२०७६ असोज ३० गते

सुर्खेतमै पढेर ‘डिप्लोम्याट’

सुर्खेत । अर्घाखाँचीको मैदानका दिलीप भट्टराई भारतको युनिर्भसिटी अफ पुनेमा सिभिक्स एन्ड पोलिटिकल साइन्समा स्नातक पढ्दै थिए ।

कूटनीतिज्ञ बन्ने लक्ष्य राखेका उनले बीचमै पढाइ छाडे र नेपाल फर्किए । फर्किनुको कारण थियो– मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) को केन्द्रीय क्याम्पस, सुर्खेतमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति (आईआर) विषय अध्ययन गर्नु । ‘सुर्खेतमै पढ्न पाएपछि किन विदेश जानु भनेर पुनेबाट फर्कें,’ २३ वर्षीय दिलिपले भने, ‘परराष्ट्र सेवामा काम गर्ने रहर छ ।’

अछामको भैरवस्थानका बमबहादुर बीसी राजनीतिमा सक्रिय छन् । उनी यसै विषयमा एमयुमा स्नातकोत्तर तेस्रो सेमेस्टरमा अध्ययनरत छन् । ‘नेपालजस्तो भूपरिवेष्ठित मुलुकका नागरिक अझ हामी राजनीतिकर्मीले अन्तर्राष्ट्रिय सम्बन्धबारे बुझ्न आवश्यक छ,’ उनले भने ।

एमयूमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागमा एक सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । यहाँ अध्यापन हुने अरू विषयमा चाहिँ विद्यार्थी संख्या निर्धारित कोटाभन्दा ज्यादै न्यून छ । तर, आईआर भने अपवाद बनेको छ । चालू शैक्षिक सत्रमा ४० जनाको कोटामा दुई सयभन्दा बढीले प्रवेश परीक्षामा सामेल भए ।

एमयूले २०७० देखि स्नातक र स्नातकोत्तर तहमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति अध्यापन गराउन थालेको हो । स्नातक तहदेखि अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति अध्यापन गराउने एमयू नेपालको पहिलो विश्वविद्यालय हो । त्यसैले, विभिन्न जिल्लाबाट यहाँ अध्ययन गर्न आउनेहरूको आकर्षण बढ्दो छ । यसकै लागि बिदेसिनुपर्ने बाध्यता एमयूले हटाइदिएको छ ।

स्नातकोत्तर तेस्रो सेमेस्टरमा अध्ययनरत निशा सुवेदी सक्षम कूटनीतिज्ञ उत्पादन गर्न, अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति सञ्चालनसम्बन्धी ज्ञान हासिल गर्न यसको अध्ययन आवश्यक रहेको ठान्छिन् । नेताहरू, परराष्ट्र सेवाका कर्मचारीले पढ्न छुटाउनै नहुने उनको सुझाव छ । नयाँ र एकमात्र कार्यक्रम भएकाले विज्ञान, इन्जिनियरिङ, व्यवस्थापन र सूचना प्रविधि क्षेत्रका विद्यार्थीको पनि यसमा आकर्षण छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागका प्रमुख तेजविक्रम बस्नेत सीमित कोटा भएका कारण इच्छुक विद्यार्थीले भविष्यमा कूटनीतिक क्षेत्रमा लाग्ने अवसर गुमाएको बताए । ‘हाम्रा नेताहरू र उच्च पदस्थ कर्मचारीसँग कूटनीतिक व्यवहारको पर्याप्त ज्ञान नहुँदा विभिन्न वैदेशिक भ्रमणहरूमा असहज दृश्यहरू देखा पर्ने गरेका छन्,’ बस्नेतले भने, ‘यसले गर्दा हरेक नेता, कर्मचारी र विशेष गरी डिप्लोमेटिक करिअर रोज्नेहरूका लागि यो विषय पढ्न झनै जरुरी छ ।’

प्लस टु वा स्नातक तह कम्तीमा द्वितीय श्रेणीमा उत्तीर्ण हुनुपर्ने र अंग्रेजीको राम्रो ज्ञान चाहिने यो विषय कूटनीति वा परराष्ट्र सेवा तथा अन्तर्राष्ट्रिय गैरसरकारी क्षेत्रमा काम गर्न चाहनेहरूका लागि उपयुक्त छ । विभागले गेस्ट लेक्चररका रूपमा नेपालस्थित विभिन्न मुलुकका राजदूत, परराष्ट्रका उच्च अधिकारी, विभिन्न पार्टीका विदेश मामिलाका जानकार नेताहरू, आईएनजीओका प्रमुखलगायतलाई निम्त्याउने गरेको छ ।कान्तिपुर दैनिकमा खबर छ ।

Comments: