२०७६ भदौ ३० गते

जनज्योति माविको नमुना काम, विद्यार्थीलाई शिक्षासँगै दाम !

प्रभा रावत /सुर्खेत




डोल्पाकी तिला थापा अहिले १८ महिने भेटेरिनरी जेटिए पढ्दै छिन् । उनीसहित उनका साथीहरु  विद्यालयमा पढेका मात्रै छैनन् सबैजना मिलेर तरकारी खेती पनि गरिरहेका छन् ।


 विद्यालयबाट प्रत्येकले पाँच/पाँच हजार ऋण लिएर उनीहरु तरकारी खेति गरिरहेका छन् । तिला थापा भन्छिन् तरकारी खेतीबाट राम्रो आम्दानी पनि भइरहेको त छ नै पढ्दैै काम गर्नुको आनन्द पनि छुट्टैे छ ।  


सुर्खेतको बराहताल गाउँपालिकाको बड्डीचौरमा रहेको जनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत् विद्यार्थीहरु यसैगरी पढ्दै कमाउँदै आएका छन् ।
उनीहरुले पढाइसँगै विभिन्न कृषि पेशा पनि गर्दै आएका हुन् ।  विभिन्न जिल्लाबाट  पढ्न आएका विद्यार्थीहरु अहिले ऋण लिँदै व्यवसाय गरी राम्रो आम्दानी गर्न सफल भएका छन् ।


सामान्यतः विद्यालय भन्ने बित्तिकै पढ्ने र पढाउने स्थान बुझिए पनि यहाँका विद्यार्थी  भने पढ्ने मात्रै होइन काम गरेर आर्थिक जोहो पनि गर्ने गर्दछन् ।


विद्यालयमा आइएसीएजी दोस्रो वर्षमा अध्ययनरत नुवाकोटका अविन तमाङ पनि पढ्दै काम गर्दै आएका छन् ।  दिउँसोको समयमा विद्यालयमा पढ्ने र साँझ बिहानको समयमा काम गर्ने उनको दैनिकी हो ।


नुवाकोटबाट छात्रवृत्तिमा पढ्न आएका उनले  बंगुर फर्म सञ्चालन गरिरहेका छन् । उनले भने, फर्ममा अहिले ३ वटा बंगुर छन् , यहाँबाट  कमाएको पैसा आफुलाई खर्च राखेर कहिले काहीँ घरमा पनि पठाइदिन्छु ।


विद्यालयको २५ विद्या आफ्नै जग्गा छ । विद्यालयले विद्यार्थीहरुका लागि गाउँमा जग्गा भाडामा व्यवस्था गरिदिएको छ । २ वटा डिप बोरिङ खनेर सिञ्चाइको व्यवस्था पनि गरिदिएको छ ।


 विद्यालयले आफैले पनि बाख्रा र गाई फर्म सञ्चालन गर्दै आएको  छ । एउटा विद्यार्थी बराबर पाँच हजार र राम्रो गर्दै गएपछि १ लाख ५० हजारसम्म ऋण विद्यालयले दिने गरेको छ । आगामी वर्षदेखि विद्यालयमा पढ्न आउने विद्यार्थीहरुलाई अनिवार्य काम गर्ने व्यवस्था गरिने योजना पनि विद्यालयको छ । विद्यार्थीहरुले पढदै र काम गर्दै गर्दा उनीहरुमा उत्साह देखिएको  विद्यालयका प्रध्यानाध्यापक नारायण सिग्देलले बताए ।


अहिले यस विद्यालयमा भूकम्प प्रभावित ११ जिल्ला र कर्णालीलगायत अन्य प्रदेशसहित २६ जिल्लाका विद्यार्थीहरु अध्ययनरत् छन् ।

Comments: