२०७६ मंसिर २६ गते

शिक्षामा नीतिगत सुधारको आवश्यकता

ईपाटी संवाददाता


कपिलवस्तु । शिक्षामा न्यायोचित वितरण भएमात्र शैक्षिक गुणस्तरमा सुधार आउने एक कार्यक्रमका सरोकारवालाहरुले जोड दिएका छन् । शैक्षिक गुणस्तर अभिवृद्धि गर्न शिक्षामा नीतिगत सुधार गर्नुपर्ने सरोकारवालाहरुले औल्याएका छन् ।


कपिलवस्तुको चन्द्रौटामा सम्पन्न ४०औं राष्ट्रिय शिक्षा दिवस तथा ५३औं अन्तर्राष्ट्रिय साक्षरता दिवस समारोहका सहभागीहरुले यस्तो धारणा राखेका हुन् । “हामी सबैको प्रण, शिक्षा प्रणालीको सबलीकरण” भन्ने मूल नारासहित शिवराज नगरपालिकाले दिवस मनाएको हो ।


कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद अर्जुन कुमार के.सी.ले शिक्षामा सुधार ल्याउन विद्यार्थीहरुलाई सर्वप्रथम संस्कार सिकाउनुपर्ने बताए । बालबालिकाहरुको व्यवहार, चालचलन, सभ्यतामा परिवर्तन आए मात्र शिक्षामा आमूल परिवर्तन आउने के.सी.ले विश्वास व्यक्त गरे । मदरसालाई मूलधारमा ल्याउन प्रदेश सरकारले मदरसा कार्यविधि स्वीकृत गरेको औल्याउँदै प्रदेश सांसद के.सी.ले शैक्षिक गुणस्तर सुधारका लागि प्रदेश सरकारले समेत विभिन्न किसिमका योजनाहरु अघि सारेको जानकारी दिए । अबको शिक्षा गुणस्तरीय, प्रविधिमैत्री, रोजगारमूलक र उत्पादनमुखी हुनुपर्ने समेत प्रदेश सांसद के.सी.ले धारणा राखे ।


यता शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाले शिक्षाक्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको उद्घोष गरे । उनले शिवराज नगरपालिका साक्षरता नगर घोषणा भइसकेकाले अब गुणस्तर सुधारको योजना अघि सारेको जानकारी दिए । शिक्षामा आमूल परिवर्तन ल्याउन विद्यालय प्रशासनका साथै शिक्षक, अभिभावक र सरोकारवालाहरुले समेत मुख्य भूमिका निभाउन आवश्यक रहेको नगरप्रमुख अधिकारीले विचार व्यक्त गरे ।


शिक्षा शाखा प्रमुख लोकराज पन्थीले विद्यार्थीलाई उच्च नतिजा ल्याउन सक्ने बनाउन विद्यालयले सोही अनुसार भूमिका खेल्नुपर्ने धारणा राखे । शिवराजमा १ शिक्षक बराबर १७५ विद्यार्थी शिक्षामा सुधार ल्याउन कठिन भएको समस्या दर्शाए । उनले शिक्षक विद्यार्थी अनुपातलाई समायोजन गर्न नगर तथा प्रदेशले पहल गर्नुपर्ने आग्रह गरे । शिवराज नगरपालिकाको शैक्षिक स्थिति दर्शाउँदै शिक्षा शाखा प्रमुख पन्थीले आगामी दिनमा शिवराज क्षेत्रको शिक्षामा आमूल परिवर्तन ल्याउन आफूले समेत कडा मिहिनेत गर्ने प्रतिबद्धता जाहेर गरे । शिवराजमा ६२ सामुदायिक विद्यालय र २४ संस्थागत विद्यालय रहेको उनले बताए । विद्यार्थी संख्यालाई हेर्दा सामुदायिक विद्यालयतर्फ करीब १७ हजार र संस्थागततर्फ करीब ३ हजार विद्यार्थी छन् । सामुदायिक विद्यालयतर्फ विद्यार्थी शिक्षक विद्यार्थी अनुपात नमिल्दा आफूले सोंचेको परिवर्तन ल्याउन नसकेको उनले बताए ।

Comments: