२०७६ भदौ २ गते

पूर्वाञ्चल विश्वविद्यालयमा तोडफोड र तालाबन्दी

ईपाटी संवाददाता

विराटनगर  । विद्यार्थी संगठनहरुले प्राध्यापक भर्नाको विरोधमा पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालय तोडफोड गरी तालाबन्दी गरेका छन् ।


छानविन समितिले दिएको सुझाव विपरीत प्राध्यापक, उपप्राध्यापक नियुक्तिको प्रक्रिया अघि बढाएको भन्दै आइतबार अनेरास्ववियु, अखिल क्रान्तिकारी, संघीय विद्यार्थी फोरम, राष्ट्रिय विद्यार्थी संघ र नयाँ शक्ति विद्यार्थी युनियनले तोडफोड र तालाबन्दी गरेका हुन् ।


उनीहरुले विश्वविद्यालयले गरेको विज्ञापन र परीक्षासम्बन्धी कार्य स्थगन गरी छानबिनको मागसमेत गरेका छन् ।


विद्यार्थी संगठनले जारी गरेको विज्ञप्तिमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको छानबिन समितिले बुझाएको प्रतिवेदन विपरीत सेवा आयोगले परीक्षासम्बन्धी कार्यक्रम सार्वजनिक गरेको रोक्न आग्रह गर्दा अटेर गरेकाले आन्दोलनमा उत्रन बाध्य भएको उल्लेख छ ।

विद्यार्थी संगठनहरुले विराटनगर–१ पुष्पलाल चोकमा रहेको विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको कार्यालय र विराटनगर–३ बरगाछीमा रहेको पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगको कार्यालयमा तोडफोड गरी तालाबन्दी गरेका हुन् ।


विद्यार्थीले तोडफोड गर्दा विश्व विद्यालयको कम्प्युटर, ल्यापटप, प्रिन्टर, झ्यालका सिसा, टेबुल, गमला, दराज, कुर्सीमा क्षति पुगेको छ ।


गत चैत ५ गते प्रधानमन्त्री कार्यालयले सेवा आयोगले खुलाएको विज्ञापन प्रक्रिया तत्काल रोक्न निर्देशन दिँदै विश्वविद्यालयमा भएको अनियमितताको विषय छानबिन गर्न समिति गठन गरेको थियो ।


राष्ट्रिय योजना आयोगकी सदस्य डा. उषा झा नेतृत्वमा गठन भएको उक्त छानबिन समितिले पाँच वर्षे गुरु योजना बनाएर मात्र जनशक्ति भर्नाको प्रक्रिया अघि बढाउन सुझाब दिएको थियो ।



सुझाबअनुसार गत असार १३ गते डा. सन्देश कोइरालाको संयोजकत्वमा पाँच वर्षे गुरु योजना तयार समिति गठन भएको छ । सो समितिलाई पाँच वर्षे कार्ययोजना बनाउन एक महिनाको समय दिइएको थियो ।

समिति गठन भएको एकसाता पछि विश्वविद्यालय सेवा आयोग पूरानो विज्ञापनका आधारमा जनशक्ति भर्नाको प्रक्रिया अघि बढाएपछि विद्यार्थीहरुले अनिश्चितकालीन तालाबन्दी गरेका हुन् ।

Comments: