२०७६ मंसिर ५ गते

प्रश्नहरुको घेरामा शिक्षक परीक्षा

दीपक एम.सी.





हालै शिक्षक सेवा आयोगले सञ्चालन गरेको परीक्षामा विभिन्न कमजोरी भए भनेर गुनासो आइरहेका छन् । प्रश्नपत्रमा भएका त्रुटी देखि परीक्षा केन्द्र तोकिएका स्थानहरु अनुपयुक्त स्थानमा तोकिएको भन्नेसम्मका गुनासो गरिएको छ । परीक्षा फाराम संकलन अव्यवस्थित भएको जसका कारण परीक्षार्थीहरुको सिम्बोल नम्बर, विषय, तह, परीक्षा केन्द्रसम्ममा त्रुटि फेला परेका छन् । विविध कारण अझ त्यसमा पनि आयोगका कारणले परीक्षामा सहभागी हुनबाट बञ्चित भएका परीक्षार्थी प्रति को जिम्मेवार हुने भन्ने प्रश्नहरु खडा भएका छन् । यसबाट युवाहरूमा शिक्षक पेशा प्रति वितृष्णा पैदा नहोला भन्न सकिँदैन । विज्ञान र प्रविधिको युगमा पनि पुरानै पद्धतिबाट आयोग चल्दा यस्ता समस्याहरु आएको सहजै अनुमान गर्न सकिन्छ ।

लोक सेवा आयोगले निजामती सेवाका विभिन्न सेवाहरुका अलवा प्रहरी, सेना, संस्थान लगायतका परीक्षाहरु अत्यन्तै व्यस्थितरूपमा सञ्चालन गरिरहेको परिवेशमा शिक्षक सेवा आयोगले तीन तहका शिक्षकहरुको परीक्षा लोक सेवा आयोगले जति  व्यवस्थित गर्न नसक्नु यसको चुनौतीको विषय पनि हो । परीक्षा सञ्चालनमा नै टीकाटिप्पणी भइरहँदा नतिजा प्रकाशन हुँदा सम्म कति हुने हो यसै भन्न सकिदैन । शिक्षक सेवा आयोगलाई लाग्ने अर्को आरोप हो– समयमै नतिजा प्रकाशन गर्न नसक्नु । यसका अलवा यसले लोक सेवा  आयोग जस्तो कार्यतालिका बनाउन नसक्ने र बनाए पनि कार्यान्वयन गर्न नसक्ने भनेर पनि आरोप लाग्ने गर्दछ ।

समयमै नतिजा प्रकाशन गर्न नसक्ने समस्यालाई लोक सेवाले जस्तो प्रारम्भिक परीक्षाको व्यवस्था गरेर गर्न सकिन्छ । पहिलो पत्रमा अहिलेको ४० पुर्णांकको वस्तुगत प्रश्नहरू वा त्यसलाई १०० पूर्णांकको वस्तुगत प्रश्नहरु समेटेर प्रारम्भिक परीक्षा लिएर कम्प्युटर मार्फत प्रश्नपत्र जाच्दा छोटो समयमै (१÷२ हप्तामै) हजारौं परीक्षार्थीको नतिजा सार्वजनिक गर्न सकिन्छ। यसमा अनुत्तीर्ण हुनेहरूलाई हटाएर दोस्रो पत्रको रूपमा विषयगत प्रश्नहरु समटेर परीक्षा गराउँदा अहिले भइरहेका भन्दा परीक्षार्थीको संख्या कम हुने हुँदा कपी संख्या  पनि कम हुन्छ जसले गर्दा कम समयमै नतिजा प्रकाशन गर्न सकिन्छ ।

फारम संकलन गर्न शिक्षा विकास तथा समन्वय इकाईलाई अधिकार तथा जिम्मेवारी सहित दिनुपर्छ । केही कमजोरी भएमा उनीहरूलाई तत्कालै कार्बाही समेत गर्नुपर्दछ । शिक्षा विकास तथा समन्वय इकाईमा आयोगको एउटा छुट्टै शाखा वा त्यहाको कर्मचारीलाई हेर्ने जिम्मेवारी दिनुपर्छ । साथै सम्बन्धित कर्मचारीलाई नियमित उपयुक्त तालिमको समेत व्यवस्था हुँदा अहिले देखिएका समस्या धेरै हदसम्म कम हुन सक्दछन् । अझ अनलाइनबाटै फारम भर्ने व्यवस्था मिलाउन सके धेरै समस्याहरूको न्यूनीकरण हुन्छ ।

आयोगको परीक्षा उत्तीर्ण भएर आएका शिक्षकहरूले प्रभावकारी ढंगबाट शिक्षण गर्न नसकेको भन्ने गुनासो पनि यदा कदा सुन्न सकिन्छ । यस्तो हुनु आयोगले सञ्चालन गर्ने परीक्षामाथि प्रश्नचिन्ह खडा हुनु हो । आयोगले विशेषतः लिखित परीक्षा र सैद्धान्तिक प्रश्नहरु सोध्ने हुँदा यस्ता समस्याहरू आएको पाइन्छ । त्यसैले समय परिवेश सङ्गै पाठ्यक्रम परिमार्जन तथा परिवर्तन गर्दै लैजानुपर्ने हुन्छ । नियमावलीमा लिखित, अन्तर्वार्ता र प्रयोगात्मक परीक्षा लिने भन्ने उल्लेख भए पनि प्रयोगात्मक परीक्षा लिएको पाइदैन । यसलाई उपयुक्त कार्यविधि  बनाई प्रयोग गर्नुपर्दछ । शिक्षण यस्तो पेशा हो जसमा शिक्षले कति जानेको छ भनेर मात्रै पुग्दैन । शिक्षकमा ज्ञान हुनुका साथ साथै सिकाउने उपयुक्त सीप समेत आवश्यक पर्दछ। अतस् प्रयोगात्मक परीक्षा समेत सञ्चालन गरेमा उल्लेखित समस्याको निराकरण हुन सक्दछ ।

देश सङ्घीय संरचनामा जाँदै गर्दा पुरानो नियमावलीको कारणले कार्यान्वयनमा देखा परेका जटिलताहरु हटाउन यसलाई संशोधन गरि आयोगलाई सोही अनुरुप सञ्चालन गर्नुपर्दछ । समय समयमा समयतालिका अनुसार आयोगले विज्ञापन गर्नुका साथै व्यवस्थित तवरले परीक्षा सञ्चालन गर्न सकेमा विदेशीने हजारौं युवाहरु यस तर्फ आकर्षित हुने थिए । युवाहरूलाई शिक्षण क्षेत्रमा संलग्न गराउन सकेमा शिक्षामा तुलनात्मक रूपमा प्रगति हुन सक्छ । जसबाट अन्य क्षेत्रहरूको पनि विकास सम्भव हुन्छ ।


( एम.सी. २०७१ मा शिक्षक सेवा आयोगले लिएको परीक्षा उत्तीर्ण भइ हाल गौमुखी मा.वी. प्युठानमा अध्यापनरत मा.वि.तहका अङ्ग्रेजी शिक्षक हुन् ।)

Comments: