२०७६ मंसिर २६ गते

शिक्षक सरुवामा कमिसनः माध्यमिकको ५ लाख, आधारभूतका लागि ३

अन्तैबाट

बुटवल । केही महिनाअघि रुपन्देहीको तिलोत्तमा ढिकुलीगढमा रहेको नमुना महिला आधारभूत विद्यालयमा प्रावि तहको एउटा दरबन्दी खाली भयो। दरबन्दी खालीभएसंगै नयाँ शिक्षक सरुवाका खेल भए। दुई/चार शिक्षकका आवेदन पनि परे। त्यहा सरुवाका लागि कम्तिमा दुई लाख बुझाउनै पर्ने भयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमशंकर भट्टराईले दुई लाख विद्यालयको खातामा राखिदिनेलाई मात्रै यहाँ सरुवा सहमति दिइने खुलेरै भने। अन्ततः दुई लाख बुझाउने सर्तमा स्याङजाबाट एक शिक्षक सरुवाका लागि प्रक्रियामा छन्। ‘विद्यालय कमजोर छ, केही सहयोग गरेर आउनुपर्छ भनेको छु, अध्यक्ष भट्टराईले भने,‘हुन्छ भन्नु भएको छ।’

तिलोत्तमामा गत शैक्षिक सत्रमा खाली दरबन्दीको भागवण्डा गरिएको थियो। पार्टी निकट शिक्षक संघ/संगठनहरुले दरबन्दी भागवण्डा गरेर शिक्षक सरुवा गरेका हुन्। त्यसमा राजनीतिक शक्तिमा परेर आएका शिक्षक बाहेक प्राबि तहका अधिकांशले कम्तिमा दुई लाख बुझाएका छन्। यो रकम शिक्षक नेता र विद्यालयका नाममा व्यवस्थापन समितिका पदाधिकारीलाई दिने हो। पछिल्लो समय वडाध्यक्षसहित जनप्रतिनिधिहरु पनि खुलेरै शिक्षकसंग कमिसन माग्छन्। ‘विद्यालयलाई सहयोग गर्नुपर्छ’ भन्दै कमिसन माग्ने गरिएको छ।

एक शिक्षकका अनुसार सरुवामा कमिसनको दररेट निर्धारण गरिएको छ। माध्यमिक तहका लागि ५ लाख तोकिए पनि कम्तिमा चार लाख बुझाउनै पर्छ। आधारभूत तहमा तीन लाख बुझाएर आउने धेरै छन्। ‘पैसा नदिएसम्म विद्यालयको सहमति समेत पाइदैन, सरुवा गराउने निकायमा बुझाउने कमिसन त अझै थप हुन्छ, ति शिक्षकले भने।

साविक लुम्बिनी अञ्चलका ६ जिल्लाबाट रुपन्देही सरुवा हुने शिक्षकको संख्या धेरै छ। गुल्मी, अर्घाखाची, पाल्पाका शिक्षकहरु घरपाई मिलाउन भन्दै रुपन्देही, नवलपरासी र कपिलवस्तुमा सरुवा हुने गरेका छन्। रुपन्देहीमा यसै शैक्षिक सत्रको तीन महिनामा मात्रै ५० जना शिक्षक सरुवा भएर आएका छन्। गत शैक्षिक सत्रमा जिल्ला बाहिरबाट ४२ जना मात्रै सरुवा भएका थिए।

शिक्षक सेवा आयोगले नयाँ विज्ञापन गरी शिक्षक ‘पोष्टिङ’ गर्दा समेत रुपन्देही, कपिलवस्तु र नवलपरासीमा आउने शिक्षकको संख्या रोकिएको छैन। जिल्ला शिक्षा समन्वय इकाईका कर्मचारीहरुले मोटो रकम ‘घुस’ लिएर शिक्षक सरुवा गर्ने गरेका छन्। शिक्षकहरुले विद्यालय प्रशासनका कर्मचारीमार्फत हाकिमलाई घुस दिने गरिएको बताउछन्। केही महिना अघिमात्रै गुल्मीबाट रुपन्देहीमा सरुवा भएका शिक्षकले घुस बिना कामै नहुने बताए। ‘आज, भोली भन्दाभन्दै महिना दिनसम्म काम गरिदिदैनन्, न त कागाजात नपुगेको भनिन्छ, न त सरुवा गर्न मिल्दैन भनिन्छ, उनले भने–‘१५ दिन जति फाइल रोकेपछि घुसको बार्गेनिङ शुरु हुन्छ।’

रुपन्देही सरुवा हुने अधिकांश शिक्षकहरु गुल्मी र अर्घाखाचीका छन्। स्याङजा, पाल्पाबाट समेत सरुवा भएका छन्। १५ महिनामा रुपन्देहीमा ९२ शिक्षक रुपन्देहीमा सरुवा भएका छन्। सरुवामा घुस र कमिसन अनिवार्य भएपछि ‘सस्तो सरुवा’ गर्ने कसरत हुने गरेको छ।

जिल्ला शिक्षा समन्वय इकाई रुपन्देहीका प्रमुख दीपेन्द्र ढकालले विद्यालयमा हुने लेनदेनको विषयमा खोजतलास नगरिएको बताउछन्। ‘हामीले ‘क्लाइन्ट’लाई गुनासो गर्नुस् भनेका छौं, त्यस्तो आएको छैन, उनले भने–‘यो खोजविनको विषय हो, कतै प्रमाण भेटिए सार्वजनिक गर्नुपर्छ।’ उनले शिक्षक सरुवा त्यति सहज नभएको बताउछन्। दुई जिल्लाको सहमति र पालिकाको समेत समन्वय हुनुपर्ने भएकाले शिक्षक सरुवा जटिल रहेको उनको भनाई छ।

गुल्मीबाट गत शैक्षिक सत्रमा करिव ७५ शिक्षक सरुवा भएका छन्। यो वर्षको तीन महिनामा पनि शिक्षक सरुवाको अवस्था उस्तै छ। अर्घाखाचीबाट ७४ जना शिक्षक सरुवा भए। शिक्षा समन्वय इकाईका सुचना अधिकारी नारायण पन्थीका अनुसार बाहिरबाट अर्घाखाची जाने शिक्षकको संख्या भने जग्गा ८ रहेको छ। पाल्पाबाट गत वर्ष करिव १७ जनाको सरुवा भएको सूचना अधिकारी महेन्द्र सुबेदीले जानकारी थियो। बैशाखयता ४ जनाको सरुवा भएको छ। सरुवाको सहमति लिने शिक्षकको संख्या अत्याधिक रहेको छ।

नवलपरासीमा मावि ३, निमावी ७ र प्राबि १८ गरी २८ जना सरुवा भएको जिल्ला शिक्षा समन्वय प्रमुख डोलराज पाण्डेले बताए। बाहिरबाट आउने शिक्षकको संख्या तराईका जिल्लामा अत्याधिक भएपछि शिक्षक सेवा पास गरेर नयाँ ‘पोष्टिङ’ भएका शिक्षकहरु फर्किनु परेको छ। नवलपरासीबाट प्राबि तहका ८६ जना र मावि तहका एक जना शिक्षक विभागमै फर्किएका छन्। ‘माग भन्दा बढी शिक्षक पठाइएका कारण फर्काउनु परेको हो, प्रमुख पाण्डेले भने।

रुपन्देहीमा अहिले कुनै पनि शिक्षकको दरबन्दी खाली नभएको समन्वय प्रमुख ढकालले बताए। परिवारभन्दा टाढा भएका शिक्षक सरुवा हुनु मनासिव नै हुने बताउछन्। ‘नया पोष्टिङ हुने शिक्षक जहा खाली छ त्यही जानुपर्छ, उनले भने। तर टिकुलीगढ माबी सहित धेरै विद्यालयमा अहिले पनि दरबन्दी खाली छ। त्यहा शिक्षक सरुवा गर्नका लागि समन्वय इकाईमा फाइल राखिएको छ।

रुपन्देही, कपिलवस्तु र नवलपरासीका शिक्षा समन्वय कार्यालयहरुले दरबन्दी छैन भन्दै धमाधम शिक्षक सरुवा गर्दै आएका छन्। ‘दरबन्दी लुकाउने अनि पैसा दिनेलाई मात्रै सरुवा गर्ने प्रचलन छ, एक शिक्षकले भने।

अखिल नेपाल शिक्षक संगठन रुपन्देहीका अध्यक्ष मोतिलाल सुवेदीले पैसा लेनदेनको हल्ला र गुनासाहरु आउने गरेको बताए। तर उनले शिक्षक संगठनहरुले सरुवामा भागवण्डा गरेको भने अस्विकार गरे। ‘कतिपय शिक्षक साथीहरुले पैसा मागेको जस्ता गुनासा गर्नुहुन्छ, बजारमा त्यो विकृतिको हल्ला पनि छ, उनले भने। उनले पैसा दिएर सरुवा नहुन शिक्षकहरुलाई समेत आग्रह गर्छन्।

 

यो समाचार अन्नपूर्ण दैनिकमा लक्ष्मण पोखरेलले लेखेका छन् ।
 

Comments: