्थ्यो ।’ छात्रावास बन्द भएको केही समयसम्म विद्यार्थी कोठा भाडामा लिएर बसे । आजभोलि त्यति विद्यार्थी नै नआउने सिरहा नगरपालिका–७ की आशादेवी यादवले बताइन् । स्थानीय युवाकुमार विवेकका अनुसार छात्रावास भएकै कारण विभिन्न क्षेत्र र समुदायका विद्यार्थीको क्याम्पसमा उपस्थिति हुन्थ्यो । मिश्रित क्षेत्र र समुदायका विद्यार्थीको उपस्थितिले पठन–पाठन पनि नियमित र स्तरीय हुने गरेको उनको दाबी छ । छात्रावास बन्द भएपछि क्याम्पसको पढाइको गुणस्तर पनि खस्केको उनको भनाइ छ ।

स्रोत नहुँदा बन्द

क्याम्पस प्रमुख रामहित यादवका अनुसार छात्रावासले तत्कालीन समयमै विद्युत् महसुलबापत चार लाख रुपैयाँ तिर्न बाँकी थियो । त्यस्तै, भवन मर्मत गर्न पनि लाखौँ लाग्ने देखिएको छ । ‘विद्युत् बक्यौता तिर्न र भवन मर्मत गर्न स्रोतको खोजी भइरहेको छ,’ उनले भने, ‘यो व्यवस्था भएलगत्तै छात्रावास पुनः सञ्चालनको तयारी थाल्ने योजना रहेको छ ।’ क्याम्पस प्रमुख यादवले छात्रावास प्रयोगमा नआएका कारण बाहिरका विद्यार्थी आउन छाडेको स्वीकार गर्दै भने, ‘छात्रावास तत्काल सुरु गर्नुपर्ने देखिएको छ, छात्रावास प्रयोगमा नआउँदा विद्यार्थी संख्या घटेको छ ।’ उनले स्रोत नहुँदा छात्रावास बन्द गर्नुपर्ने बाध्यता रहेको बताए । नयाँपत्रिकामा खवर छ ।

Comments: