२०७६ मंसिर २४ गते

‘घरभन्दा स्कुल प्यारो’

अन्तैबाट

बझाङ । मष्टा गााउँपालिका भातेखोलाकी वसन्ती जोशीको घरनजिकै विद्यालय छ । उनकै उमेरका अरू बालबालिका विद्यालय जान मन गर्दैनन् । वसन्ती भने घरभन्दा स्कुलमै बढी रमाउँछिन् ।प्रस्ट बोल्न नसक्ने ७ वर्षीया वसन्तीलाई घरभन्दा विद्यालय प्यारो लाग्नुको कारण छ ।

बझाङ– मष्टा गााउँपालिका भातेखोलाकी वसन्ती जोशीको घरनजिकै विद्यालय छ । उनकै उमेरका अरू बालबालिका विद्यालय जान मन गर्दैनन् । वसन्ती भने घरभन्दा स्कुलमै बढी रमाउँछिन् ।

प्रस्ट बोल्न नसक्ने ७ वर्षीया वसन्तीलाई घरभन्दा विद्यालय प्यारो लाग्नुको कारण छ । ‘सबैले बोल्न नसक्ने भनेर गिज्याउँछन्,’ उनले भनिन्, ‘घरमा भन्दा त स्कुलमै सरमिसहरूले बढी माया गर्नुहुन्छ ।’ दुई वर्षदेखि स्कुलकै छात्रावासमा बसिरहेकी उनी स्कुल आफ्नो असली घर रहेको बताउँछिन् ।

वसन्ती मात्र होइन । मष्टा गाउँपालिकाको कुलमष्टाजन माध्यमिक विद्यालयमा सञ्चालित सुस्तमनस्थिति कक्षामा अध्ययनरत अधिकांश बालबालिका आफूहरूलाई घरमा पीडा हुने गरेको बताउँछन् । ‘बरु स्कुलमा कसैले जिस्क्याए सरले गाली गर्नुहुन्छ,’ साबिकको रिलु गाविसबाट आएका ७ वर्षीय विजय बोहराले भने, ‘घरमा त आमा बुबाले समेत सराप्नुहुन्छ ।

बाटोमा हिँड्दा पनि अरूले जिस्क्याउँछन् ।’यहाँको बौद्धिक अपांगता भएका बालबालिकालाई पढाउने कक्षामा जिल्लाका विभिन्न गाउँबाट आएका १२ बालबालिका अध्ययनरत छन् ।

घर र समाजमा हेला गरिएका यी बालबालिका आफूजस्तै साथीहरूसँग खेल्न र रमाइलो गर्दै पढ्न पाउँदा दंग छन् ।

यहाँ अध्ययनरत बालबालिकाहरूको आनीबानी अरूभन्दा भिन्नै छ । प्राय: स्कुले केटाकेटी लामो बिदा कहिले आउला भनेर दिनगन्ती गर्दै बस्छन् । तर यहाँ अध्ययनरत बालबालिका भने लामो बिदा भनेपछि झर्किन्छन् ।

खप्तड छान्ना गाउँपालिकाबाट आएकी १० वर्षीया शिल्पा रावललाई स्कुलमा बिदा नभइदिए हुन्थ्यो झैं लाग्छ ।

उनले लामो बिदाका बेला घर जानुपर्ने भएकाले आफूलाई मन नपर्ने बताइन् । उनले भनिन्, ‘घर जाँदा २/४ दिन सबैले माया गरे जस्तो गर्नुहुन्छ । केही दिनपछि पहिला जस्तै गिज्याउन र गाली गर्न सुरु भइहाल्छ ।’ छिमेकीहरूले बाटोमा हिँड्दा पनि गिज्याउने हुँदा गाउँमा हिँड्न पनि मन नलाग्ने उनले सुनाइन् ।

‘लामो बिदा हुँदा आफन्तहरू लिन आउँछन्,’ स्रोत शिक्षक नन्दराज जोशीले भने, ‘तर यिनीहरू जानै मान्दैनन् । लामो बिदा परेका बेला स्कुलमा बस्ने नियम नभएकाले जबरजस्ती घर पठाउनुपर्छ,’ घरमा अभिभावक, आफन्त र समाजले विभिन्न अपमानजनक शब्द प्रयोग गरी जिस्क्याउने, कुटपिट तथा विभेद गर्ने हुँदा उनीहरू विद्यालयमै बढी रमाउने गरेको जोशी बताउँछन् । ‘बरु स्कुलमै राम्रो हेरचाह र माया पाएका हुन्छन् ।

बालबालिकाहरू जसले माया गर्‍यो उसैसँग रमाउँछन्,’ उनले भने । विद्यालयमा बौद्धिक अपांगता भएका बालबालिकालाई नियमित पाठ्यक्रमबाहेक सरसफाइ, आपसी सहयोग, सामाजिक बानीव्यवहार, शिष्टाचार, सामानको हेरचाह जस्ता सीप विभिन्न खेलका माध्यमबाट सिकाउने गरिएको छ ।


छात्रावासमा राखिएका क्यारेम बोर्ड, चेस, टेलिभिजनमा पनि उनीहरू रमाउँछन् । ‘उनीहरूको पढाइ खेलकै माध्यमबाट हुन्छ,’ विद्यालयका प्राचार्य मोहन थापाले भने, ‘घरमा धेरै चकचक गरेपछि अभिभावकको कुटाइ र गाली खानुपर्छ । यहाँ दिनभर खेलिरहन्छन् । त्यसैले उनीहरू घर जान डराउँछन् ।’

अपांगता भएका बालबालिकालाई अझै पनि बोझका रूपमा लिने, खानपान, हेरचाह, शिक्षा, स्वास्थ्य जस्ता कुरामा विभेद गर्ने चलन कायमै छ ।

त्यही कारण यस्ता बालबालिकाले कष्टकर जीवन बिताइरहेको थापा बताउँछन् । उनीहरूलाई व्यक्तित्व विकासको अवसर दिए सामान्य मानिसले गर्न नसक्ने खालका काम पनि गर्न सक्ने प्राचार्य थापा बताउँछन् ।

वसन्तप्रताप सिंहले कान्तिपुरमा खबर लेखेका छन् ।

Comments: