काठमाडौं । शिक्षा मन्त्रालयले शिक्षा तथा अन्तराष्ट्रिय साक्षरता दिवसका अवसरमा शुक्रबार नेपाल प्रज्ञाप्रतिष्ठानमा गर्न लागेको कार्यक्रम स्थगित गरेको छ । शिक्षा मन्त्रालयले वर्षेनी गर्दै आएको यस कार्यक्रम अन्तिम समयमा आएर रद्द गरिएको हो । तर, राष्ट्रपतिबाट दिइने विभुषण वितरणको कार्यक्रमभने  स्थगित नहुने शिक्षा मन्त्रालयले जनाएको छ ।

पाटन उच्च अदालतको अन्तरिम आदेशका कारण कार्यक्रम स्थगित गरिएको जनाइएको छ । मन्त्रालयले एकसातासम्म ३८ औं राष्ट्रिय शिक्षा दिवस एवं ५१ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउँदै थियो ।

अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर कक्षा एघार र बाह्रको पढाइ हुने उत्कृष्ट संस्थागत विद्यालयलाई दिन लागेको पुरस्कार वितरण नगर्न पाटन उच्च अदालतले अन्तरिम आदेश दिएको थियो ।

उत्कृष्ट विद्यालय छनोट विधि व्यवहारिक र कानुन विपरित रहेको दाबीसहित परेको रिट निवेदनमाथि बहस गर्दै आदालतले तत्काल पुरस्कार वितरण नगर्न अन्तरिम आदेश दिएपछि भोलिको पुरस्कार वितरण सहितको कार्यक्रम नहुने भएको हो ।

मन्त्रालयले कक्षा एघार र बाह्रको पढाइ सञ्चालन गरिएको केएमसी स्कुल बागबजारलाई माध्यमिक शिक्षा पुरस्कार (एघार र बाह्र) प्रदान गर्ने निर्णय गरेको थियो । छनोट विधि व्यवहारिक नभएको भन्दै प्रसादी एकेडेमीको तर्फबाट विक्रम राईले अदालतमा रिट हालेका थिए ।

मन्त्रालयले बिहीबारको कार्यक्रमका लागि महिना दिनदेखि तयारी गर्दै आएको थियो । राष्ट्रपतिबाट उद्घाटन गर्ने यारी भएको कार्यक्रम अनिश्चित कालका लागि स्थगित गरिएको अनौपचारिक शिक्षा केनद्रले जनाएको छ ।

मन्त्रालयले ‘संघीय नेपाल समृद्धिको आधार, स्तरीय शिक्षा सबैको अधिकार’ भन्ने मूल नारासहित राष्ट्रिय शिक्षा दिवस र प्रविधि युगसापेक्ष साक्षरता भन्ने नाराका साथ अन्तर्राष्ट्रि«य साक्षरता दिवस मनाउन लागेको थियो । वर्षेनी मनाउदै आइएको भएपनि २०३२, २०३३,२०३४,२०३६,२०३७ र २०६३ मा पनि शिक्षा दिवस मनाईएको थिएन ।

२०७४ भदौ २२ गते १२:३७मा प्रकाशित

प्रतिकृया दिनुहोस्